राष्ट्रिय कविता प्रतियोगितामा २०६८ सालदेखि कुनै पनि वर्ष भाग लिन छुटाएनन् उनले। निरन्तरताको प्रतिफल भने मिल्यो २०७३ सालमा। प्रतियोगितमा उनको कविता 'टेको' तेस्रो ठहरियो। यो जित नै थियो जसले उनका लागि एकल कविता बाचनको ढोका खोल्यो।
पहिलो एकल वाचन। शब्दशब्दमा बटुले वाहवाही। खुशी नहुने कुरै भएन। तर, त्यहीँ बजेको तालीको गड्गडाहटबीच कसैले गरेको प्रश्नले उनलाई नमीठो गरी चिमोट्यो। कसैले बोली उनको कानमा पर्यो - 'असीम सागर पनि कहीँ कवि हो?'
एउटा समूह नै थियो, उनले पुरस्कार जितेकै वर्ष उनलाई कवि मान्ने कि नमान्ने भन्ने विवाद चर्काउने। त्यो विवाद कविहरूको समूह पोखियो, सामाजिक सञ्जालका भित्ताहरुमा रङ्गियो। असीम सागरले पत्तो पाएनन्, ती प्रश्नहरु उनको पहिचानमाथि थियो या सिर्जनामाथि? घटनाले निराश बनाइरह्यो उनलाई।
तर, उनलाई विश्वास थियो आफ्ना – भोगाइहरूमा अनि ती भोगाइले जन्माउने कविताहरूमा।
'मैले सधैं अनुभूतिलाई शब्दमा उतारेँ। थाहा छैन कवि बन्न कुन शुत्र अनुसार कविता लेख्नुपर्थ्यो। तर, मलाई विवादले असर गरेन। आलोचना स्वीकारेँ। लेखिरहेँ,' असिमले सुनाए।
असीम सागरले भनेजस्तै न उनको जीवन फर्मुलामा चल्यो न कलम नै। हरेक आरोह, अवरोह भोगिरहे। बाँच्दा भोगेका आँशु र हाँसोलाई कहिले क्यानभासमा पोते त कहिले शब्दहरुमा उतारे।
+++
घरका जेठा छोरा फत्तेमान श्रेष्ठ। उनी पछाडि पाँच भाइ र तीन बहिनी थिए। बुढा भएका बुबा र आमा – परिवारप्रतिको जिम्मेवारी काँधमा बोकेर अरु झै भारत पसे उनी। त्यस समय गाउँ अर्घाखाँचीबाट केटाहरू भारततिर लाग्थे, कमाउने उद्देश्यका साथ।
फत्तेमानका बुबा कृष्णप्रसादलाई छोरो यसरी कमाउन जाला भन्ने कुरोमा एकरत्ती पनि विश्वास थिएन। गाउँलेहरू पनि भन्थे – यो त असाध्यै सोझो छ। काम गरेर खान सक्दैन। दु:ख पाउँछ।
डेढ वर्षको उमेरमा दाहिने आँखा देख्न छाडेपछि फत्तेमानले सहनुपर्ने वचन र गिज्याइ बढेको थियो। ती हेय भावले साह्रै असर गर्यो उनलाई। अजीवको मनोवैज्ञानिक असर।
नतिजा - उनमा आफैँलाई प्रमाणित गर्ने हुटहुटी जाग्यो। कमाएर घरको खर्च टार्ने ईख जन्मियो। त्यसैले साथीहरूसँगै पस्ने भए भारत।
२०४८ साल। आमा कृष्णकुमारीले ऋण गरेर हातमा राखिदिएको ४ सय रुपैयाँ र सामल बोकेर निस्किए उनी। मिल्ने साथीहरू त उनीसँगै थिए। तर, गाउँमै छुट्यो उनको चित्रकलाप्रतिको लगाव। पैसा जम्मा गरेर किनेको कलम र सादा कापी पनि।
अपमानविरुद्ध बोल्न नसक्दा चित्रमा कोर्थे दु:ख। सोचेका थिए, गाउँबाट टाढा पुग्दा वचन लगाउने कोही रहँदैनन्। सबै साथी बन्छन्। चित्रसँग खेल्नुपर्ने बहाना बाँकी रहँदैनन्।
दिल्ली, तिमालपुरस्थित महाराज होटल। आफैँ कमाउन थाल्नुको खुशी अटाइनअटाइ थियो मनमा। सुरुवाती दिनमा घण्टौंसम्म भाडा माझ्दा हातभरी चोट लाग्थ्यो। ती चोटले पनि दु:खाएन उनलाई।
तर, बिस्तारै जुठा भाडा माझ्ने र होटल सफा गर्ने आफूजस्तै 'बहादुर'हरूको नियति थाहा पाए, मालिकको व्यवहार बुझे - इज्जत र सय/पचास बढी रकमको आशामा काम फेरिरहे। कहिले चप्पल उद्योगमा त कहिले पाइप वा धागोको कारखानामा। घरी दिल्ली घरी गोवा। भुगोल फेरे पनि भोग्नुपर्ने नियती चाहिँ उही - कामको चाप अनि मालिकको पेलान। घरीघरी सोच्थे – देश नै फर्कुँ। कुटो/कोदालो गरेर खाउँ। तर, सोचलाई सधैं ईखले बाँध्यो।
आखिर गरेर त देखाउनु थियो। त्यसका लागि अभावको लामो यात्रामा हिँडे उनी।
पाइप उद्योगमा काम गरिरहँदा त्यहाँबाट निस्किने धुँवाको असरले उनलाई नराम्ररी लडायो। हालत यति बिग्रियो कि रगत नै वान्ता गर्ने अवस्थामा पुगे। त्यतिखेर उपचारका लागि पैसा थिएन, थलिनुको विकल्प पाएनन्।
अभावकै कारण रेल स्टेसनमा जीवन बिताउनुको अनुभव पनि थपियो। मालिकले गर्ने तिरस्कारकै कारण घरको छतबाट डोरी टाँगेर भाग्नुको अनुभव पनि भोगे। त्यहाँ बधुँवा मजदुर बनाएको अस्तिजस्तो लाग्छ उनलाई। चोरीको आरोप, शारीरिक अनि मानसिक यातना त अनगिन्ति।
हेय, अभाव, अप्ठ्यारा, घरको याद, भाषाको समस्या र एक्लोपन। मनभित्रको उकुसमुकुस पोख्नकै लागि लेख्न थाले उनले।
चित्र कोर्न त समय लाग्थ्यो। त्यसका लागि फुर्सद नै बेफुर्सदिलो।
'कहिले काहीँ जुर्ने खाली समयमा मुक्तक लेख्न थालेँ। सँगै बस्ने साथीहरूलाई सुनाएँ। कथा, व्यथा मिलेर हुनसक्छ प्रायले मन पराउँथे। हौसला दिन्थे,' लेख्न थाल्दाको परिस्थिति सुनाए उनले।
सजिलो भने थिएन। लेख्नका लागि लुक्नुपर्थ्यो। समुद्रको किनार वा शहरको कुनै बगैंचामा पुग्नुपर्थ्यो। विश्रामका लागि पाइने छोटा समयमा पनि डायरी र कलम लिएर निस्कन्थे उनी।
कापीमा अक्षर कुँद्थे। दिमागमा ती भावना चित्र बनेर सल्बलाउँथे।
तर, चित्रप्रतिको लगाव गाउँमै छाड्नु परेको थियो, क्यानभास चिन्नु अगावै, कलमको लिडका आकार र रङका प्रकार जान्नु पहिले नै।
संयोगवस् रङ चिन्ने मौका जुर्यो फत्तेमान काम गर्न पुगेको एक घरमा। त्यहाँ उनी इन्दिरा गान्धी एयरपोर्टमा जागिर पाइने आशाले पुगेका थिए। तर, काम त घरको भाडा माँझ्ने, लुगा धुने, सर-सफाइ गर्ने पो रहेछ!
मालिक एयरपोर्टकै उच्च अधिकारी डीभी गर्ग थिए। उनका दुई छोरी। एकदिन उनीहरूले गृहकार्य गरेको हेर्दै थिए फत्तेमान। उनीहरूलाई चित्र बनाउन नआएको देखेपछि चुप बस्न सकेनन्। आफैँले बनाइदिए।
त्यही घटनाले उनको चित्रप्रतिको लगावमा रङ भरिदियो। जिम्मेवारी फेरिदियो। मालिकले भने – अबदेखि अरु काम छोड। मेरा छोरीहरूलाई चित्रकला सिकाइदेउ।
भारत गएपछि पाएको पहिलो खुशी थियो त्यो उनका लागि।
मालिकले चित्रकारहरूसँग बुझेर अनेक रङ र कलम ल्याइदिए। क्यानभास जुटाइदिए। चित्रकारिता सम्बन्धी किताबहरू उपलब्ध गराइदिए।
ती किताबले रङहरूको संयोजन सिकायो। कुँचो, साबुन, झाडु र सर्फले कक्रक्क बनाएका उनलाई आफ्नै हात स्वतन्त्र बन्दै गएको महसुस भयो। शब्दमा उतार्न नसकेका भावनाहरूलाई कलम र रङमार्फत् अभिव्यक्त हुन थाले।
आफूले बनाएको मालिकको पोट्रेट घरको भित्तामा झुण्डिएको दिन सोचे – मैले यहाँ पैसाभन्दा ठूलो चिज कमाएँ।
त्यसपछि उनी रङहरूसँग खेल्ने ठाउँ खोज्दै हिँडे। त्यो हिँडाइले उनलाई नसोचेको गन्तव्यतर्फ डोर्यायो। हिँड्दै गर्दा खाएका हन्डर र ठक्करका कथा बेग्लै। तर, जहाँ पुगे, त्यहाँबाट उभिएर हेर्दा अहिले उनी स्वाभिमानको फूल फूलेको देख्छन्। ती बाटो देख्छन् ईख जसलाई छोड्दै छोड्दै हिँडे। बाटोसँगै मालिकहरूले दिएको अपमान र हेय भुले। दाम कमाएर देखाउनुपर्छ भन्ने भुलिदिए।
+++
२०५१ सालमा विवाहका लागि गाउँ आए फत्तेमान। जिम्मेवारी बढ्यो। पुन: भारत फर्कनुको विकल्प थिएन। फर्कँदा आफूभित्रको चित्रकारलाई जगाइदिने मालिकको भने सरुवा भएछ। मन नलागी नलागी फेरि फ्याक्ट्रीको धुँवा अनि होटलको जुठो भाडासम्म फर्कनु बाध्यता बन्यो।
एक पटक राजस्थानमा चित्रकारका लागि काम छ भन्ने खबर उनीसम्म पुग्यो। भारतमा भाडा माझ्न पुगेका नेपालीलाई कसले कलाकार मान्नु? तर पनि राजस्थान जाने निधो गरे। हिँडे लत्ताकपडा बोकेर।
रेल स्टेसनमा टिकट काट्नकै लागि पाँच सयको नोट बोकेर उभिएका थिए। एक भारतीय युवती उनी नजिकै आइन्। सोधिन् – दाइ पाँच सयको खुद्रा छ?
उनले केही जवाफ दिनुअघि ती युवती चिच्याउँदै रुन पो थालिन्। फत्तेमानले आफ्नो पैसा लुटेको आरोप लगाइन्। तत्काल एउटा झुण्ड मिलेर कुटपिट गरे। कसैले केही सोधेनन्। प्रश्नबिना दिइएको स्पष्टिकरण कसले सुन्नु?
मरणासन्न पारेर छाडिदिए। रेल स्टेसनबाट घिस्रिँदै अस्पताल पुगे। उपचार गराए तर तङ्ग्रन समय लाग्यो। चित्रकार बन्ने मौका फेरि गुम्यो।
केही वर्षपछि उनी नागाल्यान्ड हान्निए, आफ्नै व्यवसाय सुरु गर्ने योजनासहित। उनी साइनबोर्ड र ब्यानरहरू बनाउने पसल खोल्न चाहन्थे। रङ्हरूसँग खेल्न पाउने लोभ थियो त्यसभित्र। 'तर, ठाउँ आफ्नो नभएपछि कुनै पनि कुरा योजना अनुरुप नहुँदो रहेछ। मैले कोसिस गर्न चाहिँ छाडिनँ,' उनले सुनाए।
त्यहाँ उनले एउटा टेलिफोन बुथमा काम पाए। यो काममा तुलनात्मक रुपमा अलि बढी फुर्सद मिल्थ्यो। त्यो समयमा सायरी र मुक्तकहरू लेख्नेक्रम बढ्यो। टेलिफोन बुथमै भेटिएका एक मानिस उनको पहिलो स्रोता बने।
ती मानिससँग हो उनले आफूले लेखेको पहिलो गीत सुनाएको :
सुन चाँदी मोती औंठी र हार भएँ
मै फलामको के काम जो तलवारको धार भएँ
पैसा ठूलो यो जुनीमा गल्ती किन चाहिँदो रहेछ
बिना कारण चराजस्तै शिकारीको मार भएँ …
गीत उनले रेलवे स्टेसनमा कुटाइ खाँदाको घटनामाथि लेखेका थिए। सुनाएपछि तिनै मानिसले उनलाई कालेबुङमा हुने साहित्यिक लेखन, लेखन क्षेत्रमै पाइने अवसरहरूबारे सुनाए। फत्तेमानको मन लोभियो। हान्निए उतै।
+++
कालेबुङले फत्तेमानको कलात्मक चेत बुझ्यो। रचनाहरूको तारिफमात्र होइन, स्वस्थ आलोचना गर्यो। फक्रन लागेको कोपिलाले माली भेटेजस्तै भयो उनलाई। त्यहाँको साहित्यिक कार्यक्रम, सभा सम्मेलनबीच भेटिएका एक संगीतकर्मीले उनलाई काठमाडौं ल्याए। गीत रेकर्ड गराउने आश्वासनसहित।
'अकल्पनीय प्रस्ताव थियो त्यो। नेपाली गायक गायिकाको आवाजमा मेरो रचना रेकर्ड हुनु अविश्वसनीय हुँदाहुँदै म ती संगीतकर्मीसँग नेपाल आएँ,' उनले ती दिन सम्झिए।
भने जस्तै भयो। २०५७ मा उनले लेखेको पहिलो गीत रामकृष्ण ढकालले गाए।
उनमा आफ्नो लेखन यात्राले नयाँ मोड लिने आशा पलायो। त्यसताका हो उनी फत्तेमान श्रेष्ठबाट असीम सागर बनेको। गायक फत्तेमानसँग नाम मिले पनि उनलाई लेखन क्षेत्रमा फरक भएर चिनिनु थियो।
सुरुसुरुमा 'ठूल्दाइ' नाम जुराए। तर, काठमाडौं आएपछि आफ्ना अनुभवहरूसँग मिल्दो भन्दै आफै न्वारन गरे – अश्रु सागर।
एक सम्मेलनमा गजल सुनाउने मौका पाए उनले। प्रमुख अतिथि थिए, साहित्यकार दुर्गाप्रसाद (डीपी) भण्डारी। उनले गजल सुनेपछि फत्तेमानलाई भने – 'बडो सम्भावना बोक्नु भएको छ। तपाईं त अश्रु सागर होइन असीम सागर हो। नाम फेर्नुस्।'
त्यो सुझावले उनलाई नयाँ परिचय दियो। उनलाई बस्ने ठाउँ चाहिँ काठमाडौं ल्याउने तिनै संगीतकारले उपलब्ध गराएका थिए। जसले असीम सागरलाई आफूसँग राखेरै लेख्न लगाए, संगीत दिँदै मिल्दो शब्द रच्न पनि लगाए। तर पारिश्रमिक? शून्य।
असीम सागर बने पनि परिवारप्रतिको जिम्मेवारी बिर्सनु ठीक होइन भन्ने चेत थियो उनमा। लेखेर कमाउन नसकिने बुझेपछि भारत फर्किए। तर, अक्षरसँग खेलेर सम्मानको जीवन बाँच्न थालेका उनी, भारतमा मासिक ३ सय रुपैयाँ कमाउने काममा कसरी रमाउन सक्थे र?
'अलग चेत जागेको रहेछ ममा। खोइ किन हो कलम छाड्न सकिँन। पैसा नहोस् तर फेरि अपमानित हुन तयार थिइँन। स्वाभिमानको जीवन बाँच्छु भनेरै म नेपाल फर्किएँ,' उनले सुनाए।
२०६१ सालमा श्रीमती र दुई छोरा लिएर काठमाडौं आए। चित्र बनाए। कविता, गजल र गीत लेखे। चित्र पसलहरूमा आफूले बनाएको चित्र छोडे। पहिलो पटक काठमाडौं आउँदा चिनेका संगीतकर्मीलाई रचना दिए। तर, न कुनै चित्र नबिकेको भन्दै फिर्ता पाए न त बिकेको पैसा नै। गीत, गजलको हकमा पनि अवस्था उही।
'भोकै नमर्नका लागि भए पनि केही त गर्नै पर्थ्यो। त्यसैले ठेलामा तरकारी बेच्न थालेँ,' उनले काठमाडौंमा आएर थालेको पहिलो कामबारे प्रष्ट्याए। कारण बिनै आइपर्ने त भोकमात्र थियो। कलाको भोक मेट्न लेख्न छाडेनन्। पेटको भोक मेट्न ठेला ठेलिरहे - लगनखेल अनि पाटनका गल्लीहरूमा।
त्यससमय पसल जहाँ राखे पनि नगरपालिकाले दुत्कार्दैन थियो। तर, मानिसको स्वभावले भने सधैं हेपिएकै महसुस गरायो। केही थिए जो तोकेको आधा दाम फालेर तरकारी लिएर जान्थे। कोही ‘हाम्रो ठाउँमा आएर हामीलाई नै ठग्ने?’ भन्दै आरोप लगाउथे।
'स्वाभिमानका साथ बाँच्छु भनेर आएको। तर, मान्छेको प्रवृत्ति न हो। त्यसलाई हामीले बिहान बेलुकीको छाकसँगै पचाउनु पर्थ्यो,' उनको बुझाइ यही हो।
कलम छाडेर तराजु समाउनुमा रमाउन सकिरहेका थिएनन्। रमाउन नसक्दा उनीभित्र ‘केही गरेर देखाउँछु’ भन्ने ईख फेरि उर्लन थाल्यो।
कसैले तरकारीको ठेला ठेलिरहेको देखे के भन्लान्? उनीभित्र प्रश्न खेल्थे।
+++
२०६१ को एक बिहान, तरकारी लिन कालीमाटी गएका असीम सागर फर्किएनन्। रेडियो, टिभी, पत्रपत्रिका सबैतिर ‘मानिस हराएको सूचना’ छायो। गाउँमा हल्ला चल्यो। परिवार रोए कराए। खोजी गरे। अँह! खबर आएन। गाउँलेहरूले भने – 'त्यसले केही गर्दैन भनेकै हौं।' 'बुढी र छोराहरूको बिचल्ली पार्यो।' तर, अँह! ती वचनप्रति ईख राख्ने त्यो फुच्चे केटो कहाँ छ? कसैले थाहा पाएनन्।
असीम सागर भने पुन: कालेबुङ पुगेका थिए।
‘त्यस समय मैले हतारमा निर्णय लिएको थिएँ। सम्झन सक्दिँन मनमा के कुरा खेल्यो तर कलाप्रतिको लगावले मलाई आफ्नाहरूलाई दु:खाएको थिएँ,’ उनको बोलीमा पश्चताप झल्कन्छ।
धेरै सोचेर नेपाल आएका उनी केही नसोची फर्किए।
जे होस्, कालेबुङमा रचनात्मक समय बाँचे उनी। गजल लेखे। वाचन गर्ने ठाउँको अभाव थिएन। सुन्ने स्रोता उत्तिकै।
‘नेपालबाट साह्रै मीठो लेख्ने गजलकार आएका छन्’ भन्ने चर्चा सुन्थे। विशेषगरी ‘बसिबियाँलो’ नामक मासिक साहित्यिक कार्यक्रमले उनलाई चिनायो। त्यतिबेला कवि मनोज बोगटीले नेपाली भाषाको पत्रिका ‘हिमालय दर्पण’ र ‘सुनचरी’मा सुरज रोसुरीले उनका बारेमा लेख छापेको अझै सम्झन्छन्।
सन् २००७ मा उनले पहिलो गजल संग्रह ‘जून पोखिएको रात’ प्रकाशित गरे। त्यसपछि लगातार दुई वर्ष २००८ र २००९ मा गजल संग्रह ‘अस्तित्वका आवाजहरू’ र गजल एल्बम ‘स्वर्गको सपना’ सार्वजनिक गरे।
पहिचान कमाए। गोर्खाल्याण्ड आन्दोलन चर्कँदा त्यहाँको राजनीतिक एवं सामाजिक मुद्दाहरूमाथि कलम चलाए। ‘एउटै गजल सुनाएर ५० हजारसम्म थापेको याद छ मलाई,’ यति सुनाउँदा दङ्ग सुनिन्छन् उनी। भन्छन्, 'आखिर बोली पनि नाम हुनेहरूको त बिक्ने रहेछ।‘
नाम कमाउनु उनका लागि चित्रकलालाई पनि निरन्तरता दिने बहाना बन्यो। कालेबुङमै आर्ट एसोसिएसन स्थापना गरेर चित्रकला प्रदर्शनी गरे। गजलकार भनेर चिनिएपछि पेन्टिङ बेच्न सजिलो भयो उनलाई।
श्रीमती, छोराहरू र परिवार भने अझै बेखबर।
‘खबर पुर्याउने माध्यम पनि थिएन र साहस पनि,’ उनले भने। मोबाइल थिएन। उनलाई आफू डेरागरी बसेको घरको ठेगाना पनि थाहा रहेनछ।
२०६७ सालमा हो, आँट गरेर पत्र लेखे। श्रीमतीसँग सोधे – म घर आउँ कि नआउँ?
नाम र केही दाम बोकेर फर्किए। छोराहरू हुर्किएछन्। तर, आफूप्रतिको लगाव उस्तै कहाँ महसुस हुनु? श्रीमतीको आँखामा पहिलेजस्तो चमक थिएन। तरकारी पसलको आकार उही। उनलाई ग्लानीले छोप्यो। पहिचान हुनुको खुशी भोगे। कलाले कमाउनुको अनुभूति पनि संगाले। यसपटक अठोट लिए – अब जिम्मेवारीबाट पन्छिन्न।
त्यसपछि हो उनले तरकारी बेच्नुलाई गर्वका साथ अपनाएको। त्यो पसल जसले उनको परिवारलाई उपत्यकामा टिकायो।
पसलमा बस्न थालेपछि गमे -
‘नगरपालिकाले लखेट्दा दूधे छोरा च्यापेर कसरी भाग्थिन् होला श्रीमती?'
‘फालिएका तरकारीमाथि गाडी गुडेको दिन के खान्थे होलान् उनीहरू?’
‘तरकारी बेच्न गएकी आमाका लागि ८ वर्षको छोराले कसरी पकाउथ्यो होला भात?’
परिवारभित्रको समस्या र जिज्ञासाहरू बाहेक पसलमा आउने ग्राहकको वर्ग बुझे। समस्या महसुस गरे। मनोविज्ञान मनन गरे।
जति तोक्यो त्यही मूल्यमा किलोका किलो तरकारी लैजानेदेखि गलेका तरकारी सस्तोमा किन्न पर्खनेहरू उनको कविताका अक्षर बन्न थाले।
‘सुरुवाती दिनमा मैले भारतमा भेटेका ती मजदुरहरू कहाँ पुगे मलाई थाहा थिएन। मैले गर्ने अनुभूति र जीवनलाई हेर्ने दृष्टिकोण पनि बद्लियो। तर तिनै पात्र र अनुभवहरूले मलाई मान्नेलाई हेर्न, सुन्न र बुझ्न सिकायो,’ उनले भने, 'बुझ्न कोसिस गर्नुले मलाई कवि बनायो। भुईंमान्छेको आवाज अलि माथिकाहरूसम्म पुर्याउनु पर्छ भन्ने महसुस गरायो।'
भारतमा सँगै भाडा माझ्ने गुल्मीका रामबहादुरबारे लेखेको कविता कहाँ पुग्यो थाहा छैन। यतै थर्मसमा चिया बेच्ने राममायाको जीवनलाई अक्षरमा उतार्छन् अचेल।
भुईंमा संघर्ष गर्नेहरूको जीवनलाई नजिकबाट नियालेर। उनीहरूको भोगाइलाई अनुभूत गरेर लेखिएका कविताहरूको संग्रह ‘क’ प्रकाशित छ। उक्त पुस्तकको अग्रिम रोयल्टीबाट ५ हजार राममायालाई सहयोग गरे। राममायाका दुई दृष्टिविहीन छोरा र एक अपाङ्ग श्रीमान् छन्।
‘जसलाई कविता बनाएँ उनीहरूलाई बिर्सिएँ भने म कसरी कवि हुनसक्छु र?’, उनी आफैँलाई प्रश्न गर्छन्।
+++
समय केही बद्लिएको साँचो हो। उनका जेठो छोरो भारतीय सेनामा भर्ती भए। आमाबुबालाई तरकारी पसल नगर्न भन्छन्।
असीम सागर स्वयम् कवि गोष्ठी, सम्मेलन, कार्यक्रमहरूमा व्यस्त हुन थाले।
पैसा जम्मा गरेका छैनन्। अभावको श्रृङ्खला भने टुट्यो।
तर, अमीम सागर उस्तै छन्। उनको दैनिकी उस्तै छ। बिहान बेलुकी लगनखेल बसपार्कमा तरकारी बेचिरहेको भेटिन्छन्। नाफा वा घाटाको हिसाब किताबमा नअल्झिइ आत्मसन्तुष्टिका लागि तरकारी तौलिरहेका। तर, बाटोमा तरकारी बेच्ने भएकै कारण अपमान सहन वा तरकारी बेच्ने कवि भएकै कारण वाहवाही बटुल्न भने तयार छैनन्। 'कामका कारण चिनिने हो। कलात्मक कामका कारण,‘ उनले बुझेका छन्।
आँखाको समस्याका कारण चित्र चाहिँ कोरेका छैनन् अहिले। असीम सागरका लागि कविता र गजल लेखन स्वभाव थियो। अहिले साधना बनेको छ। अनि, लेखनको विषय र पात्रहरू भने भूईंमै भेट्छन् उनी।
'खाली घरमा बसेर पनि कविता नफुर्दो रहेछ। जुन समाजमा बसेर बाँचे। जसको कविता लेखे त्यहाँबाट अलग्गिएर म कवि बन्न नसक्ने रहेछु। तरकारी बेच्दा कविता खेती भइरहेको छ,' उनले भने।
हाल कविता संग्रहबारे प्रतिक्रिया लिनमा व्यस्त छन्, जुन संग्रह उनका लागि सपना थियो। कविहरूमार्फत् नै फाइन प्रिन्टले कविताको पाण्डुलिपी हेर्न चाहेको खबर सुन्दा पुनर्लेखनमा गरेको मिहेनत सम्झन्छन्।
त्यसपछि उनले 'असीम सागर पनि कहीँ कवि हो?' भन्ने बिझेको त्यो प्रश्न बिर्सिदिए। किनकि त्यसको अब जवाफ दिन आवश्यकता नै छैन।