PahiloPost

Dec 17, 2024 | २ पुष २०८१

चोरीको मोटरसाइकल चढ्ने दुई जना सोह्रखुट्टेबाट पक्राउ, टोखामा चक्कु प्रहार गरी मोबाइल लुटियो



चोरीको मोटरसाइकल चढ्ने दुई जना सोह्रखुट्टेबाट पक्राउ, टोखामा चक्कु प्रहार गरी मोबाइल लुटियो

काठमाडौं: महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौँले चोरीका माटरसाइकलसहित दुई जनालाई पक्राउ गरेको छ। पीडित सहायता एकाइबाट सादा पोशाकमा खटिएको ट्राफिक प्रहरीले यहाँको सोह्रखुट्टेस्थित सडकबाट धादिङको नीलकण्ठ नगरपालिका–९ मुरलीभन्ज्याङ बस्ने राजन मगर र थाक्रे गाउँपालिका–१ देवीस्थानका राजन तामाङलाई आज पक्राउ गरेको हो।

उनीहरु चढेको बा९२प ७६३० नंको मोटरसाइकल नक्कली भएको र वास्तविक नम्बर भने प्रदेश ३–०२–०१२प ९८३५ रहेको महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले जानकारी दिए। उक्त मोटरसाइकल गत वर्ष पुसमा काठमाडौँको सोह्रखुट्टेस्थित सडकबाट हराएको थियो। पर्सा ठोरी गाउँपालिका–९ बस्ने पूर्णबहादुर थापाले दिएको निवेदनका आधारमा मोटरसाइकल र मानिस पक्राउ गरी आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी बृत्त लैनचौर पठाइएको महाशाखाले जनाएको छ। महाशाखाले चोरीको मोटरसाइकल खोजी अभियान तीव्र पारिरहेको छ।

चक्कु प्रहार गरी मोबाइल लुटियो

यसैगरी काठमाडौँको टोखा नगरपालिका–९ दिपज्योतिबाट सुर्खेत गुरुवाकोट नगरपालिका–६ का दुई जनालाई चक्कु प्रहार गरी मोबाइल लुटपाट भएको छ। गए राति चार/पाँच जनाको समूहमा आएका अज्ञात व्यक्तिले चक्कु प्रहार गरी मोबाइल लुटपाट गरेको प्रहरीले जनाएको छ। फरार लुटेराको महानगरीय प्रहरी प्रभाग गोङ्गबुबाट खटिएको प्रहरीले खोजी गरिरहेको छ।

चक्कु प्रहारबाट घाइते भएका दुवै जनाको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ। घटनाका विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell