PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

पूर्वराष्ट्रपति यादवसहितका राजनीतिज्ञ उत्पादन गरेको सरस्वती मावि जीर्णोद्धारको पर्खाइमा : कतैबाट पाएन सहयोग



सुमित मिश्र

पूर्वराष्ट्रपति यादवसहितका राजनीतिज्ञ उत्पादन गरेको सरस्वती मावि जीर्णोद्धारको पर्खाइमा : कतैबाट पाएन सहयोग

जनकपुरधाम: कुनै बेला जनकपुरधामलाई शिक्षा र ज्ञानको केन्द्रको रूपमा चिनिन्थ्यो। त्रेता युगमा त यहाँ ठूला-ठूला विद्वान र विदुषी शास्त्रार्थकै लागि पुग्ने गरेको चर्चा हुने गर्छ। तर प्रदेश २ को अस्थायी राजधानी समेत रहेको जनकपुरधामको शिक्षाको स्तर अहिले डामाडोल नै छ।

जनकपुरधामको सरस्वती माध्यमिक विद्यालय यसको प्रत्यक्ष उदाहरण हो। कुनैबेला यो यस्तो विद्यालय थियो जहाँ विद्यार्थी शैक्षिक रूपमा मात्र नभई राजनीतिक सामाजिक रूपमा समेत सबल हुन्थे। तर, अहिले यो विद्यालयमा न शैक्षिक गतिविधि सोचे अनुसार छ न त सामाजिक गतिविधि नै।

जनकपुरधामको सबैभन्दा पुरानो विद्यालय सरस्वती माध्यमिक विद्यालयको भवन जीर्ण बन्दै गएपछि त्यसको प्रभाव विद्यालयमा परेको छ। शैक्षिक गतिविधि चौपट्ट नै छ।

विद्यालयमा अहिले भौतिक पूर्वाधारको अभाव देखिएकाले गतिविधि नै शून्य जस्तो देखिएको छ। राष्ट्रिय राजनीतिमै महत्त्वपूर्ण देन दिने जनशक्ति उत्पादन गरेको विद्यालयप्रति स्थानीयहरूमा समेत झुकाव नभएपछि अवस्था जीर्ण बन्दै गइरहेको सरोकारवाला बताउँछन्। पुराना भवन जीर्ण भएपछि विद्यालयका कक्षा कोठा नवनिर्मित भवनमा सारिएको छ। तर न्यूनतम भौतिक पूर्वाधार समेत नभएको शिक्षकहरू बताउँछन्।

+++

राणा शासनविरुद्धको आन्दोलन उत्तरार्द्धमा रहेको समयमा रामस्वरुप सागरले दिएको जग्गामा विसं २००४ सालमा स्थापना भएको थियो विद्यालय। प्रजातान्त्रिक आन्दोलनमा विद्यालयको उल्लेख्य योगदान रहेकोभन्दा अतिशयोक्ति पनि हुन्न। किनभने विद्यालयले उत्कृष्ट चिकित्सक, शिक्षक उत्पादन गर्नुका साथै देशको राजनीतिक बागडोर सम्हालेका कतिपय राजनीतिज्ञ समेत विद्यालयमा अध्ययन गरेको इतिहास छ।

https://pahilopost.com/assets/upload/images/135839268_2176882892452092_9091178420758484630_n.jpg

गणतान्त्रिक नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादव, उपप्रधानमन्त्री ईश्वर पोखरेल, नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिलगायतका नेताहरू यसै विद्यालयमा अध्ययन गरेर आफ्नो राजनीतिक आधारशीला तयार पारेका थिए।

विद्यालयले विभिन्न क्षेत्रका मेधावी व्यक्तित्व तयार पारे पनि कुनै पनि पूर्व विद्यार्थीहरूले खस्कँदो अवस्थाप्रति चासो नलिएको प्रधानाध्यापक सत्यनारायण मण्डल बताउँछन्।

‘विद्यालयले कयौँ राजनीतिज्ञ निर्माण गर्‍यो। कयौँ यही विद्यालयबाट अध्ययन गरेर प्रतिष्ठित चिकित्सक बने। समाजसेवी बने। तर कसैले पनि विद्यालयको दूरावस्थाप्रति चासो देखाएनन्’, प्रधानाध्यापक मण्डलले भने, ‘पूर्व राष्ट्रपति डा. रामवरण यादव यहाँ अनुगमनका लागि पुग्दा विद्यालयको अवस्था देखेर चिन्तित हुनुभयो, उहाँकै पहलमा विद्यालयमा अहिले ८/८ कोठे २ वटा भवन निर्माण भएको छ जहाँ विद्यार्थीहरूलाई जसोतसो अध्ययन गराइन्छ।’

प्रधानाध्यापक मण्डलले विद्यालयमा काम चलाउनका लागि भवन त निर्माण भएको तर शौचालयको समस्या अझै रहेको बताउँछन्।

उनले भने, ‘प्रदेश सरकारले बेटी पढाउ बेटी बचाउ अभियान अन्तर्गत छात्राहरूलाई साइकल वितरण गर्नु अतिरिक्त कुनै सहयोग गरेको छैन।’

उनले सामाजिक विकास मन्त्रालयले महिलामैत्री शौचालय बनाइदिन गरेको प्रतिबद्धताको २ वर्ष बित्दा समेत कार्यान्वयन नभएको बताए।

https://pahilopost.com/assets/upload/images/136759710_274493530765231_1816662420036085630_n.jpg

जनकपुरधाम उपमहानगरपालिका ९ मा रहेको विद्यालयलाई स्थानीय तहदेखि प्रदेश सरकार कसैले पनि सहयोग नगरेकोमा स्थानीय राजन झाले दुःखी छन्।

+++

प्रदेश २ को आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवको क्षेत्रमा रहेको विद्यालय अहिले भौतिक पूर्वधार र शिक्षक अभाव पूर्तिको पर्खाइमा छ।

जनकपुरधाम उपमहानगरपालिका ९ का वडाध्यक्ष परमेश्वर साहले राजनीतिक पूर्वाग्रहका कारण उपमहानगरपालिकाले बजेट समेत नदिएको आरोप लगाए।

जनकपुरधाम मात्र नभएर प्रदेशकै शैक्षिक इतिहास बोकेको विद्यालयमा अहिले ८८५ जना विद्यार्थी अध्ययनरत छन्। तर, संरचना र शैक्षिक गुणस्तर कोमामा पुगेकाले आकर्षण घट्दै गइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell