PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

जनकपुरधाममा ओली समूहको शक्ति प्रदर्शन, जुलुसमा बालबालिकाको प्रयोग



सुमित मिश्र

जनकपुरधाममा ओली समूहको शक्ति प्रदर्शन, जुलुसमा बालबालिकाको प्रयोग

जनकपुरधाम : जनकपुरधाममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केपी शर्मा ओली समूहले आज शक्ति प्रदर्शन गरेको छ। नेकपाको ओली समूहको जनकपुरधामको रेल्वे स्टेशनबाट निस्केको जुलुस नगरको विभिन्न भागको परिक्रमा गर्दै नेकपाको प्रादेशिक कार्यालयमा पुगेर कोणसभामा परिणत भएको थियो।

नेकपाको ओली समूह र पुष्पकमल दाहाल ‘प्रचण्ड’-माधव नेपाल समूहबीच कार्यालयका लागि विवाद चलिरहेकोे समयमा ओली समूहले त्यहाँ सभा गरेको छ। यसअघि प्रचण्ड-नेपाल समूहले समेत सोही कार्यालयमा विभिन्न भेला तथा सभाहरु गरिसकेको छ।

प्रदर्शनमा बालबालिकाको प्रयोग

ओली समूहले आज निकालेको जुलुसमा दर्जनौँ बालबालिकाहरुको सहभागिता देखिएको छ। जुलुसमा बालबालिकाहरुले नेकपाको झण्डा र सूर्य चिन्ह अंकित झण्डा बोकेर नारा लगाई रहेका थिए।

जुलुसमा १० वर्षदेखि १५ वर्ष उमेर समूहका बालबालिकाहरु नेकपाको पक्षमा नारा लगाएका थिए। विद्यालय जाने समयमा कुनै पार्टी विशेषको कार्यक्रममा यसरी बालबालिकाहरुको प्रयोग हुनु दुःखद रहेको स्थानीयहरुको भनाइ छ।

यसअघि प्रचण्ड-नेपाल समूह, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, राजावादीहरुको प्रदर्शनमा समेत बालबालिकाहरुको प्रयोग भएको पाइएको थियो। त्यहाँ पनि विद्यालय जाने उमेरमा बालबालिकाहरु विभिन्न दलहरुको पक्षमा नारा लगाएको भेटिएका थिए।

ओली समूहको आजको जुलुसमा तत्कालिन एमाले पार्टीकोे चुनावी गीत घन्किएको छ।

भेलामा सहभागी हुनका लागि मंगलवार बिहान जनकपुरधाम आएकी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुली कुमारी महतोलाई स्वागत गर्न विमानस्थल पुगेका कार्यकर्ताहरुले तत्कालिन एमालेको चुनावी गीत घन्काएका छन्। एमालेले यसअघि चुनाव लडेको समयमा चुनावी गीत बनाउन लगाएको थियो। सोही गीत घन्काउँदै कार्यकर्ताहरुले मन्त्रीहरुलाई स्वागत गर्नका लागि जनकपुरधाम विमानस्थल पुगेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell