PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

प्रचण्डले झुक्याएर आफ्नो हस्ताक्षर लिएको प्रभु साहको आरोप, ‘कुन महिनामा के भनेर सही गराउनु भएको थियो?’



सुमित मिश्र

प्रचण्डले झुक्याएर आफ्नो हस्ताक्षर लिएको प्रभु साहको आरोप, ‘कुन महिनामा के भनेर सही गराउनु भएको थियो?’
फाइल फोटो।

जनकपुरधाम : प्रतिनिधिसभा विघटन गरेर कोही खुशी नरहेको शहरी विकास मन्त्री प्रभु साहले बताएका छन्। प्रतिनिधिसभा विघटन आफैँमा आत्मघाती रहेको उनले बताए।

‘केही नेता संसद विघटन असंवैधानिक, प्रतिगमन रहेको भनेका छन्, हामी आफैँ संसद विघटनबाट खुशी छैनौँ। प्रधानमन्त्री समेत खुशी छैनन’, मन्त्री साहले भने, ‘को चाहन्छ हामी पाँच वर्षको लागि जितेका छौँ भने तीनै वर्षमा छाडीदिउँ। यसबाट कोही खुशी छैनन्। यो आफैमा आत्महत्या हो। यो विवशता हो।’

देशमा दुई किसिमको संसद विघटन भएको भन्दै उनले भने, ‘राजा ज्ञानेन्द्रले जनताको अधिकार छिन्नको लागि षड्यन्त्रपूर्वक संसद विघटन गरे त्यसलाई प्रतिगमन भनिन्छ तर जनताबीच गएर जनतालाई मजबुत बनाउन जानुलाई लोकतन्त्र भनिन्छ।’

संसद विघटन संविधान संवत् रहेको उनले दावी गरे। संसदबाट दोस्रो सरकार बन्ने सम्भावना नरहेको अवस्थामा मध्यावधि निर्वाचनमा जाने प्रावधान रहेको भन्दै उनले प्रधानमन्त्री ओलीले संसद विघटन गर्दा उनीसँग ६२ प्रतिशत सांसद रहेकोले अन्यसँग सरकार बन्ने अवस्था नरहेकोले संसद विघटन गरिएको बताए।

प्रचण्ड–नेपाल पक्षप्रति इंगित गर्दै उनले संसद विघटनको मुद्दा अदालतमा चलिरहेको समयमा त्यसको प्रतिक्षा गर्नुको साटो आन्दोलन गरेर गैरजिम्मेवारी ढगंले देश बर्बाद गरिरहेको बताए। नेपालमा संविधान बनेपछि देश स्थायित्वतर्फ बढिरहेको समयमा अस्तव्यस्त बनाउने तर्फ केही व्यक्तिहरु लागेको मन्त्री साहले आरोप लगाए।

उनले केही व्यक्ति कम्युनिस्ट आन्दोलनलाई विफल गर्ने षड्यन्त्रमा लागेको बताउँदै भने, ‘बाहिरबाट हेर्दा कम्युनिस्ट पार्टीको आन्तरिक विवादको कारण देश दुर्घटना तर्फ उन्मुख छ। अलगैबाट हेर्दा झगडा जस्तो लागि रहेको छ। तर, झगडा भित्र हेर्दा दोष र निर्दोस देखिन्छ। टाढाबाट हेर्दा दुई जना झगडा गरिरहेको देखिन्छ। नजिकबाट हेर्दा एउटा साइकल छिन्न दुई जना लडिरहेका छन् भने अर्को त्यसलाई बचाउँनको लागि। यसमा एउटा इमान्दार छन् भने अर्को बैमान।’

पार्टीभित्र आफैले गरेको सहमतिविपरित पार्टी कब्जा गर्न प्रचण्डले कु गरेको समेत उनले आरोप लगाए। आफ्नै पार्टीका केही नेताले प्रधानमन्त्री एवं पार्टीका प्रमुख नेता केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएको उनको भनाइ थियो।

उनले भने, ‘सुन्नु भएको होला त्यसयमा मेरो पनि नाम छ। म सोध्न चाहन्छु प्रचण्डजीसँग, तपाईले प्रभु साहसँग कुन महिनामा के भनेर सही गराउनु भएको थियो?’

प्रचण्डले आफूलाई झुक्याएर आफ्नो हस्ताक्षर लिएको साहले आरोप लगाए।

‘दुई चोटी प्रधानमन्त्री बनेका प्रचण्ड आफ्नो निर्वाचन क्षेत्रमा समेत विकास गर्न नसक्ने देशमा कसरी विकास गर्ने?’ उनले प्रश्न गरे।

उनले प्रचण्ड पदको लोभी रहेकोले माओवादी मुभमेन्ट (कम्युनिस्ट) आन्दोलनलाई प्रचण्डले नै बेचेको आरोप समेत लगाए।

उनले भने, ‘प्रचण्डले मधेशलाई छुट्टै प्रदेश दिने भनेका थिए तर के गरे? युद्धकालमा भनेका थिए मेचीदेखि महाकालीसम्म मधेश दिन्छु तर के गरे? तपाईँहरुलाई जुठ बोल्ने नेता चाहियो वा साँचो बोल्ने?’

पदको लालसामा कम्युनिस्ट आन्दोलन समेत बेचेकोले प्रचण्डको अगाडि पछाडि बस्ने कोही नरहेको भन्दै साहले मोहन बैद्य, बाबुराम भट्टराई, सिपी गजुरेल, बादल सबैले उनको साथ छोडेको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell