PahiloPost

Nov 1, 2024 | १६ कात्तिक २०८१

चुनाव भए प्रचण्डले पनि भाग लिने देउवाको दाबी, 'गराएन भने ओली नेपालमा बस्नै नसक्ने अवस्था आउन सक्छ'



चुनाव भए प्रचण्डले पनि भाग लिने देउवाको दाबी, 'गराएन भने ओली नेपालमा बस्नै नसक्ने अवस्था आउन सक्छ'

काठमाडौं : नेपाली कांग्रसका सभापति शेरबहादुर देउवाले संसद विघटनको विषयमा सर्वोच्च अदालतले गरेको निर्णय मान्नुपर्ने बताएका छन्। शनिवार काठमाडौँमा आयोजित विरोध सभामा सभापति देउवाले संसद विघटनको विषय सर्वोच्च अदालतमा विचाराधिन मुद्दा भएकाले अदालतले जुन निर्णय गरेपनि मान्नुपर्ने बताएका हुन्।

अदालतमा विचाराधिन मुद्दामा जुलुश निकालेर दबाब सिर्जना गर्न नहुने देउवाको भनाई छ। जुलुशको आधारमा अदालतले निर्णय गर्ने नभई अदालतले विवेक पुर्‍याई संवैधानिक मूल्य र मान्यता अनुसार निर्णय गर्ने देउवाको भनाई थियो।

निर्वाचन भयो भने निर्वाचनमा जान नेपाली कांग्रेस तयार रहनुपर्ने उनले बताए। जनतामा जाँदा केही नबिग्रिने भन्दै सभापति देउवाले सर्वोच्च अदालतभन्दा ठुलो अदालत जनता भएकोले जनतामा जाने मौका आउँदा कांग्रेस भाग्नु नहुने उनको भनाई छ। देशमा कम्युनिष्ट शासनबाट मुक्ति पाउन र प्रजातन्त्रको रक्षाको लागि जनताको जानुपर्ने देउवाले बताए।

अदालतले निर्वाचनमा जाने निर्णय गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन गराएनन् भने नेपाली जनताले ओलीलाई सडकबाटै हटाउन बाध्य हुने देउवाको भनाई रहेको छ। निर्वाचन नगरे प्रधानमन्त्री ओलीलाई जनताले नेपालमा बस्नै नदिने अवस्था बनाउन सक्ने देउवाको भनाई थियो। देउवाले भने, '६ महिना होस् या २ वर्षमा चुनाव हुनुपर्दछ। चुनाव गराएन भने ओलीलाई सम्पूर्ण जनताले नेपालमै बस्न नसक्ने अवस्था आउन सक्छ। यो कुरा ओलीले बुझेकै होला। चुनाव भयो भने प्रचण्डजीहरुले पनि भाग लिन्छन्।'

प्रधानमन्त्री ओलीले निर्वाचन गराउने प्रतिवद्धता जनाएको भन्दै उनले निर्वाचन हुने विश्वास व्यक्त गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell