काठमाडौं : जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले संसद विघटन कदममा अदालतप्रति भरोसा नभएको बताएका छन्।
प्रधानमन्त्रीले पुस ५ गते गरेको संसद विघटन कदम वैधानिक कि अवैधानिक भन्ने विषय अदालतमा विचाराधीन रहेका बेला बुधवार बानेश्वरमा आयोजित प्रचण्ड-नेपाल समूहको छलफल कार्यक्रममा ठाकुरले भने, ‘संसद विघटनको विषयमा अदालतप्रति विश्वास छैन।’
महन्थले अहिलेको अवस्था आउनुमा संविधानमै त्रुटि भएको उल्लेख गरे। ‘संविधानका बिषयमा आन्दोलनमा जाँदा अत्याचार भयो। हामीले त ओलीलाई बहिस्कार नै गरेका थियौं। संविधानले हामीलाई न्याय दिन्न,’ उनले संविधानप्रति असन्तुष्टि पोखे।
महन्थले प्रचण्ड-नेपाल समूहलाई भने, ’संसद स्थापना भए तपाइ पनि सरकारमा जानुहुन्छ। हामी तपाइको साथमा छौं। रास्ट्रवादको नारा बाहेक सबै राम्रो छ।’ सत्ताधारीले विभिन्न समुदायका बीचमा फल्ट लाइन बनाएको उनको गुनासो छ।