PahiloPost

Jul 3, 2024 | २० असार २०८१

विवादमा मुख्यमन्त्री स्वच्छता अभियान : कतै आर्थिक अनियमितताको आरोप त कतै पोखरी पुरेर बाटो निर्माण



सुमित मिश्र

विवादमा मुख्यमन्त्री स्वच्छता अभियान : कतै आर्थिक अनियमितताको आरोप त कतै पोखरी पुरेर बाटो निर्माण

जनकपुरधाम: प्रदेश २ लाई सफा र सुन्दर बनाउने उद्देश्यले प्रदेश सरकारले मुख्यमन्त्री स्वच्छता अभियान कार्यक्रम घोषणा गर्‍यो। प्रदेशमा अभियानको खुबै प्रशंसा पनि भयो। यस अभियान अन्तर्गत प्रदेशभित्र रहेका ऐतिहासिक धरोहरको संरक्षण, संवर्द्धन, सौन्दर्यकरण साथै विभिन्न ऐतिहासिक पोखरीहरूको संरक्षणको दिशामा कार्य अगाडि बढाइएको छ।

मुख्यमन्त्री स्वच्छता अभियानको मुख्य उद्देश्य प्रदेशभित्रका धरोहरहरू तथा पोखरीहरूको सौन्दर्यकरण रहे पनि पछिल्लो समय स्वच्छता अभियानकै नाउँमा ऐतिहासिक धरोहर तथा पोखरीको जग्गा अतिक्रमण गरिएको छ। पछिल्लो समय मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत भइरहेका अधिकांश काम विवादित देखिएका छन्।

मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत भइरहेको एक काममा मोटो रकमको चलखेल भएको समेत खुलासा भएको छ। जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ८ मा निजी व्यक्तिलाई फाइदा पुर्‍याउने गरी ऐतिहासिक कपालमोचनी पोखरीको डिल पुर्न र विश्व प्रसिद्ध जानकी मन्दिर फूलबारी अतिक्रमणमुक्त गराउनुको साटो उल्टै अतिक्रमण गरिएको छ।

के हो कपालमोचनी पोखरी विवाद?

कपालमोचनी पोखरीमा घाट निर्माण गर्ने भन्दै निजी व्यक्तिलाई फाइदा पुग्नेगरी पोखरीमै बाटो बनाइएको छ। पछिल्लो एक वर्षदेखि कपालमोचनी सर पोखरीको डिलमै सीतादेवी यादवको नाउँमा खरिद गरिएको जग्गाका साथै त्यहाँ बाटोका लागि कटाइएको नक्सा समेत विवादित हुन पुग्यो।

उपमहानगरपालिका र जानकी मन्दिरसँग मिलेर पोखरीको जग्गामा बाटो कायम गराइएको भन्दै जग्गाधनी सीतादेवी यादव पक्षधरले जग्गासँगै रहेको तेली कुट्टीको पर्खाल भत्काएपछि दुवै पक्षबीच उग्र विवादको सिर्जना भएको थियो।

https://pahilopost.com/assets/upload/images/135770131_310240727097249_6724823833391870099_n.jpg

विवाद उत्पन्न हुँदा जानकी मन्दिरले गुठी संस्थानलाई बाटो काट्न भूलवश मालपोत कार्यालयलाई सिफारिस गरिएको भनी गल्ती स्वीकार गरेका थिए भने मालपोत समेतले गुठीको सिफारिस नहुँदा नक्सामा लगत कट्टा नगरिएको र स्रेस्तामा दाखिला नभएको जवाफ दिएको थियो।

जानकी मन्दिर र मालपोतको जवाफपछि बाटो निर्माण कार्य रोकिएको थियो। सोही क्रममा विवाद समाधान हुन नसक्दै मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत सो सौन्दर्यकरणको नाउँमा पोखरीलाई नै पुरेर कुनै एक व्यक्तिको निजी जग्गाको बाटो खुलाउनकै लागि त्यहाँ काम अगाडि बढाइएको तेली कुट्टीको सञ्चालक समितिका अध्यक्ष जगदीश साह बताउँछन्।

प्रदेश सरकारले निजी व्यक्तिको मतियार बनेर सार्वजनिक सम्पत्ति पोखरी पुरेर अतिक्रमणलाई बढवा दिएको वैश्य कल्याण महासंघका अमरनाथ गुप्ताले आरोप लगाए।

‘मन्दिरले बाटोका लागि जग्गा नदिएपछि प्रदेश सरकारले एक तर्फबाट पोखरी पुर्न लगाएको छ भने अर्कोतर्फ पोखरीको क्षेत्रफल कमी हुन नदिन सार्वजनिक बाटो नै अतिक्रमण गरिएको छ’, गुप्ताले भने, ‘सौन्दर्यकरणको नाउँमा सार्वजनिक सम्पत्तिको अतिक्रमण गर्नु गलत हो, हामी त्यसको संरक्षणका लागि अदालतसम्म जानेछौँ र आवश्यकता परे प्रदेश सरकारलाई समेत घच्घच्याउने छौँ।’

यता स्वच्छता अभियानको नाममा कुनै व्यक्ति विशेषलाई फाइदा पुर्‍याउन प्रदेश सरकारले नै सार्वजनिक सम्पत्ति अतिक्रमण गरेको भन्ने जिज्ञासामा स्वच्छता अभियानका संयोजक इन्जिनियर भगवान झाले कुनै अतिक्रमण नगरेको दाबी गरे।

झाले भने, ‘पोखरी सौन्दर्यकरणको क्रममा घाट निर्माणका लागि पोखरीका केही भाग पुरिएको हो। यसबाट स्थानीय जनतालाई फाइदा हुनेछ सरकारलाई होइन।’

जानकी मन्दिर फूलबारी विवाद

जनकपुरधामस्थित विश्व प्रसिद्ध जानकी मन्दिर प्राङ्गणमै रहेको फूलबारीको जग्गा अतिक्रमणको विषय एक वर्षभन्दा बढी समयदेखि विवाद चल्दै आएको छ। फूलबारीको पूर्वपट्टि फूलबारी अतिक्रमण गरी पर्खाल नै खडा गरिएको थियो।

https://pahilopost.com/assets/upload/images/135804014_1247686628961005_3761618372389012469_n.jpg

सो फूलबारी जग्गा अतिक्रमणबारे नापी कार्यालयले नागरिक समाजको अगुवाइमा गुठी संस्थान र जिल्ला प्रशासन कार्यालयद्वारा कार्यदल गठन भई तीन/तीन पटक नापी समेत भएको थियो। सो कार्यदलले मन्दिरको सिट नम्बर १३५५-२४ को कित्ता नम्बर ८ को साबिक क्षेत्रफल ३ कट्ठा १० धुर भएको बताएको छ। सडक विस्तारको नाउँमा बगैँचाको बीचमा ०.७० मिटर चौडाइ पूर्वी दक्षिण कुनामा ३ मिटर तथा पूर्वी उत्तरको कुनामा ४.८८ मिटर जग्गा अतिक्रमण गरिएको प्रतिवेदन समेत बुझाइसकेको छ।

सो विवाद समाधान हुन नसकेपछि भदौ २८ गते स्थानीय जनप्रतिनिधिहरुले सो पर्खाल भत्काएका थिए। फूलबारी विवाद समाधान हुन नपाउँदै मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत जानकी मन्दिर सौन्दर्यकरण कार्यक्रममा समावेश गरी सो विवादित जग्गामा पर्खाल लगाउने कार्य सुरु गरिएको छ। प्रदेश सरकारद्वारा विवाद समाधान नगरी उल्टै विवाद सिर्जना गरेको भनी नागरिक समाजका अगुवा आन्दोलित समेत भएका छन्।

ठेक्का प्रक्रियामा रकमको चलखेल

सोही अभियान अन्तर्गत महोत्तरीको पिपरा गाउँपालिका वडा नम्बर ७ स्थित बनौलीमा रहेको ऐतिहासिक लक्ष्मी सागरपोखरी सौन्दर्यकरणका लागि ठेक्का प्रक्रियामा रकमको चलखेल भएको छ। मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत मैथिली भाषाका महाकवि विद्यापतिसँग सम्बन्धित ऐतिहासिक पोखरी लक्ष्मीसागर पोखरीको सौन्दर्यकरण कार्य अगाडि बढाइएको छ। यद्यपि सो पोखरीको सौन्दर्यकरणका लागि गरिएको ठेक्का प्रक्रियामा अभियानका संयोजक भगवान झा आफूखुसी रकमको चलखेल गरी प्रक्रिया अगाडि बढाइएको आरोप लागिरहेको छ।

लक्ष्मीसागर पोखरीको ठेक्का प्रक्रियामा यसअघि न्यूनतम रकम कबुल गरेको निर्माण कम्पनी विकास एण्ड ब्रदर्सलाई जिम्मा दिइएको थियो। तर, पछि सो कम्पनीले फर्जी कागजात पेस गरेको पाइएपछि दोस्रो नम्बरमा रहेको इजी इन्फ्रासँग रकम लिएर अहिले उसलाई कामको जिम्मा दिइएको छ।

विकास एण्ड ब्रदर्शले वीरगंजमा रहेको विद्यालय ज्ञानदा एकेडमीको भवन आफूले बनाएको भन्दै सो विद्यालयको फर्जी लेटर प्याड प्रयोग गरेर ठेक्का हात पारेको थियो। पछि विद्यालयले २०७७ साल मंसिर ११ गते अभियानका संयोजक भगवान झालाई विकास एण्ड ब्रदर्शले आफ्नो फर्जी लेटर प्याड प्रयोग गरेको भन्दै पत्र पठाएको छ।

पत्रमा भनिएको छ, ‘सो कम्पनीले हाम्रो कुनै भवन निर्माण गरेको छैन। सो कम्पनीलाई अनुभवको पत्र नलेखेको स्पष्ट समेत पारिएको छ।’

https://pahilopost.com/assets/upload/images/136430249_148910420161770_121055701128486984_n.jpg

विकास एण्ड ब्रदर्शले सो विद्यालयको फर्जी लेटर प्याड प्रयोग गर्दै गत २०७७ साल असार २६ गते मुख्यमन्त्री स्वच्छता अभियानको कार्यालयमा अनुभवको पत्र पेस गरेको थियो।

नक्कली कागजात प्रस्तुत गरे पनि विकास एण्ड ब्रदर्स कम्पनीलाई कारबाही गर्ने प्रक्रिया अगाडि नबढाइएपछि निर्माण व्यवसायीहरूमा आक्रोश देखिएको छ। यता अभियानका संयोजक भगवान झाले नक्कली कागजात पेस गरेको विकास एण्ड ब्रदर्सको ३४ लाख रुपैयाँ धरौटी रकम जफत गरिसकिएको र कारबाही प्रक्रिया अगाडि बढाइएको जानकारी दिए। यद्यपि कारबाही प्रक्रिया कहाँसम्म पुग्यो भन्ने विषय केही खुलाउन चाहेनन्।

जबकि नक्कली कम्पनी वा नक्कली कागजात पेस गर्ने ठेकेदार कम्पनीको धरौटी रकम जफत गर्नुका साथै कालो सूचीमा राख्नुपर्ने प्रावधान रहेको छ। तर, सो कम्पनीलाई रकम लिएर उन्मुक्ति दिनुका साथै अर्को कम्पनीसँग पनि रकम लिएर सौन्दर्यीकरणको कार्य सो कम्पनीको जिम्मा दिइएको श्रोतको दाबी छ।

यता मुख्यमन्त्री कार्यालयका सचिव यम भुसालले बनौलीस्थित निर्माण जारी भइरहेको लक्ष्मीसागर पोखरीको सौन्दर्यकरणका ठेक्का प्रक्रियाको विषयमा आफूलाई केही जानकारी नरहेको जवाफ फर्काए।

उनले भने, ‘यस विषयमा मलाई केही जानकारी छैन, अभियानका संयोजकसँगै यो विषयमा कुरा गर्नुस्।’

अहिले आएर दोस्रो कम्पनीलाई कसरी सौन्दर्यकरणको जिम्मा दिइएको भन्ने कुरा समेत आफ्नो जानकारीमा नरहेको उनको भनाइ थियो। अहिले जिम्मा पाएको कम्पनी इजी इन्फ्राका सुशील झालाई तपाईँको कम्पनी दोस्रो नम्बरमा हुँदाहुँदै कसरी जिम्मा पाउनुभयो भन्ने प्रश्नमा केही बोल्न चाहेनन्।

मुख्यमन्त्री स्वच्छता अभियानको कार्यालयले गत २०७७ भदौ ३ गते महोत्तरीको पिपरा गाउँपालिका बनौलीस्थित लक्ष्मीसागर पोखरी, महोत्तरीको रौजा मजार, धनुषाको जनकपुरधाम वडा नम्बर १७ कनकपट्टीस्थित सुब्बाजी पोखरी र महोत्तरीको मनरा सिस्वा १० को मधवा पोखरीको सौन्दर्यीकरणका लागि बोलपत्र आह्वान गरेको थियो।

लक्ष्मी सागर पोखरीको सौन्दर्यीकरणका लागि ८ करोड ८४ लाख ५४ हजार ९ सय ४८ रुपैयाँ ५३ पैसा र रौजा मजारको सौन्दर्यकरणका लागि ७ करोड ८५ लाख १९ हजार ५३ रुपैयाँ ८१ पैसा न्यूनतम रकम कबुल गरेको कम्पनी इजी इन्फा प्रालि काठमाडौँलाई दोस्रोपटकको बोलपत्र आह्वान परेको विज्ञापन गत २०७७ साल मंसिर २१ गते प्रकाशित भएको थियो।

https://pahilopost.com/assets/upload/images/136361662_3862833677083372_8071529167527878853_n.jpg

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell