
जनकपुरधाम : नेपाललाई हिन्दु राष्ट्र कायम गर्नुपर्ने माग गर्दै जनकपुरमा प्रदर्शन गरिएको छ। नेपाललाई संघीय गणतन्त्र सहितको हिन्दु राष्ट्र कायम गर्न माग गर्दै राष्ट्रिय एकता अभियानले जनकपुरधाममा प्रदर्शन गरेको हो।
जनकपुरधामको रेलवे स्टेशनबाट निस्केको र्याली नगरका विभिन्न भागको परिक्रमा गर्दै जनक चोकमा पुगी कोण सभामा परिणत भएको थियो। सो कोण सभालाई सम्बोधन गर्दै राष्ट्रिय एकता अभियानका अध्यक्ष विनय यादवले विदेशी डलरको लालचमा विचौलीया नेताहरुले नेपाललाई संघीयताको नाममा सनातन हिन्दु राष्ट्रबाट हटाई धर्म निरपेक्ष बनाइएको आरोप लगाए।
‘हामी संघीयता विरोधी होइनौँ तर संघीयताको नाममा हाम्रो हिन्दु धर्म, सभ्यता, संस्कृति र पहिचानमाथिको प्रहार कुनैपनि हालतमा स्वीकार्य छैन। हामी लोकतन्त्र पक्षधर भएको हुनाले संघीय गणतन्त्र सहितको हिन्दु राष्ट्रका लागि अभियान मार्फत हाम्रो आन्दोलन जारी रहनेछ’, अध्यक्ष यादवले भने, ‘संघीयताको नाममा हिन्दु राष्ट्रलाई मात्र समाप्त पारिएन मुलुकमा भ्रष्टाचारलाई समेत प्रश्रय दिएको कारण हाम्रो आन्दोलन भ्रष्टमुक्त, विकासशील र हिन्दु राष्ट्रका लागि जारी रहनेछ।’
कार्यक्रममा अभियानका उपाध्यक्ष सुनिता साहले संघीयता अवसरबाट बञ्चित रहेका मधेसी, आदिवासी जनजाति, दलित पिछडिएको वर्गको स्तरोन्नति, विकासमा पहुँचका लागि भनेर ल्याइएपनि अहिले त्यसको ठीक उल्टो भइरहेको छ।
त्यस्तै, अभियानका मार्गदर्शक मण्डल सदस्य खेमराज आचार्यले धर्मनिरपेक्षको नाममा हिन्दुत्वलाई समाप्त पार्ने शासक वर्गको षड्यन्त्र हामीलाई कदापी बर्दास्त नहुने बताए। उनले मुलुकलाई हिन्दु राष्ट्र कायम गराउन हदैसम्मको आन्दोलनमा जाने चेतावनी समेत दिए।