PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

यस्तो लेखिएको थियो पुस १६ गते बिपी कोइरालाको सम्बोधन भएको पर्चामा



यस्तो लेखिएको थियो पुस १६ गते बिपी कोइरालाको सम्बोधन भएको पर्चामा

लामो प्रवासकालपछि हामी स्वदेश फर्कंदैछौँ। यस अवसरमा एक दुई शब्द देशवासीहरूको नाममा सम्बोधन गर्नु उचित ठान्छु। हाम्रो देश आज राष्ट्रिय सङ्कटमा छ। यता केही वर्षदेखि यो सङ्कट चर्किंदै गएको कुरा सबैले महसुस गरेकै हो।

यसले गर्दा राष्ट्रिय अस्तित्व नै समाप्त हुने स्थिति आएको छ। यस तथ्यलाई अरूले पनि स्वीकार गरेका छन्। महाराजाधिराजलगायत सबैले बखत बखतमा राष्ट्रिय अस्तित्वमाथि परेको खतराको चर्चा गरेका छन्। यो गम्भीर  वास्तविकतालाई  बुझेर हामी स्वदेश  फर्कंदैछौँ।

हाम्रो विचारमा अस्तित्वको सङ्कट आइपर्नुको कारण राष्ट्रिय एकताको अभाव हो, जसले गर्दा हाम्रो  देशमा विदेशी तत्व कुचक्र चलाउन  र नेपाललाई अन्तर्राष्ट्रिय षडयन्त्रको अखडा  बनाउन सफल हुन थालेका छन्। राष्ट्रिय एकता सम्पूर्ण नेपाली जनताको सामूहिक प्रयासबाट हुने अभियान  र कार्यले मात्र  स्थापित हुन्छ। यस्तो सामूहिक अभियानले नेपाली जनताको  भावनात्मक एकताको संस्थागत आधार  पनि तयार पार्छ।

कोरा नाराले मात्र हुने भए वितेका १३ वर्षमा राष्ट्रियएकता यसरी छिन्न भिन्न भएर  यस सोचनीय  स्थितिमा देशले पुग्नुपर्ने  थिएन। आज देशमा स्वार्थपरायणता, साम्प्रदायित्व, व्यक्तिवादी मनोवृत्ति र विदेशपट्टि आमुख हुने प्रवृत्तिको बोलाबाला छ। यस्तो परिस्थितिमा सबभन्दा पहिले हत्या राष्ट्रियताको हुन्छ । हिजोसम्म हाम्रो सङ्घर्ष  जनताको प्रजातान्त्रिक अधिकारको निम्ति मात्र थियो। त्यसो हुनाले हामीले प्रजातान्त्रिक पक्षमा मात्र बढी जोड दियौँ। आज यसमा एउटा नयाँ आयम थपिएको छ। नेपाली काँग्रेसलाई आज दोहोरो जिम्मेवारी आइपरेको छ। त्यो दोस्रो जिम्मेवारी हो देशको  अस्तित्वको रक्षा गर्ने।  हामीले वर्तमान नेपालको परिस्थितिको दुईमुखे रूप देखेका छौँ :

राष्ट्रियता र प्रजातन्त्र 

भन्नुको तात्पर्य के हो भने प्रजातन्त्र प्राप्ति र राष्ट्रको  रक्षा दुवै जिम्मेवारी नेपालीले लिनुपरेको छ। यदि हामीले एउटै जिम्मेवारीको मात्र कुरा गर्यौँ भने हामी एक पक्षीय भएर गलत बाटोतिर लागेको हुनेछौँ र यदि हामीले प्रजातन्त्र प्राप्तिमा मात्र जोड दियौँ भने राष्ट्रिय सङ्कटको निवारणमा हाम्रो योगदन रहँदैन। त्यति मात्र होइन, यस्तो एक एकपक्षीय कार्यले हामी विदेशीहरूको चालमा पर्ने खण्डमा हुन्छौँ।

त्यस्तै, यदि हामीले केवल राष्ट्रियताको मात्र चर्चा गर्यो भने १६ वर्षको खोक्रो राष्ट्रियताको नाराबाजीमा लाग्छौँ। र अधिनायकवादको पक्षधर हुन पुग्छौँ। यस्तो खोक्रो राष्ट्रियताले राष्ट्रिको रक्षा गर्ने मनोबल  देशवासीमा पैदा गर्न सक्दैन। त्यसो हुनाले हामीले यो कुरा पनि बुझनुपरेको छ कि राष्ट्रिय एकता प्रजातन्त्रको जगमा मात्र खडा हुन सक्छ र प्रजातन्त्रको जगमा देशको उत्तरोत्तर आर्थिक विकास  र न्यायपूर्ण आर्थिक व्यवस्थामा मात्र बलियो हुन सक्छ। तसर्थ  हाम्रो दृष्टिमा राष्ट्रियता, प्रजातन्त्र र विकास उन्नति एक अर्कामा आधारित तत्व हुन्। नेपाली काँग्रेसले आफ्नो जन्मकालदेखि नै बेलाबेलामा देश हितका लागि ऐतिहासिक र गम्भीर निर्णय लिएको सबैलाई  थाहा छ। २००७ सालमा क्रान्तिको निर्णय  र त्यसको कार्यान्वयन।

त्यसपछि आम चुनावलाई सदाका लागि स्थागित  गर्ने   बुझेर चुनाव गराउने राष्ट्रिय अभियानको नेतृत्व यसले लियो। त्यस आन्दोलनमा धेरै अन्य दलहरूको  सहयोग पनि हामीलाई प्राप्त भएको थियो। २०१७ सालमा प्रजातन्त्र उपरको निर्मम एवं साङ्घातिक प्रहारपछि नेपाली काँग्रेसले प्रजातन्त्रको पक्षमा सङ्घर्ष गर्यो। आज देशका उपरको खतरा बुझेर हामीले यो अर्को एतिहासिक निर्णय लिएका छाैं, जुन निर्णय नेपाली काँग्रेसको परम्पराको अनुरूप छ। प्रत्येक राष्ट्रिको इतिहासमा यस्तो घडी पनि आउँछ, जब यसका  बासिन्दाले आफ्नो ज्यानसमेत खतरामा हालेर यसको अस्तित्वको रक्षा  गर्नुपर्छ। हामीलाई लाग्छ, आज नेपालमा त्यो घडी आएको छ।

हाम्रा शुभचिन्तकहरूले हाम्रो नेपाल फर्किने इरादामा निहित खतरालाई ध्यानमा राखेर नफर्किने सल्लाह दिएकोमा उनीहरूलाई  हाम्रो यो भन्नु छ कि हामीमाथि यो सम्भावित खतरा राष्ट्रिको अस्तित्व खतराको सामु  नगण्य भन्ठानेर नै यो एतिहासक निर्णय हामीले  लिएका हौँ। नेपाली काँग्रेसका कार्यकर्ताहरूले  पनि पार्टी निर्देशनअनुसार देश फर्केर अपूर्व साहस र देशप्रेमको उदाहरण प्रस्तुत गरेका छन्।

यस राष्ट्रिय सङ्कटको घडीमा हामी सबैले बितेका अप्रिय विवाद र अनुभव र मतभिन्नतालाई बिर्सेर  र समाप्त गरेर एकताको सूत्रमा बाँधिनुपर्छ। राष्ट्र रहेन भने हामी रहन्नौँ  भन्ने भावनाले प्रेरित हाम्रो कार्यक्रम हुनुपर्छ। मलाई थाहा छैन  देशभित्र फर्केर गएपछि  म कुन परिस्थितिमा हुनेछु। यस वक्तव्यद्वारा म नेपाली काँग्रेसको अध्यक्षको हैसियताले  सारा देशवासीलाई अपिल गर्न चाहन्छु कि राष्ट्रको रक्षा देशको उन्नति, जनताको सुख र समृद्धिको पुनित कार्यमा हामी सबै एकमत भएर लागौँ। मैले अवसर पाएको खण्डमा महाराजधिराजका समक्ष पनि आफूलाई  लागेका कुरा राख्नेछु। राष्ट्रलाई बचाउने जिम्मेवारी सबैको साझा जिम्मेवारी हो।

जय नेपाल

(स्वदेश फर्कने अवसरमा नेपाली काँग्रेसका तत्कालीन अध्यक्ष विश्वेश्वर प्रसाद कोइराला (बीपी) ले देशवासीका नाममा ३० डिसेम्बर १९७६ का दिन जारी गरेको अपिल।)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell