काठमाडौं : नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रतिनिधि सभा विघटनमा प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिस खुरु खुरु मान्ने राष्ट्रपति विद्यादेवी भण्डारीले ट्युसन लिनुपर्ने सुझाव दिएका छन्। प्रतिनिधि सभा विघटनविरुद्ध आज काठमाडौं क्षेत्र नम्बर २ ले आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै प्रवक्ता शर्माले संसद विघटनको मुख्य दोषी ओली, दोस्रो दोषी पुष्पकमल दाहाल, तेस्रो दोषी माधव नेपाल र चौथो दोषी राष्ट्रपति भण्डारी भएको उल्लेख गर्दै यस्तो बताएका हुन्।
'पहिलो दोषी केपी ओली, दोस्रो दोषी कमरेड प्रचण्ड, तेस्रोमा माधव नेपाल, चौथोमा बरीयतामा राख्दा गलत होला। तर सही सम्मानीय राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा बसेर। यो देशको राष्ट्रपति कस्तो बन्नुपर्छ? मिडियामार्फत म सम्मानीय राष्ट्रपतिलाई धेरै आलोचना नगरीकन तपाईले त्यो गर्नुपर्थ्यो। यो गर्नुपर्थ्यो धेरै व्याख्या गर्न चाहन्न। यत आग्रह गर्न चाहन्छु,' प्रवक्ता शर्माले भने, 'यो देशको राष्ट्रपति उहाँ दोस्रो नम्बरमा बन्नुभएको हो। पहिलो नम्बरमा डा रामवरण यादव राष्ट्रपति बन्नुभएको हो। यही ललितपुरको बागडोलमा बस्नुहुन्छ। सम्मानीय राष्ट्रपति विद्यादेवी भण्डारीले यो देशको संवैधानिक राष्ट्रपति भएर कस्तो काम गर्नुपर्छ भन्ने कुरा ज्ञान लिनका लागि डा रामवरण यादवसँग ट्युसन पढ्ने काम गर्नुहोला।'
त्यसैगरी प्रवक्ता शर्माले काँग्रेसको दिन गयो भन्नेहरु काँग्रेस खोज्दै सानेपा आउन बाध्य भएको दाबी गरे। 'पुस ५ गते संसद विघटन गर्यो। काँग्रेसको दिन गयो भन्नेहरु लाइट बालेर खोज्नुपर्छ भन्नेहरु पुस ६ गते काँग्रेस कार्यालयमा आए। त्यो बैठकमा सर्वदलीय बैठक निर्णय गर्यो। ७ गते केन्द्रीय सदस्य बस्यो। देउवाको निर्देशनमा आज प्रदर्शन छ,' शर्माले भने। शर्माले काँग्रेस देशकै जेठो दल भएको र अब त्यो भूमिकामा देखिने पनि उल्लेख गरे। भने, 'जेठो दल भएकोले जिम्मेवारीमा पनि जेठो हुनुपर्छ। संकटमा पनि काँग्रेस छ। त्यसैले बाटो प्राप्त गर्छ।'
नेकपाका नेता माधव नेपालले देश डुब्न लाग्यो, कोही बचाइदेउ भन्ने तर एक वर्षसम्म केही नगरेको परिणाम अहिले आएको शर्माको भनाई थियो।
'के तपाईले डेढ वर्षअघि भन्नुभएको होइन देश डुब्न लाग्यो, कोही बचाइदेउ भनेर। डेढ वर्षअघि दिन गन्दै गन्दै डुबिसक्यो। त्यसपछि हामी यहाँ छौं भनेर रत्नपार्क बस्ने?' शर्माले प्रश्नसमेत गरे।
