PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

प्रचण्ड-नेपाल समूहको प्रादेशिक भेलामा ओलीमाथि खनिए पोखरेल र यादव



सुमित मिश्र

प्रचण्ड-नेपाल समूहको प्रादेशिक भेलामा ओलीमाथि खनिए पोखरेल र यादव

जनकपुरधाम : प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रमको खेती मात्र गरिरहेको पूर्व मन्त्री गिरिराजमणि पोखरेलले आरोप लगाएका छन्। पोखरेलले प्रधानमन्त्री ओलीले भ्रम छर्ने काम बाहेक अन्य केही नगरेकोले यसलाई चिर्नुपर्ने आवश्यकता रहेको बताए।

पूर्व मन्त्री पोखरेलले भने, ‘ओलीले भ्रम छरेर पार्टी भित्रका विवाद देखाएर अराजक गतिविधिहरु गरी रहेका छन्।’

विहीवार जनकपुरधाममा पुष्पकमल दाहाल ‘प्रचण्ड’-माधव नेपाल पक्षको प्रदेश स्तरीय भेलालाई सम्बोधन गर्दै पोखरेलले प्रतिनिधिसभा विघटन गर्नुअघि अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता वामदेव गौतमलाई बालुवाटार बोलाएर ओलीले घोर अपमान गरेको खुलासा समेत गरे। उनले प्रधानमन्त्री ओली अध्यक्ष माधव नेपालका बारेमा समेत अनेकन भ्रमहरु फैलाइरहेकाले त्यसलाई चिर्न अवश्यक रहेको बताए।

‘ओलीले जाली फटाहा र झुठको खेती गरेर असंवैधानिक कदम चाल्दै संसद भंग गरेका हुन्’, पोखरेलले भने, ‘उनको प्रतिगमन दोश्रो चरणमा प्रवेश गरेकोले संविधान नै डेन्जर जोनमा रहेको छ। अहिलेको समयमा विभिन्न आन्दोलनकारी दलहरुसँग मिलेर संयुक्त आन्दोलन गर्नुपर्ने आवश्यकता रहेको छ।’

त्यस्तै, उक्त भेलालाई सम्बोधन गर्र्दै पूर्व मन्त्री एवं स्थायी समिति सदस्य मातृका प्रसाद यादवले ओली कम्युनिस्ट पार्टीको नाममा खल्तीबाट केन्द्रीय सदस्य र मन्त्री पद बार्गेनिङ स्वरुप वितरण गरेर भर्ना अभियान सञ्चालन गरेको आरोप लगाए।

उनले कम्युनिस्ट पार्टीको सिद्धान्त, मर्म र मार्क्सवादी नीतिलाई समेत अवलम्बन नै नगरीकन जथाभावीरुपमा शक्ति संचयकै नाममा आसेपासे पालेर प्रम ओली शक्तिशाली बन्न खोजिरहेको बताए। ओलीका तर्फबाट मन्त्री पद वितरण भइरहेकाले केही साथीहरु दोधारमा रहेको र कहीँ मन्त्री बनाइदेलान् कि वा पैसा देलान् कि भन्ने कुराले तिनीहरु अन्यौलमा परेको समेत बताए।

प्रदेश स्तयरीय बैठक तथा प्रशिक्षण कार्यक्रममा प्रदेश नम्बर २ का ८ वटै जिल्लाबाट प्रदेश समितिका नेता तथा सदस्यहरु, प्रदेशसभा सदस्य, प्रतिनिधि सभा सदस्य, जिल्ला ईन्चार्ज, सेक्रेटरी समेतको सहभागिता रहेको केन्द्रीय सदस्य श्रीप्रसाद साहले जानकारी दिए।

कार्यक्रममा प्रदेश २ मा नेकपा तर्फबाट प्रदेशसभा सदस्य ३२ जना मध्ये २० जना, नेकपाका ४ जना स्थायी समिति सदस्यमध्ये ३ र ६८ जना केन्द्रीय सदस्यमध्ये ४५ जना प्रचण्ड-नेपाल पक्षमा देखिएका छन्।

बैठकले प्रदेश २ मा १ हजार १ सदस्यीय प्रदेश संघर्ष समिति बनाउने र सोबाट आन्दोलनका गतिविधि सञ्चालनका लागि १ सय १ सदस्यीय सचिवालय समिति, ६ सय १ सदस्यीय जिल्ला समिति गठन पुस १८ गतेसम्ममा गरिसक्नुपर्ने निर्णय भएको नेकपा प्रदेश २ का प्रदेश सदस्य उदय यादव बरबरियाले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell