PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

प्रधानमन्त्रीको बचाउमा मुख्यमन्त्री गुरुङ, भन्छन्- प्रतिनिधिसभा विघटन र 'रअ' प्रमुखसँगको भेट ठिक



स्वेच्छा राउत

प्रधानमन्त्रीको बचाउमा मुख्यमन्त्री गुरुङ, भन्छन्- प्रतिनिधिसभा विघटन र 'रअ' प्रमुखसँगको भेट ठिक

पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटनको कदमको बचाउ गरेका छन्।

पोखरामा आयोजित नेपाल साहित्य महोत्सवको सत्र ‘प्रदेशबाट देखिने देश’मा उनले नेपाली राजनीतिमा यसअघि पनि बहुमतको सरकारले संसद विघटन गरेको र त्यसो गर्नु असंवैधानिक नभएको दाबी गरे।

उनले प्रधानमन्त्रीको निर्णय ठीक भन्ने कुरा स्थापित २०५१ सालमा प्रधामन्त्री गिरिजाप्रसाद कोइरालाले संसद् विघटन र मध्यावधि चुनाव घोषणा गरेको उदाहरण दिए। भने, ‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने र चुनावमा जाने अधिकार हुन्छ। यो नै सत्य हो।’

पार्टीमा आन्तरिक सहयोग नभएपछि निर्णयको जिम्मा जनतालाई दिनु विल्कुल संवैधानिक भएको उनको दाबी थियो।

'प्रधानमन्त्रीले केही पनि अनैतिक काम गर्नुभएको छैन। पार्टीभित्रका केही अराजक मानिसले काम गर्न दिएनन्', प्रचण्डतर्फत संकेत गर्दै मुख्यमन्त्री गुरुङले भने, 'अर्का अध्यक्षले आफ्नो काममा भन्दा बढी प्रधानमन्त्रीको काममा हस्तक्षेप गर्नुभयो।'

ती अराजकहरूलाई कारवाही गर्ने र को ठीक, को बेठीक भन्ने खुट्याउने जिम्मा आम जनतालाई दिएको उनको दावी थियो। 'लोकतन्त्रमा सबैभन्दा ठूलो शक्ति जनता हुन्। संसद् विघटन भइसकेपछि अदालतको निर्णय कुर्नुको विकल्प छैन। त्यसपछिका जनताले गरेको निर्णय स्वीकार्नु नै लोकतान्त्रिक अभ्यास हो,' उनले भने।  

उनले तोकिएको समयमा नै चुनाव हुने दाबी गरे। सरकारले वैशाख १७ र २७ गते मध्यावधिक निर्वाचनको मिति घोषणा गरेको छ। उनले बुहमतको सरकारविरुद्ध प्रतिपक्षले अवरोध नगरे पनि पार्टी भित्रकै नेताको भूमिका रहेको बताए।

उनले आफूलाई भर्खरै संघीयता आएको महसुस भएको बताए। ‘जसरी पनि संविधान जारी गर्नुपर्छ’ भन्ने परिस्थितिमा संविधान ल्याएपछि सल्लाह बिना संघीयता पनि ल्याइएको उनको भनाइ छ। ‘हामीले कमजोर किसिमको संघीयता ल्यायौं। जसप्रति मेरो सधैं गुनासो किनकि राजस्व, अनुदानदेखि सबै किसिमका अधिकार केन्द्रमा सीमित भयो।’ 

संघीयतामा साझा अधिकार कम र एकल अधिकार सुदृढ हुनुपर्नेमा साझा अधिकार धेरै भएको र साझा अधिकार कार्यान्वयनको नीति बनाउँदा केन्द्रले प्रदेशलाई समन्वय नगरेको उनले बताए।

त्यस्तै स्थानीय सरकारले नसक्ने जिम्मेवारीहरू समेत दिइएको भन्दै सुधार गर्नुपर्ने उनको भनाइ थियो। त्यस्तै मुख्यमन्त्री गुरुङले जिल्ला समन्वय समिति आवश्यक नभएको बताए।

आफूले भने हालसम्म कुनै पनि व्यक्ति वा संस्थाका लागि स्वार्थ केन्द्रित काम नगरेको उनको दाबी थियो।’म मुख्यमन्त्री हुनुमा मलाई कुनै पनि दुःख छैन। कसैले लोभी कुरा लिएर मेरो दैलोमा आयो भने मैले पूरा गर्दिनँ,' उनले भने।

आफ्नो प्रदेशको ५१ प्रतिशत जनताले आफ्नो काममाथि प्रश्न गरेको खण्डमा राजीनामा दिन तयार भएको समत बताए।

उनले हाल नेकपामा चर्कदो विवाद बारे भने,‘वैधानिक रूपमा पार्टी एक छ तर भावनात्मक रुपमा, क्रियाकलापलाई आधार मान्ने हो भने पार्टी फुटिसक्यो। मुलुक, देशका अन्य प्रदेश फुटेर क्षतविक्षत भएको अवस्थामा गण्डकी शान्त छ,’ उनले भने, ‘हामी मिल्न रुचाउँछौँ, विभाजनको आगो आएको हो, तर देवताले जोगाउँछ।’

कार्यक्रममा उनले प्रधानमन्त्रीले रअका प्रमुखलाई भेट्नु कुटनीतिक हिसाबले बेठीक नभएको बताए। ‘रअ एजेन्ट संस्था मात्र नभएर विश्वमा पोलिटिकल एक्टर परिवर्तन गर्ने भूमिका खेल्छ।‘



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell