वीरगंज : पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तले यौन किनबेच गर्ने कुरा नभएको बताएकी छिन्। होटल तथा पर्यटन व्यवसायी संघ वीरगंजले आयोजना गरेको सम्मान तथा विदाई समारोहलाई सम्बोधन गर्दै उनले होटल व्यवसायीलाई इमान्दारीका साथ व्यवसाय सञ्चालन गर्न सुझाव दिइन्।
‘कोरोना महामारीमा वीरगंजका होटल व्यवसाय थलिएका छन्, ठूलो घाटा लागेको छ, तर मैले धेरै कडाई पनि गर्न सकिनँ’, उनले भनिन्, ‘होटलहरुमा यौन व्यवसाय पनि चल्छ भन्ने सुनिन्छ, यदि त्यस्तो हुने गरेको छ भने त्यसलाई सच्याउनु होला।’
काठमाडौंमा हुँदा होटलमा त्यस्ता घटना धेरै भेटिएको भन्दै उनले होटलको मापदण्ड र नियम अनुसार चल्नु पर्नेमा जोड दिइन्। उनले वीरगंज स्वच्छ र सफा भए यहाँको होटल व्यवसाय पनि चल्ने बताइन्। स्थानीय, प्रदेश र केन्द्र सरकारसँग वीरगंजको विकास र सफाईको सन्दर्भमा पहल गर्न उनले होटल व्यवसायीलाई आग्रह समेत गरिन्।