PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

जनप्रतिनिधिहरुलाई जनताको काम भन्दा आन्दोलनको चटारो



सुमित मिश्र

जनप्रतिनिधिहरुलाई जनताको काम भन्दा आन्दोलनको चटारो

जनकपुरधाम : प्रतिनिधिसभा विघटन भएपछि पूरै देशमा कि त आन्दोलन कि त चुनावको चर्चा चलिरहेको छ। आन्दोलन र चुनावी चर्चाकै बीचमा पिल्सिएका छन् जनता।

प्रतिनिधिसभा विघटनपछि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको चर्चा चुनावी माहौल बनाउन र त्यस इतरका दलहरु प्रधानमन्त्रीको कदमविरुद्ध आन्दोलन चर्काउनमा लागि परेका छन्। यद्यपि आन्दोलनकै बहानामा दलहरु आफ्नो जनाधार तयार पार्ने प्रयास समेत गरिरहेका छन्। यही हुलमा अहिले पालिकाका प्रमुख तथा उपप्रमुखहरु समेत देखिएका छन्।

स्वभाविक पनि हो जुन पार्टीको बलमा उनीहरु प्रमुख उपप्रमुख बनेका छन् सो दलको कार्यक्रममा सरिक हुने। त्यसैले पनि पालिकाका प्रमुखहरुलाई जनताको काम गर्नुभन्दा पनि आन्दोलन या त चुनावको चटारो बढी देखिन्छ। प्रमुख, उपप्रमुखहरू पालिकामा कम बस्ने गर्छन् तर आन्दोलन स्थल, विरोध सभामा बढी देखिन्छन्।

आम नगरवासी भौँतारिँदै नगर कार्यपालिकामा ओहोरदोहोर गरिरहन्छन् तर नगरप्रमुख र वडा अध्यक्षको दर्शन दुर्लभ हुन्छ। पछिल्लो समय राष्ट्रिय राजनीतिमा आएको परिवर्तनले पालिका र वडाहरूमा प्रभाव परेको सहजै देख्न सकिन्छ। संसद विघटनपश्चात प्रमुख राजनीतिक दल र पार्टीका नेताहरू यतिबेला आन्दोलनको कार्यक्रम र विरोधका तालिका बनाउनमै व्यस्त छन्।

नेपाल कम्युनिस्ट पार्टीभित्रै पनि ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’-माधव नेपाल खेमा आ-आफ्नै राग र आलापमा व्यस्त छन्। एकअर्कालाई गाली गर्न र आरोप प्रत्यारोपमै मस्त छन् शीर्ष नेतृत्व। अर्कातिर आमजनता र सेवाग्राही आफ्नो कामको शिलशिलामा वडा र नगरपालिका पुगेर कार्यालयबाट रित्तो हात फर्किन बाध्य छन्।

वडा अध्यक्ष आन्दोलनको कार्यक्रमलाई मूर्तरूप दिन व्यस्त देखिन्छन् धनुषाका स्थानीय पालिकाहरूमा। सचिवले कागजात दुरुस्त बनाएर राखे पनि वडा अध्यक्षको हस्ताक्षर नभएर सेवाग्राहीहरू फर्किन बाध्य छन् कार्यालयबाट।

एक प्रश्नको जवाफमा वडा अध्यक्ष जानकीराम साहले भने, ‘तपाईंले भनेजस्तो होइन। हामी जनताको काम पनि गर्छौँ तर पार्टीको निर्देशनलाई पनि मान्नुपर्छ भनेर बैठक गरेका हौँ।’

वडावासीको कुनै काम नरोकेको वडा अध्यक्ष साहको दावी छ।

सेवाग्राही र पार्टी दुवैको काम आफूले हेर्नुपर्ने तर्क वडा अध्यक्ष प्रमेश्वर साहको थियो। भने, ‘पार्टीका ठूला नेता आउँदा हामी थोरै व्यस्त हुनुपर्ने नै हुन्छ।’

गत २६ गते नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि शालिक आनावरण कार्यक्रममा सहाभागी हुन् जनकपुर आउँदै थिए। महोत्तरीको बर्दिबासस्थित रातु पुलमा उनको स्वागत कार्यक्रम राखिएको थियो। उनलाई स्वागत गर्न नगराइन नगरपालिकाका प्रमुख प्रमेश्वर यादव, क्षिरेश्वरनाथ नगरपालिकाका प्रमुख योगेन्द्र पञ्जियार सहित दर्जनौँ जनप्रतिनिधिहरु पुगेका थिए। जनप्रतिनिधिहरु स्वागतमा पुग्दा नगरपालिका पुग्ने गरेका सेवाग्राहीहरु निराश भएर घर फर्केका थिए।

धनुषाको शहीद नगरमा पनि तत्कालीन माओवादीबाट निर्वाचित प्रमुख उदय बरबरिया यादव प्रचण्ड-नेपाल खेमाको विरोध कार्यक्रमलाई सम्बोधन गर्दै ओली पक्षमा नजान भन्दै थिए। छोराको जन्म दर्ता बनाउन पुगेका एक सेवाग्राहीले झन्डै ६ घण्टा कुरेपछि मात्र वडा अध्यक्षले घरमै कागज लिएर आउनुस् भनेको पीडा पोखे। संसद विघटनपछि अहिले धनुषाका लगभग सबैजसो पालिकाको अवस्था अस्तव्यस्त छ। नागरिकको काम र सेवाग्राहीको पीडा हेर्ने फुर्सद निर्वाचित जनप्रतिनिधिसँग कम हुने गरेको स्थानीयको गुनासो छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell