'फेमिना भने फरार छिन्। उनी कहाँ छिन् दुबै परिवारलाई केही थाहा छैन। सायद् फेसबुकबाटै अर्को मूर्गा फसाउने योजनाको तानाबुना बुन्दैछिन्....!!'
२०७३ कातिक ११ गते पहिलोपोस्टमा 'फेसबुककी फेमिना : सुन्दर अनुहारको आवरणमा फिल्मी शैलीको अपराध' शीर्षकमा एउटा समचार प्रकाशित भयो। माथिको अंश त्यही समचारको अन्तिम हरफ थियो।
यो अन्तिम हरफ अहिले प्रमाणित भएको छ। त्यसरी फरार भएकी फेमिना अर्थात विद्या 'सरकार' शर्मा पक्राउ परेकी छिन् - फेरि अर्को अपराधमा।
उमेर २४ वर्ष। तर अपराध गतिविधिमा लागेको भने पोख्त भइसकेकी। २० वर्ष नटेक्दै उनले धेरैलाई 'बेकुफ' बनाएर ठगी गरिसकेकी थिइन्।
कसैलाई बिहे गरेर त कसैलाई विदेश लैजाने भन्दै ठगेर हिँड्ने गरेकी छिन्। कलिलो उमेरदेखि नै अपराधिक गतिविधिमा संलग्न यी युवती अहिले प्रहरीको फन्दामा परेकी हुन्। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले उनलाई नियन्त्रणमा लिएको हो। पुस ६ गते एक महिलामाथि अभद्र व्यवहार गरेको आरोपमा उजुरी दिएपछि प्रहरीले उनलाई पक्रेको थियो।
अभद्र व्यवहारमा पक्रे पनि अहिले उनीमाथि अन्य ठगीका उजुरी आउने क्रम बढेको छ। विदेश पठाइदिने भन्दै ठगीको उजुरी धेरै आएका छन्।
'हामीले अभद्र व्यवहार गरेको अभियोगमा नियन्त्रणा लिएका हौं। तर अहिले विदेश पठाइदिने भन्दै लाखौं रकम ठगेको उजुरी लिएर पीडितहरु आउनु भएको छ,' परिसरका डिएसपी नरेन्द्र चन्दले भने।
उनले चार वर्षअघि दुई युवकसँग बिहे गरेर मोटो रकम ठगी गरेकी थिइन्। महानगरीय अपराध अनुसन्धान महाशाखामा पीडित परिवारले उजुरीसमेत दिएका थिए। उनले सबै प्रक्रिया मिलाएर बिहे गरेको भएकाले प्रहरीले त्यतिखेर तत्काल नियन्त्रणमा लिन सकेको थिएन।
त्यसपछि पनि उनको अपराध यात्रा रोकिएन। देशका विभिन्न जिल्ला पुगेर उनले ठगी गरेको प्रहरी अनुसन्धानमा खुलेको छ। दैलेखमा अहिले ३ वटा ठगीबिरुद्ध उजुरी परेका छन्। विभिन्न संस्थाको नाममा पीडितलाई सामाग्री दिने भन्दै उधारोमा सामान किनेर रकम नदिएको आरोपमा उजुरी परेका छन्।
'जिल्ला प्रहरी कार्यालय दैलेखमा उजुरी दर्ता भएको जानकारी आएको छ। अन्यतिर पनि ठगी भएको भए जानकारी आउँला।' डिएसपी चन्दले भने।
विदेश पठाइदिने भन्दै उनले दुई युवकसँग कन्ट्र्याक गरेर पैसा असुलेको प्रहरी अनुसन्धानमा खुलेको छ। एक जनासँग १० लाख र अर्को युवकसँग २५ लाख रुपैयाँसम्म कन्ट्र्याक भएको देखिएको छ। फेसबुकमा फेमिना चापागाई नामको आइडी बनाएर पनि उनले ठगी गर्ने गरेकी थिइन्।
उनले आफूलाई 'हाइ क्लास' मानिस भएको प्रमाणित गर्न रातो पासपोर्टदेखि विभिन्न भिआइपी व्यक्तिसँग बसेको फोटोसमेत हाल्ने गरेकी छिन्। पूर्वराजा ज्ञानेन्द्र शाह, कलाकार राजेश हमाल, राप्रपा अध्यक्ष कमल थापादेखि विभिन्न व्यक्तिसँग खिचिएको तस्बिर उनको फेसबुकमा भेटिन्छ।