PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

निर्वाचनको तयारीमा जुट्यो निर्वाचन आयोग, माघ १५ -२१ गतेसम्म मतदाता नामावली अद्यावधिक गरिने



निर्वाचनको तयारीमा जुट्यो निर्वाचन आयोग, माघ १५ -२१ गतेसम्म मतदाता नामावली अद्यावधिक गरिने

काठमाडौं : प्रतिनिधिसभाको आगामी निर्वाचनका लागि अन्तिम मतदाता नामावली तयार गर्न आगामी माघ १५ देखि २१ गतेसम्म सबै स्थानीय तहको केन्द्रमा मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन हुने भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्दै वैशाखमा प्रतिनिधिसभा निर्वाचन गर्ने घोषणा गरेका थिए।

निर्वाचन आयोगका अनुसार निर्वाचनका लागि अन्तिम मतदाता नामावली तयार गर्ने सन्दर्भमा यही पुस ५ गते १८ वर्ष उमेर पुग्ने व्यक्तिको मतदाता नामावली अद्यावधिक गरिने छ। ओली सरकारले आगामी वैशाख १७ गते  पहिलो र २७ गते  दोस्रो चरणमा गर्ने गरी प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति घोषणा गरिसकेको छ।

मतदाता नामावली ऐन, २०७३ अनुसार मतदाता नामावलीमा नाम दर्ता भई पुस ५ गतेसम्म १८ वर्ष उमेर पूरा भएको व्यक्ति मात्र आगामी निर्वाचनमा मतदाता हुन सक्ने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए।

आयोगले उक्त कार्यक्रम संचालनको अवधिभित्र सम्बन्धित स्थानीय तहको केन्द्रमा गई मतदाता नामावलीमा समावेश भएको आफ्नो विवरणमा रहेको त्रुटि सच्याउन निवेदन दिन तथा मृत्यु भएका वा बसाइँ सरी गएका वा दोहोरो नाम रहेका मतदाताको नाम हटाउनका लागि सूचना दिन सबैमा अनुरोध गरेको छ।

झुटो विवरण दिई कसैले मतदाता नामावलीमा नाम समावेश गरेको भए सोकोविरुद्ध उजूरी दिन पनि आयोगले सम्पूर्ण मतदातासँग अनुरोध गरेको छ। आयोगले सबै स्थानीय तह, राजनीतिक दल, नागरिक समाज, पत्रकार तथा सम्पूर्ण सरोकार पक्षलाई मतदाता नामावली अद्यावधिक कार्यक्रममा आवश्यक सहयोग गर्न आग्रह गरेको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell