PahiloPost

Jul 6, 2024 | २३ असार २०८१

राष्ट्रपतिलाई भीम रावलको चुनौती : गुटको राजनीति गर्ने भए शीतल निवासबाट सडकमा आउनुस्



राष्ट्रपतिलाई भीम रावलको चुनौती : गुटको राजनीति गर्ने भए शीतल निवासबाट सडकमा आउनुस्

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका स्थायी कमिटी सदस्य भीम रावलले राजनीति गर्ने भए सडकमा आउन राष्ट्रपति विद्यादेवी भण्डारीलाई चुनौती दिएका छन्।

धनगढीमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै रावलले प्रतिनिधसभाको बैठक बोलाउन आफूहरुले राष्ट्रपतिसमक्ष ८३ सांसदको हस्ताक्षरसहित निवेदन दिन गएको तर उक्त निवेदन दर्ता नगरिएको बताए।

‘राष्ट्रपति सबैको राष्ट्रपति हो। राष्ट्रपतिले संविधानको संरक्षण गर्नुपर्छ। त्यसैले निवेदन दर्ता गर्नुस् भन्यौं। दर्ता गरिएन। सहमतिका नाममा हामीलाई फिर्ता बोलाइयो। तर संसदै विघटन गरियो।’

रावलले राष्ट्रपतिको कार्यशैलीमाथि प्रश्न गर्दै भने, ‘राष्ट्रपति कुनै व्यक्तिको, गुटको, उपगुटको होइन। उहाँले यदि कुनै गुटको संरक्षण गर्न चाहनुहुन्छ? यदि उहाँ संविधानको मर्यादालाई नाघेर राजनीति गर्न चाहनुहुन्छ भने म भन्न चाहन्छु, हजुर शीतल निवासमा नबस्नुस्। यहाँलाई गुटको राजनीति गर्न मन लागेको छ भने धनगढीको सडकमा आउनुस्। होइन सुदूरपश्चिम जान्न भन्ने इच्छा लाग्छ भने झापाको गल्लीमा जानुस् कि भोजपुरमा जानुस्। होइन भने संविधानको मर्म र मर्यादालाई कुल्चिने अधिकार राष्ट्रपतिलाई छैन। राष्ट्रपति आफ्नो थान्को र मर्यादामा बस्नुपर्छ।’

विरोधसभालाई सम्बोधन गर्दै रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले जनतामाथि विश्वासघात गरेको आरोप समेत लगाएका छन्। नेपाली जनताको सपनामाथि स्वाभिमान र समृद्धिमाथि ओलीले बज्रपात गरेको उनले बताए।

‘नेपालको जनताको अधिकार कुल्चने अधिकार छैन कसैलाई पनि छैन। नेपालको संविधानमाथि बुट बजार्ने अधिकार कसैलाई छैन। ओलीले नेपाली जनताको रगत पसिनामाथि खेलबाड गरे। जनविरोधी विश्वासघाती कुकृर्त्यको विरुद्धमा बोल्न बाध्य छु’ रावलले भने।

रावलले ओली निरंकुश बन्दै भएको टिप्पणी गर्दै भने, ‘निरंकुश राजा फालियो। पञ्चायत फालियो। मलाई आश्चर्य लाग्छ झापाबाट निर्वाचित केपी शर्मा ओलीले मेरो निरंकुशतन्त्र चल्ला भनेर कसरी परिकल्पना गर्नुभएको होला? कुनै पनि निरंकुशतन्त्र र स्वेच्छाचारीका लागि जनताले रगत बगाएको होइन। संघीय गणतन्त्र ल्याएको होइन।’

ओलीले जनमतको खिल्ली उडाएका भन्दै उनले सरकारले जनतामाथि अर्बौ ऋण थोपर्ने काम गरेको दाबी गरे।

राष्ट्रघाती र जनघाती काम गर्न ओलीले संसद् विघटन गरेको रावलको आरोप थियो। उनले देशमा काण्ड र पदउन्मुक्त व्यक्ति कोही छ भने त्यो केपी ओली मात्रै भएको समेत बताए।

प्रधानमन्त्रीले पार्टीलाई कुनै सुइँको समेत नदिएर वैशाखमा राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएको र फेरि संवैधानिक परिषद्सम्बन्धी कानुन परिवर्तनका लागि ल्यागेर ओलीले गुटको राजनीति गरेको रावलले बताए।

‘ती अध्यादेश मान्छेलाई मनपरी तरिकाले नियुक्तिका लागि ल्याइएको थियो। किनभने ओली पदउन्मुख छन्।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell