जनकपुरधाम : प्रतिनिधिसभा विघटनको विरोधमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पूर्व निर्धारित कार्यक्रम अनुसार नेकपा धनुषाले जनकपुरधाममा प्रदर्शन गरेको छ। प्रचण्ड-नेपाल समूहले देशभर विरोध प्रदर्शन गर्ने कार्यक्रमअन्तर्गत जनकपुरधाममा धनुषाको गाउँगाउँबाट र्यालीसहित आएका प्रदर्शनकारीहरुले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवि भण्डारीविरुद्ध नारा लगाएका थिए।
गाउँबाट आएको र्यालीले जनकपुरको रेल्वे स्टेशनमा जम्मा भई नगरको परिक्रमा गरेको थिए। प्रदर्शनमा केन्द्रीय नेतासहित प्रदेश र जिल्ला इन्चार्जसहितका नगर कमिटीका नेताको सहभागिता थियो। विरोधसभामा शीर्ष नेताहरु स्थायी कमिटी सदस्य गणेश साह, पूर्व मन्त्री रामचन्द्र झा, पूर्व मन्त्री यदुवंश झा, श्रीप्रसाद साह, श्रवण वरवरिया यादव लगायतले विभिन्न चोकमा भएका सभामा सम्बोधन गरेका थिए।
विरोध प्रदर्शनमा सहभागीले ‘प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारी मुर्दावाद’, ‘संसद् विघटन गर्न पाइँदैन’, ‘संघीय लोकतन्त्र विरोधी प्रधानमन्त्री मुर्दावाद’, ‘इनकिलाफ जिन्दावाद’ लगायतका नारा लगाएका थिए।
विरोध सभालाई सम्बोधन गर्दै नेताहरुले प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेर संविधानको उपहास गरेको आरोप लगाए। नेकपाका धनुषा जिल्ला ईन्चार्ज श्रवण यादव बरबरिया (जीवन) को नेतृत्वमा निस्केको जुलुस मिल्सएरिया, भानुचोक, कदमचोक, मूरली चोक, रामचोक, शिवचोक, जनकचोक, हुँदै पुन रेल्वे स्टेशनमा कोणसभामा परिणत भएको थियो।
प्रतिनिधिसभा विघटनविरुद्ध प्रचण्ड-नेपाल पक्षले गरेको विराध प्रदर्शनमा श्रवण बरबरिया यादवले ओली तानाशाही, स्वेच्छाचारी र निरंकुश भएको आरोप लगाए। उनले प्रम ओलीले चालेको असंवैधानिक कदमले नेकपालाई मात्रै नभई सम्पूर्ण लोकतान्त्रिक पार्टी, बौद्धिक वर्ग, श्रमजीवी, किसान लगायतलाई नोक्सानी भएको आरोप लगाए।
प्रम ओलीले संविधानलाई नै संकटमा पारेको आरोप
विरोध प्रदर्शनको क्रममा जनकपुरको विद्यापति चोकमा आयोजित सभालाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल पक्षका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री यदुवंश झाले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकता विरोधी र संविधान विरोधी हरकत गरेका कारण देशमा अन्योलको अवस्था सिर्जना भएको आरोप लगाए।
उनले प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्री ओलीले संविधानलाई नै संकटमा पारेको आरोप लगाए। ओलीले प्रतिनिधिसभा विघटन गरी देशमा अस्थिरता निम्त्याएको, पार्टी एकता विरोधी हरकत गरेको भन्दै उनले त्यस्ता कदमको विरुद्ध सडकमा उत्रिनुको विकल्प नरहेको बताए।
‘धनुषामा ओली र विद्यालाई निषेध गर्नुपर्छ’
यस्तै जनकपुरको जनकचोकमा आयोजित सभालाई सम्बोधन गर्दै नेकपाको प्रचण्ड-नेपाल समूहका स्थायी समिति सदस्य गणेश साहले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली मिलेर गलत काम गरेको आरोप लगाएका छन्। नेता साहले श्रमजीवी वर्गले यस कदम नसच्चिएसम्म निरन्तर आन्दोलन गर्नुपर्ने बताए।
उनले राजा महेन्द्रले ‘कू’ गर्दा जनकपुरवासीले बम पड्काएर जवाफ दिएको स्मरण गर्दै राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीलाई पनि जवाफ दिनुपर्ने चेतावनी दिए।
उनले भने, ‘शाही कू गर्ने राजा महेन्द्र जनकपुर आउँदा यहाँका जनताले बम पड्काएर जवाफ दिए। अब भण्डारी र ओली आउँदा पनि कडा रुपमा विरोध प्रदर्शन गर्नुपर्छ। धनुषामा उनीहरुलाई निषेध गर्नुपर्छ।’
उनले प्रधानमन्त्री ओली देशकै सबै भन्दा झुठो बोल्ने नेता र भ्रष्टाचारी नेता रहेको आरोप समेत लगाए। उनले यस्ता भ्रष्टाचारीको जवाफ आम जन्ताले लिने भन्दै यो आन्दोलन असंवैधानिक कदम चल्ने, भ्रष्टाचारी लगायतको विरोधमा रहेको बताए।
यस्तै, जनकपुरमै राम चोकमा आयोजित सभालाई सम्बोधन गर्दै केन्द्रीय सदस्य श्रीप्रसाद साहले प्रतिनिधिसभा पुनर्स्थापना नभएसम्म आन्दोलन जारी रहने बताए। उनले प्रम ओलीले चालेको असंवैधानिक कदम नसच्याएसम्म आन्दोलन जारी रहने र त्यसका लागि तयार रहन कार्यकर्तालाई आह्वानसमेत गरे।
‘संविधानको रक्षा गर्नेले नै संविधानको खिल्ली उडाए’
यस्तै, रेल्वे स्टेशनमा भएको कोण सभालाई सम्बोधन गर्दै केन्द्रीय सदस्य एवं पूर्व मन्त्री रामचन्द्र झाले संविधानको रक्षा गर्नेले नै संविधानको खिल्ली उडाएको आरोप लगाए।
झाले प्रधानमन्त्री आलीले देशमा विभिन्न संघर्षपछि कम्युनिस्टले ल्याएको लोकतन्त्रलाई नै समाप्त पार्ने षड्यन्त्रमा लागेको आरोप समेत लगाए। उनले प्रम ओलीले चालेको असंवैधानिक कदम नसच्याएसम्म आफूहरु निरन्तर प्रदर्शनमा रहने बताए।
झाले भने, ‘आज त सुरुवात हो, आउने दिनमा हुने निर्णायक आन्दोलनको लागि सम्पूर्ण आम जनता तयार रहनुहोस। केही व्यक्तिहरु स्वार्थका निमित्त ओली पक्षमा गएर केन्द्रीय सदस्य त कोही मन्त्री बन्दै छन्, त्यसता केन्द्रीय सदस्य र मन्त्रीहरु केन्द्रमै बस्दा हुन्छ। यदि त्यस्ता मन्त्री र केन्द्रीय सदस्यहरु धनुषा छिरे भने उनीहरुको खुट्टा सिधा गरिदिने छौँ।’