
चितवनस्थित भरतपुर कारागारमा पुस्तकालय पुन:स्थापनाका लागि टिम नेपोले ८०८ थान पुस्तक हस्तान्तरण गरेको छ। सामाजिक संस्था टिम नेपोले पुस्तकालय स्थापनाको लागि रोटरी क्लब अफ चितवन तथा लियो क्लब अफ भरतपुर युथसँगको सहकार्यमा कारागार कार्यालय, चितवन, भरतपुरमा सोमवार ८०८ थान पुस्तक हस्तान्तरण हो।
देशभरका कारागारहरुका कैदीबन्दीहरुको शैक्षिक उन्नति तथा उनीहरुको सामाजिक पुनर्स्थापना हेतुले पुस्तकालय स्थापना तथा शैक्षिक सामग्री वितरण गर्न विगत दुई वर्षदेखि संचालन गर्दैआएको ‘पुस्तक परियोजना’ अभियान अन्तर्गत भरतपुर कारागारमा पुस्तक प्रदान गरिएको टिम नेपोका अध्यक्ष डा निगम पौडेलले जानकारी दिए।
अभियानलाई सार्थक बनाउन थालिएको पुस्तक संकलन कार्य ’टेन बुक च्ययालेन्ज’ का लागि विभिन्न ख्यातिप्राप्त साहित्यकार, लेखक, चिकित्सक तथा कलाकारहरूबाट पुस्तक प्राप्त भएको पौडेलले जानकारी दिए । ‘हालसम्म सहयोग गर्नेमा लघुकथाका हस्ती रबिन्द्र समीर, आर. मानन्धर, सुमित्रा मानन्धर गुरुङ, निभा प्रधान, महेन्द्र जोशी, प्रा. डा. कृष्णप्रसाद पौडेल, कलाकार सुरक्षा पन्तलगायत हुनुहुन्छ।‘
लेखक तथा अर्थोपेडिक सर्जन प्रा.डा. कृष्णप्रसाद पौडेलले अभियानको प्रशंसा गरेका थिए। कारागारका प्रमुख कमल प्रसाद काफ्लेले कारागारमा महत्वपूर्ण पुस्तक सहयोग गरेकोमा आभार प्रकट गर्दै पुस्तक पढ्न खोज्ने कैदीबन्दीहरु कारागारमा थुप्रै रहेकोले यी पुस्तकहरुले निकै सहयोग पुगेको बताए।
भरतपुर कारागारमा हाल ३७ प्रकारका विभिन्न अपराधमा स्वदेशी विदेशीगरी ६ सय ९१ कैदीबन्दी रहेका छन्।