PahiloPost

Jun 29, 2024 | १६ असार २०८१

प्रदेश २ मा नेकपाको संसदीय दलको नेतामा प्रचण्ड-नेपाल समूहका शत्रुधन महतो चयन



प्रदेश २ मा नेकपाको संसदीय दलको नेतामा प्रचण्ड-नेपाल समूहका शत्रुधन महतो चयन

जनकपुरधाम : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश २ को संसदीय दलको नेतामा पुष्पकमल दाहाल ‘प्रचण्ड’-माधव नेपाल समूहका शत्रुधन महतो चयन भएका छन्। नेकपा राजनीतिक रुपमा दुई धारमा विभाजित भएसँगै प्रचण्ड-नेपाल समूहले ओली समूहका सत्यनारायण मण्डललाई दलको नेताबाट हटाई आफ्ना समूहका महतोलाई दलका नेतामा चयन गरेका हुन्।

पार्टीको विधान अनुरुप पछिल्लो साता मण्डलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराई मंगलवार विधान अनुरुप अविश्वासको प्रस्ताव पारित गरी मतदान प्रक्रियाबाट महतोलाई दलको नेताको रुपमा चयन गरिएको छ। विधान अनुसार पार्टीको कुल प्रदेश सभा सदस्यको ५० प्रतिशत भन्दा बढीको बहुमतबाट अविश्वासको प्रस्तावमार्फत नेता चयन गर्न सकिने प्रावधान अनुसार दलको नयाँ नेता चयन गरिएको नेकपाका प्रमुख सचेतक सुन्दरबहादुर विश्वकर्माले जानकारी दिए।

प्रदेशसभामा नेकपाका ३२ सदस्यमध्ये १९ जनाले मण्डललाई अविश्वास प्रस्तावमार्फत संसदीय दलका नेताबाट हटाइ मतदान प्रक्रियाले दलको नयाँ नेताको रुपमा महतोलाई चयन गरिएको प्रदेशसभामा पत्र दर्ता गराइएको छ।

अविश्वासको प्रस्ताव दर्ता गराएका १९ जना सदस्यमध्ये प्रचण्ड पक्षका ७ जना र नेपाल पक्षका १२ जना रहेका छन्। तत्कालिन माओवादी केन्द्रबाट ११ जना र एमालेका २१ जना सदस्य रहेका थिए। अविश्वास प्रस्ताव दर्तापछि प्रचण्ड-नेपाल समूहमा १९, ओली समूहमा १० र अन्यौलमा ३ जना सदस्य रहेका छन्।

पत्र दर्तापछि सभामुख सरोजकुमार यादवले विधान अनुरुप नेकपाले आफ्ना दलको नयाँ नेता चयन गरिएको जानकारी गराए अनुसार आजकै मितिदेखि लागू हुने गरी नेकपाको दलका नेता शत्रुधन महतो भएको बताए।

कांग्रेसको पनि १९ र प्रचण्ड-नेपाल समूहको पनि १९ जना सदस्य भएकोमा प्रमुख प्रतिपक्षी कुन दल हुने भन्ने सञ्चारकर्मीहरुको जिज्ञासामा सभामुख यादवले दलका नेता चयन प्रक्रियामा मात्रै १९ जना रहेको बताउँदै पार्टी औपचारिक रुपमा विभाजन नभएको कारण नेकपा नै प्रमुख प्रतिपक्षी दल हुने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell