PahiloPost

Jun 29, 2024 | १६ असार २०८१

प्रतिनिधि सभा विघटनविरुद्ध वडासम्मै आन्दोलनका कार्यक्रम सार्वजनिक गर्‍यो काँग्रेसले



प्रतिनिधि सभा विघटनविरुद्ध वडासम्मै आन्दोलनका कार्यक्रम सार्वजनिक गर्‍यो काँग्रेसले
फोटो : रासस

काठमाडौं : प्रतिनिधि सभा विघटनविरुद्ध नेपाली काँग्रेसले थप आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा प्रदर्शन गरेको काँग्रेसले आइतवारको केन्द्रीय समितिबाट थप आन्दोलनको कार्यक्रम घोषणा गरेको हो।

काँग्रेसले आन्दोलनलाई स्थानीयस्तरमा लैजानका लागि प्रदेशस्तरीय देखि स्थानीय तहसम्मैको आन्दोलनको कार्यक्रम घोषणा गरेको छ।

काँग्रेसले पुस २५ गते ३ सय ३० प्रदेश निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने कार्यक्रम तय गरेको काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। त्यस्तैगरी माघ ३ गते नगर र गाउँपालिका र माघ ८ गते वडास्तरमा विरोध प्रदर्शनका कार्यक्रम घोषणा गरिएको उनले बताए।

ती कार्यक्रमबाहेक पनि अन्य विरोधका कार्यक्रम आयोजना गर्न सकिने काँग्रेसले भ्रातृ संगठनहरुलाई जनाएको छ। 'उल्लेखित कार्यक्रम बाहेक जिल्लाले स्थानीय अवस्था र आवश्यकता हेरी विरोधका कार्यक्रमहरु आयोजना गर्न सक्नेछन्। पार्टीका भ्रातृ एवं शुभेच्छुक संस्थाहरुले पार्टी केन्द्र र जिल्लासँग समन्वय गरी पार्टीले तोकेको कार्यक्रम बाहेक अन्य विरोधका कार्यक्रम गर्नेछन्,' बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ।

आजको केन्द्रीय समितिमा वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौलाले सरकारको कदम असंवैधानिक भएको उल्लेख गर्दै आन्दोलनमा जानै पर्ने दबाव पार्टी सभापति शेरबहादुर देउवालाई दिएका थिए। पुस ७ गतेबाट शुरु भएको केन्द्रीय समितिमा सिटौला पहिलोपटक सहभागी भएका हुन्। उनी कोरोना संक्रमणमुक्त भएपछि केन्द्रीय समितिमा सहभागी भएका हुन्। काँग्रेसले आन्दोलनका कार्यक्रम सार्वजनिक गरे पनि प्रतिनिधि सभा पुनर्स्थापनाका विषयमा भने मौन रहने नीति कायमै राखेको छ। सभापति देउवाले यसअघि पनि सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा तत्काल बोलिहाल्ने परम्परा काँग्रेसको नरहेको बताइसकेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले पटकपटक प्रतिनिधि सभा पुनर्स्थापना नहुने दाबी गर्दै आउँदा पनि काँग्रेस भने यस विषयमा मौन रहँदै आएको हो।

गत १० गते बसेपछि केन्द्रीय समिति १९ गते आजसम्मका लागि स्थगित गरिएको थियो। यसबीचमा काँग्रेसले पुस १३ गते १६५ क्षेत्रमा सरकारी कदमको विरोध गर्दै प्रदर्शन र १६ गते राष्ट्रिय मेलमिलाप दिवस मनाएको थियो। काँग्रेस केन्द्रीय समितिको अर्को बैठक पुस २७ गते बस्ने मुख्य सचिव पौडेलले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell