PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

कुनै बेलाका चर्चित अभियन्ता सुनिलबाबुको कश्यप रुप : किन बने भिक्षु?



स्वेच्छा राउत

कुनै बेलाका चर्चित अभियन्ता सुनिलबाबुको कश्यप रुप : किन बने भिक्षु?

केही वर्षअघिसम्म सुनिलबाबु पन्त सामाजिक अभियान र आन्दोलनहरूको अग्रपङ्तीमा भेटिन्थे। सीमान्तकृत यौन अभिमुखिकरणका लागि लडिरहेको हुन्थे। अथवा, लैङ्गिक तथा यौनिक पहिचानका लागि आवाज बुलन्द बनाइरहेको अवस्थामा भेटिन्थे।

नील हिरा समाजका संस्थापक समेत रहेका उनी संविधानसभाको सदस्य समेत रहे जो निर्वाचित पहिलो समयौनिक व्यक्ति हुन्। आफू रहर र स्वभावले भन्दा बढी आवश्यकताले राजनीतिमा होमिएको उनको तर्क थियो। आफ्नो समूदायको प्रतिनिधित्व गर्न अनि लैङ्गिक तथा यौनिक पहिचानसँग जोडिएका मुद्दाहरूलाई अघि सार्न राजनीतिकसँगै सामाजिक अभियानमा पनि उनी सक्रिय थिए।

तर, सामाजिक रुपमा सक्रिय उनी अब सुनिलबाबु पन्त रहेनन्।

नेपाल साहित्य महोत्सवको ९ ‍औं संस्करणमा उनी फरक भेषभुषामा देखिए। गेरु वस्त्रमा ! उनी भिक्षु भइसकेका रहेछन्। 'नेपालमा क्वेर हुनुको अर्थ' शीर्षकमा अन्तर्क्रिया गर्न पोखरा पुगेका थिए उनी।

एक वर्षअघि हो उनमा वैराग्यता छाएको अनि धर्मको संवेग जागेको। तब उनी सिंगापुर पुगे, बौद्ध धर्मको मार्ग अंगाल्न। बुद्धले देखाएको बाटो हिँड्न। त्यो सांसारिक मोहबाट टाढा जहाँ उनले सुख र शान्तिलाई दीर्घ नहुने देखे।

तर, उनको भिक्षु बन्ने निर्णय क्षणिक आवेगका कारण निम्तिएको भने होइन रहेछ।

‌‌‌+++

गोर्खाका एउटा गाउँमा खेलिरहेको बालकलाई सधैं आकर्षित गरे गाउँगाउँ डुल्ने भिक्षुहरूले। शरीर घप्लक्क ढाक्ने लामो अनि राता/पहेंँला लुगा – हेर्दा नौलो। तर, तिनै लुगाले उनलाई ती भिक्षुहरूको छेउमा पुर्‍याउथ्यो। उनीहरूको कुरा ध्यान दिएर सुन्ने बनाउथ्यो।

ती भिक्षुहरूले गर्ने कुराकानी त उनीहरूले लगाउने लुगाभन्दा बढी आकर्षित लाग्यो सुनिलबाबुलाई। उनीहरूले गर्ने व्रह्माण्डको कुरा, आत्मा र अध्यात्माको कुराबाट निकै प्रभावित बने।

'त्यही बेला हो ममा सन्यासी बन्ने रहर जागेको,' उनले सुनाए। उनले बुबासँग आफू पनि भिक्षु बन्ने रहर भएको सुनाएका पनि हुन्। तर, त्यस समय रहरहरू बुबाआमाले आफ्ना लागि देखेको सपनासँगै जेलिएका थिए। त्यसमाथि भर्खर ८ वर्षमा टेक्दै गरेको छोराको भिक्षु बन्ने रहरमा कसरी रमाउन सक्थे र बुबाआमा? भिक्षुहरू स्वयले 'उ योग्य छ' भनेर आफूसँगै लैजान आग्रह गर्दा पनि पठाएनन्।

बुद्धले जीवनबारे के भनेका रहेछन्? कहाँ पुग्ने कस्तो मार्ग देखाएका रहेछन्?

यी प्रश्नहरूको जवाफबारे बुझ्न २८ वटा वसन्त पार गर्नुपर्‍यो उनले। विपश्यना ध्यान शिविर जानुपर्‍यो।

लुम्बिनीका युवराज थिए सिद्धार्थ गौतम। तर, जीवन र दर्शनसँग जोडिएका अनेक प्रश्नको जवाफ खोज्दै दरवारको सुख त्यागे। निस्किए ज्ञानको खोजीमा। तर, अनेक विधि अपनाउँदा पनि उनका जिज्ञासाका गुजुल्टो फुकेन।

एउटा विधिले भने उनलाई ज्ञानमात्र दिलाएन सिद्धार्थ गौतमबाट ‘बुद्ध’ बनायो। त्यस विधिले आफूभन्दा अगाडि पनि धेरैलाई बुद्ध बनाएको बुझे। र, आफूभन्दा पछाडि पनि अरु बुद्ध बन्नुपर्ने भन्दै ज्ञान बाढ्न थाले। मृत्युको मुखमै पुग्दासमेत उनले अरुलाई सिकाउन नसकेको त्यो विद्या हो – विपश्यना।

समयक्रममा लोप भएको यस विधि वर्मामा भने कायम राखिएको रहेछ। जसलाई मौलिक स्वरुपमै ग्रहण गरे भारतीय मूलका वर्मेली सत्यनारायण गोयन्काले। जसलाई उनले भारतदेखि विश्वका अन्य देशमा सिकाउन थाले। दश दिवसीय शिविरमा राखेर, बुद्धले निर्देशन गरेका पाँचवटा नियम 'पञ्च शील' पालना गर्न लगाएर।

‌‌‌+++

तिनै कठिन शील पालन गर्दै पहिलो पटक २८ वर्षको हुँदा विपश्यना शिविर बसेका थिए सुनिलबाबु पन्‍त। उक्त शिविर उनका लागि लाभदायक रह्यो। त्यहाँ उनले बुद्धले पाएको र बाँडेको ज्ञानको मूल कुरा बुझे। यो रहेछ बाटो त भन्ने भयो। किशोरावस्थामा जागेको भिक्षु बन्ने सोचले फेरि एक पटक घच्घचायो। उनी पुन: एक पटक बुबआमा सामु पुगे। भिक्षु बन्ने इच्छाबारे बताए। यो पटक पनि अनुमति पाएनन्।

'मैले दु:खबाट मुक्त हुने बाटो चिनेको थिएँ। तर, धर्मको बाटोमा परिवारको अनुमतिबिना सन्यासी बन्नु राम्रो मानिँदैन। मेरो आमाबुबा मान्नु भएको थिएन। त्यसैले निर्णय लिइँन,' उनले सुनाए।

पुण्य सञ्चय गर्न पुगेको रहेनछ भन्ने सोचे उनले। समय आएकै रहेनछ भन्ने पनि लाग्यो।

त्यसपछि हो उनी सामाजिक आन्दोलनहरूमा झनै सक्रिय बनेर लागेको। नेपालमा क्वेरहरूका लागि बोलेको र लडेको।‍ नेपालमा लैङ्गिक एवं यौनिक अल्पसंख्यकहरूको प्रतिनिधित्व गर्दै सामाजिक एवं कानूनी संरचनामा परिवर्तन ल्याउन लागिपरे। भित्र कतै उनीभित्र जागेको ध्यान र अध्यात्माको रहर भने आलै थियो।

उनका अनुसार बौद्ध धर्ममा उमेरले ५ दशक काटेकाहरूलाई बिरलै भिक्षुका रुपमा स्वीकारिन्छ। त्यसैले ५० वर्ष पुग्नुअघि भने जसरी पनि जीवनको बाटो मोड्नु थियो उनलाई। यो पटक आफूमा जागेको वैराग्य संवेदनाहरूलाई पच्छ्याए। र, श्रीलंका गएर भिक्षु कश्यप बने। त्यसपछि फेरियो उनको परिचय।

+++

निरञ्जन कुँवरसँग गरेको अन्तर्क्रियामा उनीहरूले नेपालमा लैङ्गिक तथा यौनिक अल्पसंख्यकहरूको सामाजिक एवं कानूनी अवस्था, पश्चिमा समाज र पूर्वीय समाजमा लैङ्गिक अल्पसंख्यकका लागि भएका कामहरू, सामाजिक संचरनाले यस विषयमा पार्ने असरलगायत विषयमा छलफल गरेका थिए।

उनले नेपाल एवं पूर्वीय समाजमा लैङ्गिक अल्पसंख्यकहरूलाई पहिल्यैदेखि दिइएको ठाउँबारे चर्चा गरे। सामाजिक र सांस्कृतिक कार्यक्रमहरूमा उनीहरूलाई समावेश गरिनुलाई सकारात्मक संकेत मान्छन् उनी। पश्चिमा देशहरूमा भने अझै पनि लैङ्गिक वा यौनिक हिसाबमा पूर्ण महिला वा पूर्ण पुरुष नभएकै भोग्नुपर्ने समस्याहरू व्याप्त रहेको उनको तर्क थियो।

भन्छन्, 'हाम्रो समाजमा कोही तृतीय लिङ्ग भएकै कारण सामाजिक बहिष्कार गर्ने वा मारिने वा अन्य सजाय भोग्नुपर्ने अवस्था छैन।'

नेपालको हकमा पहिले छोरीलाई नाच्न नदिइने बेला, तेस्रो लिङ्गीहरूलाई नाच्नका लागि उपस्थित गराइनु। राजा वा अन्य सम्माननीयहरूको सवारीमा पञ्चकन्या सरह लैङ्गिक अल्पसंख्यकहरूलाई राखिनु। मारुनी नाचमा होस् या रोपाइ जात्रामा उनीहरूलाई सहभागी गराइनु विशेषता मान्छन्। त्यस्तै तराईंमा रहेको हिजरा, नटुना, जनानालगायत चलनको बारे पनि चर्चा गरे।

'लैङ्गिकता र यौनिकता फरक विषय हुन्। अल्पसंख्यकहरूको हकमा लैङ्गिकताका आधारमा पूर्वीय समाज प्रगतिशील छ र यौनिकताका हिसाबमा पश्चिमा समाज अगाडि छ,' सुनिल उर्फ कश्यपले भने। नीतिगत र संस्कृति पक्षको समीक्षा गर्दा पूर्वीय समाज तृतीय प्रकृतिका मानिसका लागि उदार भएको बताउँछन् उनी।

तर, समाजले तेस्रो प्रकृतिका मानिसहरूमाथि गर्ने शंका र पहिचानमाथिको प्रश्न भने नभएका होइनन्। जसलाई सामाजिक संरचना र धर्मग्रन्थका केही अंशले डोर्‍याएको बताउँछन् उनी। त्यसको असर लैङ्गिक/यौनिक अल्पसंख्यकबारे बुझाइलाई फराकिलो हुन दिएको छैन।

उनले भने, ‘जैन, बौद्ध र हिन्दु धर्ममा लाग्नेहरूका लागि यी विषय क्लिष्ट छ। किनकि त्यहाँ यौन र यौनिकता काम र वासनासँग जोडिएका विषय हुन् भनिएको छ। तिनलाई त्यागेपछि मात्र मानिसले मुक्ति पाउने जनाइएको छ। कामना र इच्छाहरू बाँकी रहेसम्म बाँधिइरहन्छौं भनिएको छ।‘

आफैले अपनाएको धर्मको बाटो र त्यसका नियमलाई उदाहरणका रुपमा प्रस्तुत गर्छन् उनी।

बौद्ध धर्मका भिक्षु, भिक्षुणी एवं अनुयायीहरूले पालना गर्नु पर्ने पञ्चशीललाई उदाहरणका रुपमा प्रस्तुत गरे। जहाँ ‘उवया व्यन्जक’(महिला पुरुष दुवैको लैङ्गिक अङ्ग भएको मानिस) र ‘पाण्डक’ (कुनै अङ्ग नभएको)लाई संगठनमा समावेश नगर्नु भन्ने छ।

‘तर, मलाई यी कुरामा विश्वास छैन। धेरै पछि आएको कुरा हुन् यी। बुद्धले त मुक्तिको मार्गमा लाग्ने सबै मानवमा चेतना हुन्छ भेदभाव गर्नु हुँदैन भनेका छन्। अपाङ्गता भएकाहरूलाई नि समावेश नगर्नु भनिएको शिल त पछि लेखिएका हुन्,’ उनले भने।

प्राय धर्मले महिला वा समलिङ्गी हुनुलाई पूर्व जन्मको पापका रुपमा व्याख्या गर्नुलाई गलत मान्छन् उनी। पहिलेको जन्ममा यौन सम्बन्धमा अनैतिक भएकै फलस्वरुप महिला वा समलिङ्गी हुने धर्मग्रन्थहरूको कथ्य हो।

‘यस्तै मिथ्या विचारहरूका कारण लैङ्गिकता सम्बन्धी अज्ञानता कायम छ। यो समस्या पितृसत्तात्मक धार्मिक संघहरू संगठित भएका हरेक समाजमा छ। यस्ता भ्रम नचिरेसम्म समाजमा उस्तै विचार स्थापित रहन्छ।‘

भिक्षु कश्यपलाई प्रश्न राख्ने निरञ्जन स्वयं गे हुन्। नेपालमा अङ्ग्रेजी भाषामा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकबाट संस्मरण सार्वजनिक गर्ने पहिलो व्यक्ति हुन् उनी। केही महिना अघि उनको पुस्तक ‘बिट्वीन क्वीन्स एण्ड द सिटिज’ सार्वजनिक भएको छ।

कश्यपले पुस्तकबारे भने, 'आफ्नो लैङ्गिक पहिचानबारे आफ्नै परिवारसँग खुलेर बोल्न नसकिने समाजमा धेरैका लागि प्रेरणा बन्नसक्छ कुँवरको पुस्‍तक।' उनका अनुसार पुस्तकले लैङ्गिक पहिचान, समलिङ्गी सम्बन्ध, समलिङ्गीले गर्नुपर्ने संघर्ष र नेपाली साथै विकसित भनिएको अमेरिकी समाजमा पनि लैङ्गिक अल्पसंख्यहरूलाई हेर्ने दृष्टिकोण र गरिने व्यवहार प्रष्ट्याउँछ।

+++

सन् २०११ मा अमेरिकाबाट फर्किएपश्चात् निल हिरा समाजमार्फत् काम सुरु गरेका थिए उनले। अब त अभियान र आन्दोलनभन्दा पर अध्यात्माको बाटोमा छन् भिक्षु कश्यप। हाल आफ्ना लागि चित्तशुद्धि पहिलो प्राथमिकता भएको बताए।

'म भिक्षु भएका कारण मैले अभियानहरूमा लाग्न मिल्दैन। म समाजलाई आवश्यक ध्‍यान सिकाउँछु, धर्म सिकाउँछु,' उनले भने।

आफू समाजमा व्याप्त कुरीति, विभेद र असमानताको विपक्षमा उभिएका छन्। यस पटक धर्मको बाटोमार्फत् बोलेर, गरेर सधैं तत्पर रहने बताए।

'शास्त्रहरूकै नाममा पनि कति भ्रम फैलिएका छन् तिनको विरुद्ध पनि बोल्छु,' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell