PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

इतिहास दोहोरिने छैन !



इतिहास दोहोरिने छैन !

- शिशिर वैद्य

सितलामाजु स्वहुने परजाया गथिन हवाल

न्यना मदु खना मदु कचिमचा तय मदु

महाराजया हुकुम जुल ....

स्वामि जुजुया धर्म मदया कचिमचा वाके छोत

वनेमाल तामाखुसि पारि.....

राग कहुकोला, ताल परतालमा गाइने यो नेपाल भाषाको लोकगीतले विवेक हराएपछि शासकहरु कति क्रूर बन्दछन् भन्ने बयान गर्दछ। नेपालको इतिहासमा क्रूर र विवेकहिन शासकका थुप्रै उदाहरण छन्। तीमध्ये रणबहादुर शाहको इतिहास पढ्दा, उनको विवेक गुमेर क्रूरताको पराकाष्ठा नाघेको देखिन्छ।

उनले के गरे भन्दा पनि के मात्रै गरेनन् भन्ने प्रश्नको उत्तर सजिलै भेटिन्छन् इतिहासका पानामा। त्यसैले ‘रणबहादुर शाहलाई शाहवंशीय राजाहरुको इतिहासमा पागल, कामुक, निष्ठुर, नास्तिक आदि विभिन्न अपशब्दका उपाधी जोडेर तथा विभिन्न हत्याकाण्डको आरोप लगाएर हेर्ने गरिएको छ’ (श्री ५ रणबहादुर शाह : चित्तरञ्जन नेपाली)।

लोकमा चलिआएको किंवदन्तीलाई उदृत गर्दै चित्तरञ्जन नेपाली लेख्छन् – ‘जुन देवीदेवताप्रति आशा गरी रणबहादुर शाहले पूजा–दान गरेका थिए, आखिर त्यसबाट केही लाभ नभएपछि देवताप्रतिको उनको सद्भावना घृणामा परिणत हुन गयो। यसैको प्रतिक्रिया स्वरुप उनले राजधानीका अधिकांश मन्दिर र देवताका मूर्तिलाई नष्ट गर्न थाले। उनले गुह्येश्वरीमा बाँस गाड्न लगाए, तलेजुको मूर्तिलाई मुर्दाझैं बाजा बजाएर लगी करवीर मसानमा मुख्य पुजारीद्वारा दागबत्ती गर्न लगाई पोलिदिए र हारतीमाईलाई टुक्राटुक्रा गरी फोडिदिए।’

'पाटनका कुम्भेश्वरलाई फोहर मैलाको लेप लाईदिई फोहरमैलाको धूप दिन लाए। सिम्भूका हारती, देगुतले तलेजु, शीतला भैरव क्षेत्रपाल आदिका मन्दिर मूर्तिहरु बिगारिदिए। यी देवताको सरकारी गूठी पूजा पनि रोकिदिए। रणबहादुर शाहको क्रूरताको बयान यहिं रोकिंदैन,' नेपाली अगाडि लेख्छन् – ‘मूर्ति तोड्ने कार्यपश्चात् रणबहादुर शाहको क्रोध गएर बज्रिन पुग्यो बिफर नआएका कलिला बच्चाहरुमाथि। उनले बहुलठ्ठीपनामा शहरका समस्त कलिला बच्चाहरु (कचिमचा) जसलाई एकचोटि पनि (सितला रोग) बिफरको रोग लागेको थिएन, काठमाडौं उपत्यकाबाट निष्कासित गर्न लगाए। शहरभरि हाहाकार मच्चिन थाल्यो। बिफर नआएका आफ्ना बालबच्चाहरु बोक्दै उनीहरुका आमाबाबुहरु शहर छोडेर जानथाले।’

यसरी आफ्नो गाउँठाउँ छोड्दा उनीहरु गहभरि आँसु र मुटु भरि वेदना बोकेर विरह गीत गाउँदै गए। माथि प्रस्तुत गरिएका हरफ त्यही विरह लोकगीतबाट साभार गरिएको हो। करुणारसले भरिएको उक्त लोकगीत अन्यन्त मार्मिक छ। राजाको विवेकहिनताका कारण अनाहकमा दुःख पाएका उपत्यकाका जनताको मनको व्यथा सुन्न सकिन्छ गीतको बोलमा। लालाबालालाई काखी च्याप्दै, ख्वप (भक्तपुर), भ्वत (बनेपा), पलान्चोक, दोलालघाट, दोलखा हुँदै तामाकोशी पारि पुगुन्जेल सम्म थुप्रै बच्चाहरुले प्राण त्यागे। यसरी प्राण त्यागेका बच्चाहरुलाई राजाका सिपाहीहरुले न जलाउन दिए, न गाड्न। मुटुमाथि ढुँगा राखेर आमाबाबु धुरुधुरु रुँदै आ–आफ्ना बच्चालाई तामाकोशीमा बगाउन बाध्य भए। लोकगीतमा ती आमाबाबु विद्रोही स्वरमा गाउँदै भन्छन्–‘हे ! स्वामी महाराज तिमीले धर्म छाड्दा, हामीले आफ्नो बच्चा गुमायौं। बास गुमायौं। परिवार गुमायौं। हे ! क्षत्रपति महाराज रणबहादुर यो के गर्‍यौ तिमीले।

यति मात्रै होइन, ‘रानी कान्तिमतीको मृत्यु भएपछि रिस र शोकले व्याकुल भएका रणबहादुरले कान्तिमतीलाई ओखती गर्ने देउपाटने मिल्ह्या वैद्यको घरमा आगो लगाइदिए। तिनको हात कोलमा लगी किचाइदिए। कान्तिमतीलाई ओखती गर्ने वैद्यहरु मारिए तथा तिनका घर पोलिए,’ पण्डित सुन्दरानन्दविरचित तथा धनबज्र बज्राचार्य सम्पादित ‘त्रिरत्न सौन्दर्य गाथा’मा लेखिएका छन् यी कुरा।

शाहवंशीय राजा रणबहादुर शाहको क्रूरताको मारमा पर्नेहरुमा पाटन, सौगलका वैद्यहरु पनि थिए। उपचार गर्ने क्रममा रानी कान्तिमतीको मृत्यु भएपछि राजाको क्रोधको शिकार बनेका त्यहाँका वैद्यहरु त्राही त्राही बनेका थिए। रानी कान्तिवती विरामी हुँदा राजा रणबहादुर शाहले थुप्रै वैद्यहरुलाई उपचारका लागि बोलाएका थिए। तीमध्ये सौगलका वैद्यहरु पनि थिए। नेपाल अधिराज्यका सर्वशक्तिमान क्षत्रपति महाराज रणबहादुर शाहकी रानीको उपचार गर्न सजिलको कार्य थिएन। रानीको हात छाम्न, नाडि समाउन पाईंदैनथ्यो। विरामी रानीलाई जाँच्न काँचो धागो रानीको नाडीमा बाँधिन्थ्यो। लामो धागो समातेर वैद्य खोपी बाहिर बस्थे। त्यहि काँचो डोरीको कम्पनको भरमा उपचार गरिन्थ्यो। यसरी उपचार गर्दा पनि विरामी ठिक पार्थे वैद्यहरु ऊबेला। तर सितला रोगले ग्रस्त रानी कान्तिवतीको उपचार हुन सकेन। रानीको अवस्था झन् बिग्रियो। शरीरको ठाउँ ठाउँमा फोका उठे। यो देखेर राजा रणबहादुर शाह क्रोधले आगो भए र उनी विवेकहिन बने। त्यसैले ओखती गर्ने ति वैद्यलाई शुलीमा चढाउन आदेश दिए।

भनिन्छ वैद्यले खुवाएको औषधीमा पारो मिसिएको थियो। यसरी बनेको औषधी सेवन गर्दा चिल्लो नखानु भनेका थिए वैद्यले। तर, रानीले आहारमा परहेज नगर्दा रोगले झन्झन् च्याप्दै लग्यो। राजा रणबहादुर शाहले यो कुरा पछि थाहा पाए। उनलाई ग्लानी भयो र वैद्यका परिवारलाई फेरि राजवैद्यका रुपमा प्रतिस्थापित गरे। हरिएका सम्पत्ती फिर्ता गरिए। विभिन्न पुस्ताका मानिसहरुले सुनाउँदै आएको यो घटना कथा जस्तो लाग्छ। तर रणबहादुर शाहको क्रोधबाट पिडित वैद्यका सन्तानहरु अझै छन् पाटन, सौगलमा।

पूर्णिमा पत्रिकाको वर्ष ३५ अंक ४मा प्रकाशित महेशराज पन्त लिखित ‘पाटन सौगलका वैद्य’ शिर्षक रहेको लेखमा पाटन सौगलका वैद्यहरुका झण्डै अढाईसय वर्ष भित्रका अर्थात खुलाएर भन्दा वि.सं १५७४ देखि १८२२ भित्रका २८ वटा लिखत समेटिएको ऐतिहासिक प्रमाण प्रस्तुत गरेका छन्।

पन्त लेख्छन् – यी वैद्यहरुका सन्तान अहिले को हुन् भनी भन्न नसके पनि अनुमान गर्ने आधार भने पाइएको छ। वि.सं १९६३ मा सौगलसँगै लामलमा जन्मेका सिद्धिगोपाल वैद्य (वि.सं २०५९ मा मृत्यु)ले आफुभन्दा अगाडिका २१ पुस्ताले वैद्य काम गर्दै आएको भनि बोलेकाले यहि वंशमा उनको जन्म भएको देखिन आएको छ।’

पन्त लिखित यो ऐतिहासिक लिखत संग्रहले पाटन सौगलका वैद्यहरुको इतिहासलाई रणबहादुर शाहको क्रूर इतिहाससँग जोड्दछ। पाटन सौगल स्थित लामल वैद्य चोकमा अझै पनि औषधी कुट्ने ओखलको छ। वैद्य कामलाई निरन्तरता दिईरहेका र वंश परम्परालाई धानीरहेका वैद्यहरु सौगलमा अझै छन्।

सत्ताको क्रूरता र विवेकहिनताका कारण जनताले कतिसम्म दुःख पाउन सक्दछ भन्ने कुरा माथि उल्लेखित ऐतिहासिक घटना क्रमले उजागर गर्दछ। विफर महामारी थियो। औषधी पत्तालागि सकेको थिएन। आफ्नी रानीको देहावसानको घटनाले विक्षिप्त र विवेकहिन एक राजाले त्यससमयको एउटा पूरै नयाँ पुस्तालाई देश निकाला गरिदिए। तड्पी तड्पी मर्न दिए।

हरेक शताब्दीमा कुनै न कुनै महामारी झेलेको छ संसारले। हामीले पनि झेलेका छौं। अहिले कोरोना महामारीलाई झेल्दै छौं। तर एक्काइसौं शताब्दीमा महामारीसँग लड्न गरिनु पर्ने तयारीमा सरकार पूर्ण रुपमा चुकेको स्पष्ट भइसकेको छ। सरकारको विवेकहीनताले त्यस समयका राजाहरुको क्रूरतालाई पनि माथ गरेको छ।

सरकारका मुखिया बेसार पानी र हाच्छ्यूँ साच्छ्यूँले महामारीलाई उडाउनु पर्छ जस्ता निर्बुद्धिपूर्ण तर्क गर्छन्। भाइरस निर्जिव हो भन्छन्। कहिले के भन्दछन् कहिले के भन्दछन्। कोही कोरोना ब्लकर जस्ता जन्तर बाँड्दै हिंड्छन्। सरकार र नेताहरुका यस्तै आचरणका कारण निर्दोष युवाहरु भने सरकारले बनाएको क्वारिन्टाइनमा जीवनजल नपाएर छटपटाएर मरेका छन्।

महामारीले संसारमा नयाँ रुप धारण गरेर वितण्डा मच्चाउन थालेको छ। यता हाम्रो सरकारले संसद् भंग गरेर चुनावको विवेकहिन निर्णय गरेको छ। आफ्नो असक्षमता ढाक्न जनतामाथि सामाजिक दुरी कायम नगरेको, मास्क नलगाएको आरोप थोपर्न लज्जाबोध सम्म नगर्ने सरकार हजारौं मानिस जम्मा गरेर आमसभाहरु आयोजना गरिरहेको छ। जनताको उपचार गर्न रकम छैन। तर के भन्नु ? ऊसँग चुनावका निम्ति पैसा छ। जनताको करबाट सञ्चालित गणतान्त्रिक संघीय सरकार महामारीको प्रकोपमा परेका जनताको उपचार गर्ने दायित्वबाट पछि हट्नु विवेकहीनताको पराकाष्ठा हो।

यस्ता घटना प्रति न सरकार लज्जित छ न नेताहरु नै। राजा रणबहादुर शाह जस्तै वर्तमान समयका नवमहाराजहरु क्रूर र विवेकहिन बन्दै गएका छन्। जनतामा आक्रोश बढ्दै छ। उहिलेका जनता लालाबाला बोकेर देश छाडेर तामाकोशी पारि पुगेका थिए। अहिलेको पुस्ता कहिं जानेवाला छैनन्। नेताहरुको विवेकहिनताले पराकाष्ठा नाघिसकेकोले यि असक्षम नेताहरुलाई पाखा लगाउन अर्को विद्रोह आवश्यक बनेको छ। नयाँ पुस्ताले कुन ढंगले यो विद्रोहको नेतृत्व गर्ने हुन् त्यो त समयले नै देखाउला।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell