जनकपुरधाम : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा नेपाली कांग्रेसले धनुषाका चारवटै निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेको छ। नेपाली कांग्रेसको पूर्व निर्धारित देशव्यापी विरोध कार्यक्रम अनुसार धनुषाको ४ वटै निर्वाचन क्षेत्रमा प्रधानमन्त्री ओलीको विरोधमा प्रदर्शन गरिएको हो।
धनुषा क्षेत्र नम्बर १ धनुषाधाममा कांग्रेसका केन्द्रीय नेता तथा पूर्व मन्त्री समेत रहेका आनन्द ढुंगाना, क्षेत्र नम्बर २ को यदुकुहामा केन्द्रीय नेता तथा पूर्व मन्त्री रामकृष्ण यादव, धनुषाको क्षेत्र नम्बर ३ को नगराईनमा प्रदेश नम्बर २ का संसदीय दलका नेता रामसरोज यादव र क्षेत्र नम्बर ४ को महेन्द्रनगरमा केन्द्रीय नेता तथा पूर्व मन्त्री महेन्द्र यादवको नेतृत्वमा विरोध प्रदर्शन गरिएको छ।
धनुषा क्षेत्र नम्बर १ धनुषाधाममा आनन्द ढुंगानाले संघीयता समाप्त गर्नकै लागि संसद विघटन गरेको आरोप लगाए।
धनुषा क्षेत्र नम्बर २ यदुकोहामा कोणसभामा नेता रामकृष्ण यादवले संविधानको रक्षा गर्नुको साटो उल्टै संसद विघटन गरेर कम्युनिस्टको सरकारले संविधान विरोधी क्रियाकलाप गरेको आरोप लगाए।
उनले भने, ‘संविधानमा जुन कमी कमजोरी थियो त्यसलाई सच्याउने समय थियो तर ओली नेतृत्वको सरकारले संसद विघटन गरेर संविधानको लागि बलिदानी दिएका शहीदहरुको सपनालाई तोडेका छन्।’
त्यस्तै, क्षेत्र नम्बर ३ मा कोणसभामा बोल्दै प्रदेश २ का संसदीय दलका नेता रामसरोज यादवले यो सरकार जति भ्रष्ट संसारकै कुनै सरकार नरहेको आरोप लगाए।
उनले भने, ‘यो भन्दा निकृष्ट कुनै सरकार हुन सक्दैन। यो सरकार गणतन्त्र विरोधी, जनविरोधी, लोकतन्त्र विरोधी सरकार, सर्वसत्तावादी सरकार हो।’
संविधानको रक्षक नै भक्षक भएपछि संविधानलाई बचाउन असम्भव रहेको भन्दै उनले भने, ‘राष्ट्रपतिसँग विभिन्न सल्लाहकारहरु छन्। कम्तीमा कानुनी सल्लाहकारहरुसँग सल्लाह लिनु पर्ने थियो तर सिफारिस जाने बित्तिक्कै सदर गर्नुभो।’
यादवले कांग्रेस आन्दोलन र चुनावको तयारी सँगैसँगै गर्ने बताए।
कांग्रेसका नेताहरुले विभिन्न ठाउँमा आयोजना गरेका कोणसभामा प्रधानमन्त्री ओली सरकारको असंवैधानिक अलोकतान्त्रिक ढंगले संसद विघटन गरेको भन्दै प्रदर्शनसहित नारावाजी समेत गरेका छन्।