PahiloPost

Dec 25, 2024 | १० पुष २०८१

विमलेन्द्र निधिले भने, ‘वर्तमान परिस्थितिमा सबै संवैधानिक विकल्पका लागि तयार छौँ’



सुमित मिश्र

विमलेन्द्र निधिले भने, ‘वर्तमान परिस्थितिमा सबै संवैधानिक विकल्पका लागि तयार छौँ’

जनकपुरधाम : नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले वर्तमान परिस्थितिमा संवैधानिक सबै विकल्पका लागि तयार रहेको बताएका छन्।

उपसभापति निधिले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि उत्पन्न परिस्थितिमा आफूहरु संवैधानिक सबै विकल्पका लागि तयार रहेको बताए। जनकपुरधाममा शहीद सत्यनारायण पाठकको शालिक अनावरण कार्यक्रममा उनले प्रतिनिधिसभा पुनर्स्थापना भए पनि वा निर्वाचन भएपनि दुबै विकल्पका लागि आफू तयार रहेको प्रष्ट्याए।

उनले प्रधानमन्त्री ओलीले संविधान बाहिर गएर प्रतिनिधिसभा विघटन गरेको चर्चा गर्दै यो समस्या समाधानका लागि सबै नेपाली जनता एक हुनु आवश्यक रहेको बताए। उनले प्रतिनिधिसभा पुनर्स्थापना हुने नहुने कुरा सर्वोच्च अदालतले निर्णय गर्ने भएकाले नेपाली कांग्रेसका नेता कार्यकर्ताहरुलाई चुनावको तयारीमा समेत लाग्न निर्देशन दिए।

नेपाली कांग्रेस चुनावबाट डराइरहेको लगायतका आरोपहरुतर्फ इंगित गर्दै उनले भने, ‘कुनै पनि लोकतान्त्रिक शक्ति निर्वाचनबाट डराउनै सक्दैन, नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी रहेकोले जनता माझ जान सदैव तत्पर रहेको छ। बरु कम्युनिस्टहरु लोकतन्त्रलाई रुचाउँदैनन्, कम्युनिस्ट र लोकतन्त्र कहिल्यै सँगसँगै हिड्न सक्दैन, जसको प्रत्यक्ष उदाहरण हो प्रधानमन्त्री ओलीको पछिल्ला कदम।’

नेता निधिले प्रधानमन्त्री ओली संघीयता र गणतन्त्र विरोधी रहेको र उनले संसदीय व्यवस्थामा लगाएको रोगको उपचार अदालतले गर्नेमा विश्वास व्यक्त गरे।

सत्यनारायण पाठकको शालिक अनावरण

२०४६ सालको जनआन्दोलनको क्रममा गोली लागि निधन भएका शहीद सत्यनारायण पाठकको निर्माण गरिएका शालिकको निधिले अनावरण गरे।

शहीद पाठकको शालिक अनावरण गर्दै नेता निधिले आफूले उनी जस्ता शहीदको शालिक अनावरण गर्न पाउँदा खुशी लागेको बताए। यस्ता अन्य शहीदहरुको विषयमा युवा पुस्तामा समेत जानकारी होस् भन्ने उद्देश्यले उनीहरुको पनि शालिक निर्माण गर्नु पर्नेमा नेता निधिले जोड दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell