PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

काँग्रेसको प्रदेश निर्वाचन क्षेत्रको विरोध कार्यक्रम देखियो फितलो



काँग्रेसको प्रदेश निर्वाचन क्षेत्रको विरोध कार्यक्रम देखियो फितलो

  • फूलमान तामाङ-

नवलपुर : देशैभरका प्रदेश सभा निर्वाचन क्षेत्रमा झै सिन्धुपाल्चोकको क्षेत्र २ को प्रदेश क मा पनि नेपाली काँग्रेसले शनिवार विरोध प्रदर्शन गर्‍यो। विरोध प्रदर्शनपछि पूर्वमन्त्री अमरसिंह पुनको प्रमुख अतिथ्यमा इन्द्रावती गाउँपालिकाको ज्यामिरेमानेमा भयो कार्यक्रम।

तर, यसपटक कार्यक्रममा अघिल्ला विरोध कार्यक्रममा झैं काँग्रेस कार्यकर्ताले खासै उपस्थिति नजनाउँदा फितलो देखियो कार्यक्रम। यसो त यस प्रदेश क्षेत्रमा प्रदेश कार्यसमितिले कार्यक्रम गर्ने जिम्मेवारीबाट पन्छिएकोले पनि हुन सक्छ विकल्पका रुपमा जिल्ला कार्यसमितिले आयोजना गरेको कार्यक्रम जिल्ला सहसचिव अनुप न्यौपानेले सभापतित्व सम्हालेका थिए।

कांग्रेस आमन्त्रित जिल्ला सदस्य मनोज सिग्देलको स्वागतपछि शुरु भएको कार्यक्रममा वडाध्यक्षहरुको तर्फबाट इन्द्रावती ३ अध्यक्ष देवप्रसाद बानियाँले पार्टीको संगठन मजबुत बनाउन लोभ र स्वार्थमा डुब्न नहुने बताए।

पूर्वमन्त्री एवंम रोल्पा काँग्रेसका जिल्ला सभापति पुनले संविधानमा व्यबस्था नरहेको अधिकार प्रयोग गरेर प्रतिनिधि सभा भंग गरेको उल्लेख गर्दै ओली सरकारले चुनावै नगराउने ठोकुवा गरे। 'ओली सरकारले चुनाव पनि गराउँदैन। चुनाव हुन्छ भन्ने लोभमा नपर्न आग्रह छ मेरो। देशमा यस्तो हालत कोरोना कहर छ अर्थतन्त्र डामाडोल कसरी हुन्छ चुनाव? चुनाव हुन्छ भनेर नपत्याउनु,' पुनले भने।

विशेष अतिथीका रुपमा रहेका काँग्रेस जिल्ला सभापति लामाले संसद विघटन असंवैधानिक भएकोले यो कदम सच्चिनु पर्ने र सर्वोच्चले न्यायपुर्ण रुपमा फैसला नगरे त्यसको प्रतिवाद आफूले गर्ने पनि बताए। सर्वोच्चले जबर्जस्ती चुनाव गराउन खोजे कांग्रेस चुनावमा जान पछि नपर्ने उनको भनाई थियो। चुनावमा होमिन कांग्रेसले विरोध गरेको होइन संविधानको रक्षा गर्न विरोध गरेको लामाले बताए।

सभापति लामाले कांग्रेस नेपाली जनताको पक्षमा बोल्ने र रहने पनि अठोट गरे। 'दुईतिहाईको सरकार तुहियो, जनतालाई दुख दिन पाइदैन,' लामाले भने।

यसै प्रदेशका कांग्रेस उम्मेदवार विकास तामाङले राष्ट्रपति विद्यादेवी भण्डारी प्रधानमन्त्री ओलीको रबर स्ट्याम्प जस्तो भएको आरोप लगाए। 'रबर स्ट्याम्पजस्तै। जे सिफारिस गर्दा नि अनुमोदन गर्दिने। चुम्बक र फलामजस्तो टाँसेर देशको इज्जतमाथि खिया लगाए, दाग लगाए। त्यत्रो जनताले सत्ता चलाउन दुईतिहाइ बनाइदिए तर त्यसको घोर अपमान भयो,' तामाङले भने।

यता गाउँपालिका राष्ट्रिय महासङघका महासचिव एवम् इन्द्रावती अध्यक्ष वंशलाल तामाङले प्रतिनिधि सभा विघटन कार्य तानाशाही भएको बताए। काँग्रेस जिल्ला उपसभापति शिव सुनारले ओली सरकार मह जोडी भन्दा ठूलो कमेडियन भएको आरोप लगाए।

नेविसंघ जिल्ला अध्यक्ष दावा लामाले नेकपाको सरकारले जनमतको अपमान गरेको दाबी गरे। इन्द्रावती गाउँपालिकाकी उपाध्यक्ष मीरा अधिकारी लामाले संसद विघटन गरी देशमा भाँडभैलो गरेको आरोप लगाउँदै सरकारले जनताको घर भत्काइदिएको आरोप लगाइन्।

यता युवा सजगता अभियान सिन्धुपाल्चक का संयोजक क्षेत्रबहादुर तामाङले पद र पावर को धमास देखाउने विकास गर्न नचाहने पार्टीलाई आफूमा आफ्नो परिवारवादमा सीमित र बन्धक बनाउन खोज्दा देशमा यस्तो हालत भएको दाबी गरे।  'यसको म घोर भर्त्सना गर्दछु। कांग्रेसभित्र पनि यस्ता बाछिटा केन्द्रदेखि स्थानीय तहसम्म देखापरेकोले यस्तो गतिविधि देश र जनताको लागि हित विपरीत हुने भन्दै त्यसको प्रतिवाद गर्न हामी युवाहरु सजग भएर लाग्नुपर्छ,' उनले भने।

कार्यक्रममा संचालक रुपमा रहेका जिल्ला सचिव बिलबहादुर तामाङले जनताको जनभावना विपरीत काम नेकपा सरकारले गरेको बताए। विरोध कार्यक्रममा क्षेत्रीय सभापति आइतमान तामाङ, इन्द्रावती सभापति फुर्पा तामाङलगायतका नेताहरूको उपस्थिति रहेको थियो।

सिन्धुपाल्चोकमा पनि ४ प्रदेश निर्वाचन क्षेत्रमा विरोध कार्यक्रम आयोजना भयो। क्षेत्र २ को प्रदेशसभा ख को विरोध कार्यक्रमलाई केन्द्रीय सदस्य विष्णुविक्रम थापाले सम्बोधन गरे। क्षेत्र १ को प्रदेश क र ख को विरोध कार्यक्रमलाई केन्द्रीय सदस्य मोहन बस्नेतले सम्बोधन गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell