
- फूलमान तामाङ-
पलाँती : मंगलवार सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ४ स्थित पालाँती अङ्गेरी पाखा खेल मैदानमा जिल्लास्तरीय फुटबलको फाइनल चल्दै थियो। मेलम्ची नगरपालिका र सुनकोशी गाउँपालिका उपाधिका लागि मैदानमा उत्रिएको थियो।
काँग्रेस केन्द्रीय खेलकुद विभागले आयोजना गरेको प्रतियोगिता २२ गतेबाट शुरु भएको थियो। फाइनल खेलका लागि प्रमुख अतिथिको रुपमा कार्यक्रमस्थलमा पुगेका थिए काँग्रेस सभापति शेरबहादुर देउवा।
फाइनल खेल दिउँसो १२ बजे हुने भनिएको थियो। तर सभापति देउवा नै ढिला गरी कार्यक्रमस्थल पुगे। कैलाश एअरको हेलिकप्टरबाट अंगेरी पाखा खेलमैदान नजिकै सवा १२ मा उनी ल्यान्ड भए र सीधै लागे काँग्रेस केन्द्रीय सदस्य एवं खेलकुद विभागका संयोजक मोहन बस्नेतको निवासमा। देउवालाई बस्नेत निवास लैजानका लागि स्कर्टिङको व्यवस्था गरिएको थियो।
युनियनको प्रेस मिटमा बोलेनन्
सभापति देउवाले प्रेस युनियन सिन्धुपाल्चोकले आयोजना गरेको प्रेस मिटमा भने बोल्न अस्वीकार गरे। बस्नेत निवास पुगेपछि प्रेस युनियन सिन्धुपाल्चोक शाखाले प्रेस मिट तय गर्यो। बस्नेतले पलाँतीस्थित आफ्नो भवनमा देउवाले बोल्ने कार्यक्रम भएको भन्दै प्रेस मिटको बन्दोबस्ती पनि गरेका थिए। त्यसका लागि प्रश्न सोध्ने तयारीमा थिए जिल्लाका पत्रकार। जिल्लाको पार्टी विवाद, महाधिवेशनको मिति कहिले तोक्ने, वर्तमान राजनीतिक सन्दर्भमा काँग्रेस किन प्रष्ट हुन नसकेकोजस्ता प्रश्न गर्ने तयारी गरेका थिए।
तर, कार्यक्रममा देउवा उपस्थित नै हुन मानेनन्। प्रेस मिटका लागि अघिल्लो दिनै बस्नेतसँग कुराकानी गरेर समय तय गरिएको प्रेस युनियनका जिल्ला अध्यक्ष दुर्गा आचार्यले बताइन्। शुभेच्छुक संस्थाले आयोजना गरेको कार्यक्रममा पार्टी सभापतिले वेवास्ता गर्नु भुल भएको जिल्ला अध्यक्ष आचार्यको भनाई छ। देउवाले प्रेस मिटमा नबोल्ने भनेपछि पत्रकारहरु खेल मैदानतिर लागेका थिए।
खेलाडीले हानेको बल मञ्चमा आए के गर्ने?
प्रेस मिटमा बोल्न नमानेका देउवा बस्नेत निवासबाट झन्डै एक घण्टापछि मात्र कार्यक्रमस्थलमा आइपुगे। स्कर्टिङसहित कार्यक्रमस्थल आइपुग्दा फाइनल खेल रोमाञ्चक मोडमा पुगिसकेको थियो। त्यही बेला देउवा मञ्चमा उक्ले। उनलाई जिल्लास्तरीय नेताहरुले फूलमालाले स्वागत गरे। एकै चौर भए पनि मञ्च खेल केही पर नै बनाइएको थियो।
खेलतिर ध्यान दिँदै आफ्नो स्थानमा पुगेपछि देउवाले केन्द्रीय सदस्य बस्नेतलाई सोधे : खेलाडीले हानेको बल मञ्चमा आए के गर्ने?
त्यसपछि बस्नेतले यता आइपुग्दैन भन्दै उनलाई मञ्चमा बस्न अनुरोध गरेका थिए।
देखिएनन् देउवाइतरका नेता
जिल्लामा केन्द्रीय सभापति आइपुग्दा जिल्ला सभापति विकास लामा भने कार्यक्रमस्थलमा देखिएनन्। त्यसै गरी जिल्ला कार्यसमितिका पदाधिकारीको उपस्थिति पनि मञ्चमा देखिएनन्। पछिल्लोपटक जिल्ला कार्यसमितिमा लामा र बस्नेतबीच चर्को विवाद देखिएको छ। समायोजन विवाददेखि व्यक्तिगत टसलका कारण जिल्ला कार्यसमितिलाई निम्तो नदिएको लामा पक्षका नेताहरुको भनाई छ।
कार्यक्रममा बस्नेत पक्षका नेतासहित भर्खरै केन्द्रीय सदस्य बनेका विष्णुविक्रम थापा र प्रदेश सभा सदस्य निमा लामा भने उपस्थित थिए। तर, मञ्चमा भने बस्नेत पक्षका नेताहरुलाईमात्र स्थान दिइएको थियो।
मञ्चमा दोहोर्याए पुरानै कुरा
देउवाले प्रधानमन्त्री ओलीको प्रतिनिधिसभा विघटनको कदमबारे पुरानै भनाई दोहोर्याए।
देउवाले भने, 'प्रम ओलीले संसद भंग गरी चुनावी मिति तोक्या छन्। यो असंवैधानिक कदम हो भनेर केन्द्रीय समितिले निर्णय गरिसक्यो। तर, अदालतमा विचाराधीन मुद्दामा काँग्रेस केही भन्दैन। अदालतले जे भन्यो त्यही मान्दछ।'
उनले चुनाव वा पुनर्स्थापन दुवै स्वीकार्ने समेत बताए।
'संसद पुनर्स्थापना होस् या चुनाव हामी दुवै स्वीकार्छौं। दुई वर्ष पछि त चुनाव भइहाल्छ। त्यसबेला पनि जानै पर्छ,' देउवाले भने।
खेलाडीमा खिया नलागोस् भनेर प्रतियोगिता : बस्नेत
बस्नेत काँग्रेस खेलकुद विभागका संयोजक पनि हुन्। बस्नेतकै प्रयासमा पहिलोपटक सभापति देउवाको उपस्थितिमा जिल्लास्तरीय कार्यक्रम भएको हो। कार्यक्रममा बस्नेतले खेल गतिविधि गर्न सरकार नै सुस्त रहेको बेला पार्टीले कार्यक्रम गरेको बताए। उनले भने, 'खेलकुद क्षेत्रलाई सरकारले राम्रोसँग हेर्न सकेन। कम्युनिस्ट सरकारले होस् या काँग्रेसकै सरकारले पनि। खिया लाग्न थाल्यो खेलाडीमा भनेर प्रतियोगिता शुरु गरेका हौं।' बस्नेले अर्को वर्षबाट सभापति कपसमेत आयोजना हुने घोषणा गरेका छन्।
बाआमाको सम्झनामा खेल
पूर्वमन्त्रीसमेत रहेका बस्नेतले आफ्ना बाआमा कोमल माया–खड्ग बस्नेतको स्मृतिमा सिन्धुपाल्चोकका खेल आयोजना गरेका हुन्। फाइनल खेलमा मेलम्ची नगरपालिकालाई एक गोलले पराजित गरी सुनकोशी गाउँपालिका विजय भयो।
सुनकोशीले शिल्डसँगै एक लाख ११ हजार १११ रुपैयाँ नगद र मेलम्चीले ५५ हजार ५५५ र ट्रफी तथा पदक प्राप्त गरे। त्यस्तै प्रतियोगितामा उत्कृष्ट खेलाडी र म्यान अफ द म्याचलाई क्रमशः २० हजार र पाँच हजारसमेत प्रदान गरिएको थियो।
प्रतियोगिताको उद्घाटन काँग्रेस केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मोहन बहादुर बस्नेतले गरेका थिए। प्रतियोगितामा जिल्लाका नौ स्थानीय तहले भाग लिएका थिए। कार्यक्रममा कार्यक्रममा धावक बैकुण्ठ मान्नधरलाई ५० हजारले सम्मान गरिएको थियो। मानन्धरले आफूलाई सम्मान धेरै भएको उल्लेख गर्दै आफूले झैं अरु खेलाडी पनि सम्मान पाउनुपर्ने भनाई राखेका थिए।