- फूलमान तामाङ-
नवलपुर : प्रतिनिधि सभा विघटनविरुद्ध नेपाली काँग्रेसले देशैभरको प्रदेशसभा निर्वाचन क्षेत्रमा २५ गते विरोध प्रदर्शन गर्दैछ। चार प्रदेश रहेको सिन्धुपाल्चोकमा पनि विरोध कार्यक्रम तय भएका छन्।
काँग्रेस सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक भन्दै विभिन्न मितिमा आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन्। तर, देउवा गुटकै भनिएका क्षेत्रीय सभापति रहेका सिन्धुपाल्चोक क्षेत्र २ को प्रदेश क ले भने विरोध कार्यक्रममा सहभागिता नजनाउने भएको छ।
सहभागितमात्र हैन, यहाँका क्षेत्रीय सभापतिले कुनै कार्यक्रमसमेत नगर्ने स्पष्ट पारेका छन्। साविक क्षेत्र २ का सभापति एवम् हालको क्षेत्र २ को प्रदेस 'क' को जिम्मेवारी दिइएको प्रदेश सभापति टंक कार्कीले क्षेत्रीय कार्यसमितिको तर्फबाट कुनै कार्यक्रम नरहेको बताएका हुन्।
जिल्लाको पार्टी विवाद देखाउँदै कार्कीले कार्यक्रम संयोजन गर्न आफू असमर्थ रहेको बताए। पार्टी जिल्ला सभापति विकास लामा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर मानिन्छन्। यता कार्की भने केन्द्रीय सदस्य मोहन बस्नेत पक्षधर हुन्। बस्नेतसँगको हिमचिमले कार्कीलाई देउवा गुटको भएको बताइन्छ।
सिन्धुपाल्चोकमा जिल्ला सभापति लामा र केन्द्रीय सदस्य बस्नेतबीच टकरावको स्थिति रहेको छ। कार्कीले भने जिल्लामा समायोजन विषयको विवाद टुंगो नलागेकोले कार्यक्रमबाट पन्छिएको बताएका छन्। उनले जिल्ला सभापति लामालाई इङ्गित गर्दै पार्टी एकलौटी ढंगले चलाएको र समायोजन पनि सल्लाह नै नगरी आफू खुसी बसेर समायोजन बाँडफाँड गरेको आरोप लगाए। विधान विपरीत समायोजन गरेकोले आफूहरुले केन्द्रीय कार्यालयमा उजुरी दिएको र त्यसको टुंगो केन्द्रले पनि नगरेकोले आफूहरुले कार्यक्रम नराख्ने उनको भनाइ थियो। 'समायोजनको विवाद छ। केन्द्रले पनि विवादको टुंगो लगाएन,' कार्कीले भने, 'त्यसैले यसपटक कार्यक्रम गर्ने तयारी छैन।'
जिल्लाका अन्य प्रदेश सभा निर्वाचन क्षेत्रमा पनि समायोजन विवाद कायमै रहेपनि विरोध कार्यक्रम तय भएका छन्। उक्त प्रदेश निर्वाचन क्षेत्रमा क्षेत्रीय समितिले चासो नदेखाएपछि जिल्ला कार्यसमितिले नै विकल्पका रुपमा विरोध कार्यक्रम तय गरेको काँग्रेस जिल्ला सचिव बिलबहादुर तामाङले बताए। 'प्रदेश कार्यसमितिले कार्यक्रम नगर्ने छाँट देखेपछि जिल्ला कार्यसमिति आफैले विकल्पको रुपमा ज्यामिरेमानेमा कार्यक्रम तय गरिएको छ,' सचिव तामाङले भने।
विरोध कार्यक्रममा पूर्व सिँचाईमन्त्री अमरसिंह पुन र जिल्ला सभापति लामाले सम्बोधन गर्ने छन्। प्रतिनिधि सभा क्षेत्र नम्बर २ को ख प्रदेशको विरोधसभा मेलम्चीमा हुने भएको छ। यहाँ केन्द्रीय सदस्य विष्णु बिक्रम थापाले सम्बोधन गर्ने छन्। प्रतिनिधि सभा क्षेत्र १ मा खाडीचौर र चाकुबजारमा कार्यक्रम तय भएको छ।