विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरसविरुद्ध निर्माण भएको भ्याक्सिनलाई आपतकालिन प्रयोगका लागि स्वीकृति दिएको छ। फाइजर–बायोएनटेकले विकास गरेको भ्याक्सिनलाई संगठनले प्रयोग गर्नका लागि अनुमति दिएको हो।
संगठनले भ्याक्सिन स्वीकृत गरेसँगै विश्वका विभिन्न देशले फाइजरका भ्याक्सिन आयात र वितरण गर्न थप सहज हुने भएको छ।
बेलायतले गत डिसेम्बर ८ मै फाइजर भ्याक्सिनको प्रयोगका लागि अनुमति दिएको थियो। यो भ्याक्सिन अमेरिका, क्यानाडा र युरोपेली संघमा आवद्ध मुलुक सहित अन्य कतिपय मुलुकले प्रयोगमा ल्याएका छन्।
कोरोनाभाइरस विरुद्ध आपतकालीन प्रयोगका लागि डब्लुएचओबाट भ्याक्सिन स्वीकृत प्राप्त गर्ने फाइजर पहिलो कम्पनी हो ।
डब्लुएचओका वरिष्ठ अधिकृत म्यारिएन्जेला सिमाओले फाइजरको भ्याक्सिनले अनुमति प्राप्त गर्नु निकै सकारात्मक कदम भएको र यसबाट विश्वका अन्य मुलुकले पनि यस भ्याक्सिनमा सहज पहुँच हासिल गर्ने विश्वास व्यक्त बताए।
डब्लुएचओका अनुसार युनिसेफ जस्ता मानवीय सहायता निकायहरुले फाइजरका भ्याक्सिन खरिद गरेर अति जरुरी परेका मुलुकमा आपूर्ति गर्न पनि यसले बाटो खोलेको छ। रासस
फाइजर–बायोएनटेकले विकास गरेको भ्याक्सिनको सुरक्षा, प्रभावकारिता र गुणस्तर जाँच गर्न डब्लुएचओले विश्वभरबाट तथ्याँक संकलन गरी विश्लेषण गरेको थियो। विज्ञहरुको टोलीले गरेको अध्ययनमा कोभिड–१९ बाट सिर्जना हुने जोखिम न्यून गर्न फाइजरका भ्याक्सिन निकै प्रभावकारी देखिएको डब्लुएचओले जनाएको छ।