PahiloPost

Jul 1, 2024 | १८ असार २०८१

ग्यास उद्योगका कर्मचारी र सुरक्षाकर्मीलाई तालिम, दुर्घटना भए कसरी जोगिने-जोगाउने?



ग्यास उद्योगका कर्मचारी र सुरक्षाकर्मीलाई तालिम, दुर्घटना भए कसरी जोगिने-जोगाउने?

वीरगंज : एलपीजी ग्यास प्लान्ट वा अन्य अतिप्रज्वलनशील पदार्थका कारखानामा सानो असावधानी दुर्घटनाको कारण बन्छ। दुर्घटनाले उद्योगमा मात्रै क्षति हुँदैन, कामदार-कर्मचारीको ज्यानै जाने जोखिम हुन्छ।

यस्ता घटना भइहाले कसरी आफू जोगिएर ज्यानमालको सुरक्षा गर्ने भन्नेबारे वीरगंजमा तालिमको आयोजना गरिएको छ। उद्योगका कामदार-प्राविधिकका लागि आयोजित तालिममा नेपाल प्रहरी र सशस्त्र प्रहरीका जवानहरू पनि सहभागी भए।

यस्ता कारखानामा हुन सक्ने आगलागी नियन्त्रणको विषयमा शुक्रबार कामदार र सुरक्षाकर्मीलाई तालिम दिएको हो। बारा-पर्साका एलपी ग्यास उद्योगीहरुको संयुक्त आयोजनामा वीरगंज–२१ परवानीपुरस्थित मनोज ग्यास प्रालि परिसरमा उक्त तालिम भएको हो।

तालिममा पर्साका मनोज ग्यास, सुपर ग्यास, बाराका लियो–बारा, जगदम्बा, अम्बर ग्यासका प्राविधिक, कामदार, वीरगंज महानगरका बारुणयन्त्रकर्मी, नेपाल प्रहरी प्रदेश २  विपद् व्यवस्थापन गुल्म र सशस्त्र प्रहरीलगायत ७५ जना सहभागिता थियो। यस्तो तालिम तीन वर्षदेखि बेला बेलामा आयोजना हुँदै आएको छ।

शुक्रबार सहभागीलाई भारत कोलकाताको पोद्दार फायर प्रोटेक्सनका प्राविधिक समीर दास र सोमी चटर्जीले अग्नि नियन्त्रण र त्यस्ता घटनामा तत्काल गर्नुपर्ने उपाय सिकाए।

सुरक्षाका अधिकतम उपाय गर्ने गरिए पनि यदाकदा दुर्घटना भइरहने भएकाले तालिमको आयोजना गरिएको मनोज ग्यास उद्योगका सञ्चालक मनोजकुमार दासले बताए। उनका अनुसार प्रहरी र आयल निगमका पदाधिकारी पनि तालिम कार्यक्रममा सहभागी भएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell