
जनकपुरधाम : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली भष्मासुर रहेको आरोप लगाएका छन्। उनले प्रधानमन्त्री ओली भष्मासुर बनेर पार्टी र मुलुकलाई ध्वस्त पार्ने विध्वंसकारी बनेको समेत आरोप लगाए।
आज जनकपुरधाममा आयोजित नेता तथा कार्यकर्ता भेटघाट कार्यक्रममा पूर्व प्रधानमन्त्री नेपालले आफ्नै पार्टीभित्रका शिर्ष नेतालाई प्रधानमन्त्री र अध्यक्षको ललिपप देखाउँदै भाँडभैलो गर्नका लागि स्याल बनेर विध्वंस मच्चाएको आरोप लगाए।
उनले भने, ‘नेकपाको संस्थापक पक्ष हामीहरु नै आधिकारिक हो र हामीसँग करिब ७५ प्रतिशत केन्द्रदेखि तल्लो कमिटीसम्मका पार्टी कमिटी हामीसँगै छ। त्यसैले हामी नै आधिकारिक नेकपा हौँ र हामीसँग नै सूर्य चिन्ह रहन्छ। कुनै पनि किसिमको गलत भ्रममा नपर्नुस् तपाईँहरु।’
अध्यक्ष नेपालले ओलीतर्फ ईंगित गर्दै अगाडि भने, ‘स्याल बनेर पार्टी र देशलाई ध्वस्त पार्ने ध्येयले अघि बढ्ने योजना बुनिरहेको कुरा अर्का अध्यक्ष प्रचण्ड, म, झलनाथजी, सुरेन्द्र पाण्डेजी, लगायतका शिर्षनेताहरुले थाहा पाएपछि हामीले उहाँलाई कारबाही गरिसकेका छौँ, र अहिले नेकपाको अध्यक्ष प्रचण्ड र म नै हौँ।’
ओलीलाई कारबाही गरेपछि उनी अहिले छुटेका गुटका छोटा अध्यक्ष मात्र रहेको नेपालले बताए।
उनले भने, ‘ओली गुटसँगको पार्टीको कुनै पनि प्रमाण छैन। त्यसैले ओली डमरु पिटेर सयकडौँ केन्द्रिय सदस्यहरु भर्ति अभियान चलाइ भजाइरहेको भ्रम छरिरहेका छन्।’
नेपालले तत्कालिन एमाले र माओवादी केन्द्रसँग एकता भएपछि पूर्व एमालेको नाम भजाएर ओलीले वितण्डा मचाउनुको कुनै तुक नरहेको बताए। उनले प्रधाननमन्त्री ओली अहिले सरकारको ढुकुटीमा अराजकता मच्चाएर मुलुकलाई बर्बाद पार्ने दिशामा अग्रसर रहेको समेत आरोप लगाए। ओलीले सत्ता र सरकारको दुरुपयोग गरी भ्रम छरेर जनतालाई दिग्भ्रमित पारिरहेको आरोप समेत उनले लगाए।
उनले भने, ‘जुन पार्टीले एकतापछि अध्यक्ष बनाए, प्रधानमन्त्री समेत बनाए अहिले त्यही पार्टीविरुद्ध भष्मासुर बनेर पार्टीको नेतृत्वपंक्ति विरुद्ध कम्मर कसेर लागेकाले आन्दोलनको विकल्प हामीसँग नरहेकाले आन्दोलनको लागि तयारी अवस्थामा रहनुस्। विध्वसंकारी विरुद्ध आन्दोलनका लागि अघि बढ्नुस्।’