PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

ओलीले कम्युनिष्ट पार्टी र आन्दोलनलाई सिध्याउन खोजे : माधव नेपाल



ओलीले कम्युनिष्ट पार्टी र आन्दोलनलाई सिध्याउन खोजे : माधव नेपाल

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड-माधव समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले कम्युनिष्ट पार्टी र आन्दोलनलाई सिध्याउन खोजेको बताएका छन्।

सोमबार काठमाडौँमा प्रतिनिधि सभा विघटनका विरुद्ध आयोजित नागरिक भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले प्रधानमन्त्री ओलीले कम्युनिष्ट पार्टी र आन्दोलनलाई सिध्याउन चाहेको बताएका हुन्। ओलीको कम्युनिष्ट आन्दोलनप्रति निष्ठा नभएको भन्दै ओलीले पार्टी संगठनलाई भाताभुंग पार्न चाहेको बताए। प्रधानमन्त्री ओलीको गणतन्त्र, संघीयता, समावेशिता र धर्मनिरपेक्षता प्रति कुनै अपनत्व नभएको उनले आरोप लगाए।

अध्यक्ष नेपालले सोमबार नै निर्वाचन आयोग पुगेर पार्टीको आधिकारिकता आफुहरुलाई दिन आग्रह गरेको पनि बताए। उनले बहुमत केन्द्रीय कमिटी सदस्य आफुतिर भएको र बहुमतले मात्रै पार्टीको विधान संशोधन गर्न सक्ने व्यवस्था भएकोले कुनै एक व्यक्तिको सुर र तालमा पार्टी नचली विधानसम्मत् चल्ने जानकारी दिएको बताए। अध्यक्ष नेपालले निर्वाचन आयोगलाई नेकपाको विधान र निर्वाचन सम्बन्धी कानुन हेरेर निर्णय गर्न आग्रह गरीएको पनि बताए। प्रधानमन्त्री ओलीले सबै शक्ति आफू मातहतमा ल्याएर विरोधीलाई तर्साएको उनको दाबी छ।

प्रतिनिधि सभा विघटनको विरोधमा समाजका सबै तह र तप्का एकै ठाउँमा आएको पनि अध्यक्ष नेपालले बताए। देशलाई लोकतन्त्र र स्थायित्वको बाटोमा लैजान सबै परिवर्तनकर्मी शक्तिहरुबीच तालमेल गर्दै अघि बढ्नुपर्ने बेला आएको पनि बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell