PahiloPost

Dec 20, 2024 | ५ पुष २०८१

‘मिनाप’ विवाद : नयाँ कार्यसमिति अवैधानिक रहेको आरोप, अध्यक्ष भन्छन्, ‘यहाँको प्रवृत्ति यस्तै हो’



सुमित मिश्र

‘मिनाप’ विवाद : नयाँ कार्यसमिति अवैधानिक रहेको आरोप, अध्यक्ष भन्छन्, ‘यहाँको प्रवृत्ति यस्तै हो’

जनकपुरधाम : जनकपुरधामस्थित मिथिला नाट्यकला परिषद् (मिनाप)को नयाँ कार्यसमिति अवैधानिक तवरले चयन गरिएको संस्थाका केही असन्तुष्ट सदस्यहरुले आरोप लगाएका छन्।

शनिवार संस्थाको ४१ औँ साधारणसभाको क्रममा नियम कानुनविपरित अध्यक्ष मण्डलद्वारा एकपक्षीय रुपमा संस्थाको विधान र धारा उपधारालाई समेत ख्याल नगरी नयाँ कार्यसमितिको चयन गरिएको आरोप लगाइएको छ।

अध्यक्ष मण्डलले सर्वसम्मत कार्यसमिति चयन गर्न नसकेपछि नियम संगत चुनाव नगराई उल्टै दवाव र प्रभावमा परेर विभिन्न पदमा परेको उम्मेद्वारी र विरोधलाई बेवास्ता गर्दै एकलौटी निर्णय सुनाएकोप्रति आफूहरुको गम्भीर आपत्ति रहेको सचिव पदका उम्मेद्वार घनश्याम मिश्रले आरोप लगाए। उनले आफूहरुको उम्मेद्वारी अझैपनि कायम नै रहेको जानकारी दिए।

उनले भने, ‘अध्यक्ष पदमा ३ जना, सचिवमा २ जना र कोषाध्यक्षमा १ जना मात्र उम्मेद्वारी दिएको अवस्थामा सदस्यहरुको मताधिकारको हनन् गर्दै सात सदस्यीय अध्यक्ष मण्डलका संयोजक रमेश रञ्जन झाले मौखिक रुपमा नयाँ कार्यसमितिको घोषणा गर्नु आफैँमा हाँस्यास्पद र कानुनविपरित रहेको छ।’

२१ औँ शताब्दीमा पनि लोकतान्त्रिक मूल्यमान्यता विपरित गरिएको यस कार्यविरुद्ध आफूहरुको असहमति रहेको र ५ दिनभित्र विधानसम्मत निर्वाचन नगराइए कानुनी उपचारमा जान बाध्य हुने अध्यक्ष पदका उम्मेद्वार ललित कामतले बताए।

उनले भने, ‘संस्थाको पदाधिकारी भएर पनि मिनापमै बसेर विभिन्न फरक नामका गैरसरकारी संस्था सञ्चालन गर्ने व्यक्तिहरुको हालीमुहालीका कारण मिनाप र मिनापसँग आबद्ध कलाकारहरु आर्थिक रुपमा कमजोर हुँदै गइरहेका छन्, साधारणसभामा समेत सदस्यहरुद्वारा मिनापको लेटर प्याडको दुरुपयोग भइरहेको आवाज उठिरहँदा त्यस्तै व्यक्तिहरुलाई नयाँ कार्यसमितिको लिस्टमा राखेर अवैधानिक तवरले गरिएको मौखिक घोषणालाई हामी अस्वीकार गर्छौँ।’

यस विषयमा अध्यक्ष मण्डलले आफ्नो आधिकारीक धारणा बाहिर नल्याए आफूहरु कडा संघर्षको कार्यक्रममा जाने कोषाध्यक्ष पदका उम्मेद्वार सुरेन्द्र कुमार रायले चेतावनी दिएका छन्। यता सर्वसम्मतले अध्यक्ष बनेका प्रमेश झाले मिनापको परम्परा अनुसार नै आफूलाई अध्यक्ष मण्डलले अध्यक्ष बनाएको बताएका छन्।

उनले भने, ‘साधारण सभा बस्दा मिनापको परम्परा अनुसार २०३६ साल देखि नै साधारणसभाबाट एउटा अध्यक्ष मण्डल चुनिन्छ, जसमा ७ जना हुन्छन्। उनीहरुकै निर्णय सर्वोपरी हुन्छ। अध्यक्ष मण्डल एउटा रुममा बसी सबै सदस्यलाई बोलाइ गोप्य रुपमा सोध्ने गर्छन्, तपाई कुनै पदको आकांक्षी हुनुहुन्छ? जो आकांक्षी हुन्छन् अध्यक्ष मण्डलले उनको नाम लेख्छन्। फेरि सबै आकांक्षी उम्मेद्वारलाई बोलाइ एकअर्कालाई समर्थन गर्न भन्छन्। जुन पदमा समर्थन भयो भने उ विजय हुन्छ अर्का उम्मेद्वारको नाम टिपी फेरि सबै सदस्यलाई बोलाइ अभिमत लिन्छन्। जसको अभिमत बढि हुन्छ उही विजय हुन्छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell