PahiloPost

Jan 6, 2025 | २२ पुष २०८१

इन्द्रावतीमा म्हाने उद्घाटन, शुरु भयो 'छो फुल्बा'



इन्द्रावतीमा म्हाने उद्घाटन, शुरु भयो 'छो फुल्बा'

गाउँपालिका राष्ट्रिय महासंघका महासचिव एवम् इन्द्रावती अध्यक्ष वंशलाल तामाङले सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका- ४ नवलपुर पाडामारुवामा नवनिर्मित म्हानेको उद्घाटन गरेका छन्।

म्हाने उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष तामाङले  माघे संक्रान्ति, ल्होसार एवम् छोफुल्बाको शुभकामना दिँदै तामाङहरुको पहिचान र संस्कृति जगेर्ना गर्न युवा पुस्ताले अध्ययन अनुसन्धान र जागरुक हुनु पर्ने बताए।

४० घरधुरी भएका दोङहरुको दिवाङगत आत्मप्रति श्रद्धाञ्जली अर्पण तथा पूजापाठ गर्न उक्त ठाउँमा म्हाने निर्माण भएको हो।  भूकम्पले म्हाने भत्काएपछि नयाँ शैलीको म्हाने बनाइएको समितीको भनाई छ। ६ लाख रुपैयाँ लागतमा निर्मित म्हाने उद्घाटनपछि छो फुल्बालगायत ह्राप्ने समेत गरिएको थियो।

आजैदेखि तामाङ समुदायमा छो फुल्बा पनि शुरु भएको छ। यस वर्षभित्र मृत्यु भएका व्यक्तिहरुको सम्झनामा छो फुल्बा गरिन्छ।

कार्यक्रममा युवा सजगता अभियान का अध्यक्ष क्षेत्रबहादुर तामाङले विकास निर्माणको कुरामा आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए।

यता गाउँपालिकाका काँग्रेस सभापति फुर्पा तामाङले छोफुल्बा तामाङहरुको विशेष महान चाड भएको उल्लेख गर्दै हाम्रो पहिचान नै छोफुल्बा भएको बताए। यस भेगका तामाङहरुले भोलिदेखि वर्ग फेरिने विश्वास गर्छन्। यस पटक मुसा वर्ग विदा भएर गोरु वर्गमा प्रवेश गर्दैछ। त्यसैले यहाँका तामाङहरुले माघ १ लाई नयाँ वर्षको रुपमा लिन्छन्।

माघ १ बाट झन्डै दुई हप्ता तामाङहरु म्हानेहरु झकिझकाउ गरेर छो फुल्बा गर्दै इस्टमित्रसँग खुशी साटासाट गर्ने र मान्यजनबाट आशीर्वाद लिने गरिन्छ।

कार्यक्रममा लामा गुरु मुक्ते लामाले छ्योर्तेन र ह्राप्नेको महत्त्व बारेमा आफ्नो धारणा राखेका थिए।

सुना तामाङले स्वागत गरेको कार्यक्रममा चोहो सद्दे तामाङ, लामा गुरु मुक्ते लामा र छ्योर्तेन निर्माण समितिका अध्यक्ष पूर्णबहादुर तामाङलगायत उपस्थित थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell