PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

राजनीतिको छायाँमा त्रसित फिल्म उद्योग : महामारीपछि अस्थिरताको आशंका



स्वेच्छा राउत

राजनीतिको छायाँमा त्रसित फिल्म उद्योग : महामारीपछि अस्थिरताको आशंका

अभिनेत्री केकी अधिकारी फिल्म निर्माणको तयारीमा छिन्। उनको अभिनय समेत रहने फिल्म ‘बोक्सीको घर’ युनिट आउँदो फागुनबाट छायाँकनका लागि निस्कने योजनामा छ। तर, देशको राजनीतिक परिस्थितिका कारण सबैकुरा योजना अनुरुप चल्छ कि चल्दैन? भन्ने प्रश्न युनिटभित्र उठ्न थालेको छ।

केही समय अघिसम्म फिल्मको लेखन, अभिनय, कलाकार, आर्थिक एवं प्राविधिक पाटोसँगै कोरोना संक्रमणको जोखिमलाई कसरी कम गर्ने? छायाँकन स्थल वा अन्य क्षेत्रमा कसरी स्वास्थ्य सावधानी अपनाउने? भन्ने विषयमा छलफल हुन्थ्यो। तर, हाल राजनीतिक घटनाक्रमकै कारण फिल्म तोकिएको समयमा छायाँकन हुन नसके के हुन्छ? कस्ता खालका असरहरू व्यहोर्नुपर्छ भन्नेबारे कुराकानी हुन थालेको छ।

‘राजनीतिक स्थितिले हामीलाई अन्यौलतामा पुर्‍याएको छ। योजना अनुरुप अघि बढिरहेको कामहरू के होला? काम गर्ने वातावरण नै हुन्छ कि हँदैन होला भन्ने डर छ,’ केकीले चिन्ता व्यक्त गरिन्। कलात्मक काम गरिरहेको आफ्नो समूहले हरेक दिन राजनीतिक घटना क्रमबारे चिन्तन गर्नु परेको सुनाउँछिन्।

यस्ता विषयले आफ्नो फिल्ममा मात्र नभइ समग्र सिने क्षेत्रमा असर गर्ने उनको विचार छ। कोभिड-१९ महामारी र लकडाउनका कारण प्रभावित फिल्म क्षेत्र भर्खरै चल्मलाउँदै छ। सरकारले कोरोना भाइरस नियन्त्रणा लागि भन्दै सबैभन्दा सुरुवातमा बन्द गरेको र सबैभन्दा ढिला खोलेको क्षेत्र हो। फिल्म हल सञ्चालकहरूले सिर्जनात्मक दवाव स्वरुप आधिकारिक अनुमति पाउनुअघि जै हल खोले। त्यसको एक साता पछिमात्र सीसीएमसीले हल खोल्न सिफारिस गर्‍यो।

‘महामारी पछि कसरी यस क्षेत्रका कामहरू सुरु गर्ने भन्ने सोचिरहेका थियौं। राजनीतिक अस्थिरताका कारण, अहिले सुरु गर्ने कि नगर्ने भन्ने द्विविधा सिर्जना गरिदियो,’ उनले भनिन्।

केकीका अनुसार राजनीतिक उथपपुथलका कारण फिल्म तथा मनोरञ्जन क्षेत्रमात्र नभइ कोभिड-१९, जन स्वास्थ्य लगायत अत्यावश्यक विषय पनि छायाँमा परेको छ।

नाट्यकर्मी एवं फिल्म ‘बोक्सीको घर’ लेखक तथा निर्देशक सुलक्षण भारतीले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्नुलाई गैर-जिम्मेवार निर्णयका रुपमा व्याख्या गरे। सरकारले कला क्षेत्रप्रति कहिल्यै कुनै किसिमको टेवा नपुर्‍याएको र कलाकर्मी आफ्नै बुतामा प्रयास गर्दैगर्दा डराउनु पर्ने स्थिति खडा गरेको बताउँछन्।

‘सत्तामा भएकाहरूले आफू अनुकुल जे गर्दा पनि हुने रहेछ। भोलि प्रधानमन्त्रीले आफूलाई हित हुने देखेर संकटकाल घोषणा गरिदिए? वा कोरोनाको बहानामा फेरि लकडाउन गरे? हाम्रो यत्रो मिहेनत वा समय र पैसाको लगानी के हुन्छ,’ उनले प्रश्न गरे।

संसद विघटनको निर्णय गलत भएको र यसले राजनीतिमा मात्र नभइ आम मानिसको दैनिकीमा समेत ठूलो असर पार्ने उनको तर्क हो। भने, ‘आन्दोलन होला। त्यहाँ एउटा मानिस मर्ला। त्यसले नेताहरूलाई केही नगर्ला तर मर्नेको परिवार, समाजलाई पर्ने मनोवैज्ञानिक आघात कस्तो होला?’

फिल्म निर्देशक प्रदीप भट्टराई पनि देशको राजनीतिक परिस्थितिका कारण आफू अन्यौलमा रहेको बताउँछन्। चैतमा छायाँकनका लागि निस्कने गरी फिल्मको तयारी गरिरहेका छन् उनी। तर, वैशाखमा चुनाव हुने हो भने छायाँकन योजना प्रभावित हुने निश्चिन्त भएको सुनाउँछन्। भन्छन्, ‘एउटा फिल्म रोक्किनुले देशको अर्थतन्त्रमा असर नपार्ला तर फिल्मसँग जोडिएका थुप्रैको जीवनमा ठूलो अर्थ राख्छ।‘

प्रधानमन्त्री ओलीले चालेको कदम ठीक वा बेठीक भन्ने पक्षमा छैनन् उनी। चाहन्छन्, अदालतले चाँडै निर्णय गरिदिओस्।

‘ठीक रहेछ भने त्यसले व्यवस्था परिवर्तन गर्ला। देशमा सबैकुरा राम्रैराम्रो होला,’ उनले प्रश्न गरे, ‘यदि बेठीक र स्वार्थपूर्ण रहेछ भने? हामीले सत्तामा रहेकालाई कसरी विश्वास गर्ने? किन गर्ने पटकपटक मतदान?’

उनी जसले कानून बनायो उसैले मिचेको रहेछ भने आफूहरूलाई स्वीकार्य नहुने बताउँछन्। देश चलाउनेले आफ्नो स्वार्थका लागि कानूनको दुरुप्रयोग गर्छ भने आफू आम जनताको हैसियतले मतदान नै गर्न नजाने बताए। कोभिड-१९ महामारीपछि आफ्नो ध्यान दर्शक आकर्षित गर्ने फिल्म निर्माणमा भएका र योजनाहरूमा राजनीतिक घटनाक्रमले निकै असर पुर्‍याएको बताउँछन्।

‘फिल्म हल खुले पनि मानिस आएका छैनन्। बिस्तारै कोरोना बिर्साउने खालको फिल्म बनाउनु छ। हलमै गएर हेरौं भन्ने खालको फिल्म। यस्तो अवस्थामा आन्दोलन बन्द, हड्ताल भयो भने? दर्शकका लागि त झनै त्रासदीपूर्ण बन्छ अवस्था,’ भट्टराईले भने।

राजनीतिक घटनाक्रमले देशको फिल्मलगायत अन्य उद्योगमा कोरोना भाइरसले भन्दा ठूलो महामारी निम्त्याएको तर्क अघि सारे।

नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल भने संसद विघटन हुनुले नेपाली फिल्म क्षेत्रमा कुनै किसिमको असर नगरेको बताउँछन्।

‘फिल्म क्षेत्र कोरोनाका कारण एक वर्षदेखि ठप्प छ। बिस्तारै हल खोल्ने सिफारिस सीसीएमसीले मन्त्रिपरिषदमा सिफारिस गरेको छ। भलै निर्णय हुन बाँकी छ तर राजनीतिक माहोलले यस क्षेत्रलाई प्रभाव पारेको छैन,’ उनले भने।

फिल्म क्षेत्र चलायमान भएसँगै सिनेमा घरहरूले सरकारको तर्फबाट कोभिड-१९ विरुद्ध सुरक्षा सामाग्रीहरू सहयोग पाउने बताए। त्यस्तै, यस वर्षको कर तथा भ्याटमा छुट हुनसक्ने विषयमा पनि आशावादी सुनिए। भने, ‘हामीले पहल गरिरहेका छौं। सञ्चार मन्त्रालयले अर्थ मन्त्रालयमा प्रस्ताव पनि गरेको छ। निर्णय हुन बाँकी छ। बोर्डको तर्फबाट प्रयास जारी रहन्छ। अन्य घटनाक्रमले असर गर्दैन।‘

फिल्मकर्मी दीपकराज गिरी भने हालको राजनीतिक अस्थिरतालाई एमाले र माओवादी गठबन्धनको नतिजाको संज्ञा दिन्छन्। ‘एकLकरण नै अप्राकृतिक र गलत थियो। त्यसैले निम्त्याएको समस्या हामी सबैले भोग्नु परेको छ,’ उनले भने।

आफू प्रधानमन्त्रीको निर्णयलाई ‘ऐतिहासिक’ पनि नभन्ने र ‘खत्तम’ पनि नभन्ने प्रष्ट पारे। किनकि उनी पनि आक्रोशमा आएर सही वा गतल छुट्याउनु भन्दा पनि अदालतको निर्णय पर्खनु उचित ठान्दा रहेछन्। ‘तर ५ वर्षका लागि सरकार स्थिर रहन्छ भन्ने आशाले मतदान गरेका जनताका लागि ३ वर्षमै यो स्थिति आउनु गलत हो। यसरी संसद भङ्ग हुनु चाहिँ उचित भएन,’ उनले भने।

राजनीतिक घटनाक्रमहरूले नै जनतामा राजनीतिप्रति वितृष्णा जगाएको उनको विचार छ। त्यसैले अब हुने राजनीतिक प्रदर्शन, सडक आन्दोलन, जुलुस हिंसाले फिल्मकर्मीलाई असर पारे पनि पार्टी वा व्यक्तिबिचको द्वन्द्वले असर नगर्ने बताए। ‘काममा रोकटोक नभएसम्म काम गरिरहने हो। राजनीतिमा चासो नराखी आफ्नै सुरमा काम गर्न त पाइन्छ नि, ’ प्रश्न गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell