PahiloPost

Nov 1, 2024 | १६ कात्तिक २०८१

प्रचण्ड माधव पक्षको उक्साहटमा अदालतमा विचाराधीन मुद्दामा नबोल्न देउवाको निर्देशन, 'हामी स्वतन्त्र न्यायापालिकामा विश्वास गर्छौं'



प्रचण्ड माधव पक्षको उक्साहटमा अदालतमा विचाराधीन मुद्दामा नबोल्न देउवाको निर्देशन, 'हामी स्वतन्त्र न्यायापालिकामा विश्वास गर्छौं'

काठमाडौं : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कसैको उक्साहटमा सर्वोच्च अदालतमा विचाराधीन विषयमा बोल्न नहुने बताएका छन्। आज काँग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागले राष्ट्रिय मेलमिलाप दिवसको अवसर पारी आयोजना गरेको भर्चुअल डिस्कसनमा देउवाले उक्त भनाई राखेका हुन्।

पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेसँगै नेकपाको पुष्पकमल दाहाल प्रचण्ड माधव नेपाल पक्ष सडक संघर्षमा उत्रेको छ। प्रचण्ड माधव पक्षले प्रतिनिधिसभा पुनर्स्थापनाका लागि सर्वोच्च अदालतलाई दबाव दिने खालका आन्दोलन गरिरहेका छन्। यस आन्दोलनमा प्रचण्ड माधव पक्षले प्रमुख प्रतिपक्षी दल काँग्रेसको साथ खोजिरहेको छ।

यस्तो बेला देउवाले कसैको उक्साहटमा स्वतन्त्र न्यायापालिकामाथि विचाराधीन मुद्दामा नबोल्ने बताएका हुन्। ओलीको कदम असंवैधानिक भएको उल्लेख गर्दै यस कदमको विरोधमा भने आन्दोलन जारी रहने देउवाको भनाई थियो।

'अहिले ओलीजीले अचानक चुनावको घोषणा गरेर असंवैधानिक कदम चाल्नुभएको छ। यसमा हाम्रो विरोध रहन्छ। देशभरी नै यसको विरोधमा आवाज उठाइरहेका छौ,' सभापति देउवाले भने, 'हामीले लोकतन्त्रमा विश्वास गर्ने पार्टी भएकाले स्वतन्त्र न्यायापालिकामा विश्वास गर्छौं। त्यसैले अदालतमा विचारधीन मुद्दामा यसो गर उसो गर भनेर आन्दोलनको नाममा धम्क्याएर अरुको उक्साहटमा लाग्यौ भने भोलि कसैको खिलाफमा निर्णय हुनु गयो भने यो गलत हुन सक्छ भनेर हामीले सोचेका छौ। यो अलोकतान्त्रिक कदम हो। यो विचाराधीन विषयमा प्रभावित हुने किसिमले हामी बोल्दैन। अदालतको निर्णयलाई पनि हामीले पर्खनुपर्छ भन्ने हो।'

हरेक पार्टीको आफ्नै विचार हुने उल्लेख गर्दै उनले काँग्रेस मानवअधिकारको रक्षामा उभिने र हिंसामुक्त देश बनाउने अभियानमा रहेको बताए। 'हरेक पार्टीको बेग्लाबेग्लै विचार हुन्छ। हामी हिंसामुक्ता देश बनाउने अभियानमा मानवअधिकारसहितको व्यवस्था हामीले ल्याएका हौ। यसलाई स्थापित गर्नेमा हाम्रो प्रयत्न हुन्छ,' उनले भने।

मेलमिलाप दिवस अत्यन्तै महत्वपूर्ण दिन भएको उल्लेख गर्दै उनले बिपी कोइरालाको कदमको प्रशंसासेत गरे। 'आजको दिन महत्वपूर्ण दिन हो। बिपी कोइराला राष्ट्रिय मेलमिलापको नीति लिएर राष्ट्रिय संकटमा आउनुभयो। सिक्किम भारतमा विलय भएपछि डराएर उहाँ नेपाल फर्कनुभयो। मेलमिलापको नीतिकै आधारमा राजा वीरेन्द्रको सहयोगमा बहुदलीय प्रजातन्त्र स्थापना भयो,' देउवाले भने।

त्यसपछि गिरिजाप्रसाद कोइरालाले अर्को मेलमिलाप नीति पालना गरी देशमा संघीय लोकतान्त्रिक संविधान आएको उनले बताए। 'फेरि राजा ज्ञानेन्द्रले त्यो संविधान च्याते। फेरि ठुलो आन्दोलन भयो। गिरिजाप्रसाद कोइरालाले हतियार उठाएको माओवादीलाई मिलाएर अर्को मेलमिलापको नीति आँगल्नुभयो। कति दुख पाउने भनेर सबैका लागि मेलमिलाप होस भनेर संविधानसभामार्फत लोकतान्त्रिक संविधान आयो। सबैलाई मेलमिलाप गर्नुभयो।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell