PahiloPost

Jul 3, 2024 | २० असार २०८१

न्यु नर्मलमा धमाधम खेल तालिका निकाल्दै एन्फा, खेल क्षेत्र चलायमान हुने अपेक्षा



न्यु नर्मलमा धमाधम खेल तालिका निकाल्दै एन्फा, खेल क्षेत्र चलायमान हुने अपेक्षा

काठमाडौं : महामारीमा लामो समय थलिएको खेलकुद क्षेत्र ब्युँतन थालेको धेरै भएको छैन। सीमित प्रतियोगिता र अभ्यासहरु अहिले सञ्चालनमा आएका छन्। प्रतियोगिताकै हिसाबले भन्ने हो भने महामारीकै क्रममा अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि नेपाली फुटबल टोली बंगलादेश गएको थियो। त्यसयता नेपाली फुटबल टोली अभ्यासमा जुटेको छ।

पछिल्लो समय नेपालगञ्ज म्याराथन र हाल क्रिकेटमा प्रधानमन्त्री कप महिला क्रिकेटलाई छाड्ने हो भने छिट्पुट प्रतियोगिताहरुमा मात्र सञ्चालनमा छन्। कोरोना गएको छैन, त्यसैले खेलकुदमा पनि अन्योलता हटेको छैन तर खेलकुद चलयमान हुनसक्ने आशा भने देखिन थालेको छ।

विश्वभर कोरोनाको न्यु नर्मलसँगै खेलकुद सञ्चालन हुन थाल्दा अखिल नेपाल फुटबल संघ(एन्फा)ले महामारी अघि रोकिएका प्रतियोगिताहरुका लागि भटाभट तालिकाहरु सार्वजनिक गरिरहेको छ। लकडाउनका कारण रोकिएका शहीद स्मारक बी डिभिजन लिग, सी डिभिजन लिग र प्रदेश लिगका लागि एन्फाले मिति तोकेर तयारी अघि बढाइसकेको छ।

एन्फाले शहीद स्मारक सी डिभिजन लिग चैत १ गतेबाट सुरु गर्ने गरी तयारी अघि बढाएको छ भने बी डिभिजन लिग फागुन ११ बाट सुरु गर्ने तयारी गरेको छ। त्यस्तै माघबाट प्रदेश लिग गराउने तयारी एन्फाको रहेको छ। त्यस्तै माघ ७ गतेबाट महिला लिग गराउने तयारीमा एन्फा रहेको एन्फाका महसचिव इन्द्रमान तुलाधरले जानकारी दिए।

'हामीले रोकिएका लिग सञ्चालनका लागि सम्बन्धित पक्षहरुसँगको छलफल पछि नै मिति तोकेका हौं। हाम्रो तर्फबाट तयारी पुरा गरिसकेका छौं,' महासचिव तुलाधरले भने, 'एन्फामा हामीले स्वीकृतीका लागि पत्र पठाएका थियौं आज भोलिमै त्यो स्वीकृति पनि हुन्छ हो।'

यसअघि मंसिर २५ गते बसेको एन्फा केन्द्रीय कार्यसमिति बैठकले स्थगित प्रतियोगितालाई सञ्चालनका लागि राखेपसमक्ष प्रस्ताव गर्ने निर्णय गरेको थियो। सोही अनुरुप स्वास्थ्य प्रोटोकल र खेलको तालिकासहितको प्रस्ताव राखेपमा पेश गरेको थियो।

भटाभट खेल तालिका निकालिरहेको एन्फाले आफ्नो तर्फबाट तयारी पुगेको दाबी गरिरहँदा चुनौति भने त्यतिकै छन्। खासगरी स्वास्थ्य चुनौति। यद्यपि एन्फाले सम्बन्धित निकायसँग परामर्श गरेर स्वास्थ्य सुरक्षालाई पनि मापदण्ड बनाएर तयारी अघि बढाएको बताएको छ। यसले फुटबल क्षेत्र चलयमान हुने आश त देखिएको छ साथसाथै चुनौति पनि त्यतिकै थपिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell