PahiloPost

Dec 25, 2024 | १० पुष २०८१

ओलीलाई उपेन्द्र यादवले दिए भस्मासुरको संज्ञा, भण्डारीले भने, ‘सन्की प्रधानमन्त्रीलाई सडकबाटै लखेटेर भगाउनु आजको आवश्यकता’



सुमित मिश्र

ओलीलाई उपेन्द्र यादवले दिए भस्मासुरको संज्ञा, भण्डारीले भने, ‘सन्की प्रधानमन्त्रीलाई सडकबाटै लखेटेर भगाउनु आजको आवश्यकता’

जनकपुरधाम : जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीलाइ भस्मासुरको संज्ञा दिएका छन्।

समाजवादी युवा संघको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता यादवले ओली जनताको अधिकार खोस्ने ठूला भस्मासुर रहेको आरोप लगाए। अध्यक्ष यादवले जनताको मत लिएर प्रधानमन्त्री बनेका ओली अहिले आएर जनताकै अधिकार ध्वस्त पार्न लागेको आरोप लगाए।

उनले ओली आफ्नो पार्टीभित्र मात्र भई देशैभरी आगो लगाउने भस्मासुर रहेको समेत बताए। नेता यादवले देशको संविधान परिमार्जन गरेर सबैको संविधान बनाउनुको साटो प्रधानमन्त्री ओली प्राप्त अधिकारलाई नष्ट पार्ने गरी संविधानमाथी नै धावा बोलेको आरोप लगाए।

‘बहुमत पाएको सरकारले संविधानलाई सबैको संविधान बनाउनु पर्थ्यो, जबकि ओलीले पार्टी भित्रको विवादका कारण प्रतिनिधिसभा विघटन गरेर तानाशाही प्रवृति देखाएका छन्’, अध्यक्ष यादवले भने, ‘२००७ सालको अन्तरिम संविधान राजा त्रिभुवनले कार्यान्वयन हुन दिएनन्, २०१७ मा राजा महेन्द्रले कु गरे, पछि ज्ञानेन्द्रले त्यही गरेर तानाशाह बन्ने कुचेष्टा गरे, के भयो? जनताले आन्दोलन गरेर राजतन्त्रलाई नै उखालेर फालि दिए। ओली पनि सोही नक्सा कदममा अगाडी बढिरहेका छन् यस्को परिणाम जनताले दिने छ।’

नेता यादवले प्रधानमन्त्री ओलीको सांसद विघठन गरेर देशमा चुनाव गराउने होइन संसद र प्रदेशसभालाई समाप्त पारेर संविधान नै ध्वस्त पार्ने योजना रहेको दावी गरे।

उनले प्रधानमन्त्रीलाई निरंकुश, तानाशाह, महेन्द्रवादीको संज्ञा दिदै उनी कम्युनिस्ट नभई कमाउनिस्टहरुको नेता रहेको बताए। कम्युनिस्टहरु लोकतन्त्रलाई रुचाउँदैनन् भन्दै उनले नेपाली मोडेलको तथाकथित कम्युनिस्टमा लोकतन्त्र झनै नरहेको दावी गरे।

उनले भने, ‘ओली न मार्क्सवादी हुन्, न साम्यवादी, उनी महेन्द्रवादी हुन्।’

ओली प्रवृतिले देशमा संघियता नै नचाहेको आरोप

कार्यक्रममा सहभागी जसपाका वरिष्ठ नेता शरदसिंह भण्डारीले ओली प्रवृतिले देशमा संघियता नै नचाहेको आरोप लगाए। उनले प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेर चुनाव गराउने नभएर एकल जातीय तथा नश्लिय शासन अगाडि बढाउने ध्येय रहेको आरोप लगाए।

भण्डारीले भने, ‘यसअघि देखि नै यो अपूर्ण संविधानले देशमा दुर्घटना गराउँछ–गराउँछ भन्दै आएका थियौँ अहिले आएर त्यो सावित भएको छ।’

संविधानमा अहिले पनि विमति रहे तापनि जे जति प्राप्त अधिकारहरु छन् त्यसको रक्षा गर्ने अभिभारा आफूहरुको काँधमा रहेको उनको भनाइ थियो।

भण्डारीले आफूहरु चुनावबाट नडराएका बताउँदै भने, ‘हामी जनताहरुको बीचमै रहेर राजनीति गर्ने व्यक्ति हौँ, जनतामा जान हामी सदैव तत्पर छौँ।’

भण्डारीले  देशलाई बचाउन ओली जस्ता सन्की प्रधानमन्त्रीलाई सडकबाटै लखेटेर भगाउनु आजको आवश्यकता रहेको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell