PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

कमल पोखरीको बीचमा कंक्रिटको फूल ठड्याउने प्रयास, विरोधमा स्थानीयले आफ्नै अनुहारमा पोते पोखरीको माटो



कमल पोखरीको बीचमा कंक्रिटको फूल ठड्याउने प्रयास, विरोधमा स्थानीयले आफ्नै अनुहारमा पोते पोखरीको माटो

काठमाडौं : काठमाडौंको कमल पोखरीलाई सुकाएर 'ब्युटिफिकेशन' को नाममा कंक्रिट प्रयोग गरिएपछि स्थानीय र अभियन्ता आन्दोलित भएका छन्।

काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यको 'ड्रिम प्रोजेक्ट' का रुपमा रहेको कमल पोखरीको पुनर्निर्माणका लागि गुरुयोजना नै बनाएर पोखरी सुकाइएको छ।

त्यसैले, रानीपोखरीबाट पाठ सिक्न नसकेको र कमल पोखरीको दोहन रोक्न नसकेकोमा लज्जा बोध भएको भन्दै अभियन्ताहरुले अनुहारमा कमल पोखरीको माटो पोतेर विरोध आज प्रदर्शन गरेका हुन्।

प्राकृतिक सिमसार भएको दाबी गरिएको कमल पोखरीको पुनर्निर्माणको क्रममा कंक्रिटको प्रयोग गरिएको छ। पोखरी सुकाएर मध्य भागमा कंक्रिटको फूल राख्ने योजना बनाइएको छ। पोखरीलाई सुकाएर कंक्रिटको प्रयोग गरिएकोमा अभियन्ताहरुले असन्तुष्टी व्यक्त गरिरहेका छन्।पोखरी सुकाउने क्रममा त्यहाँ माछा टिप्नेहरुको घुइँचो लागेको थियो। माछा बेच्न ठेक्का नै दिइएको अभियन्ताको दाबी छ।

रानीपोखरीमा पनि महानगरले कंक्रिटको प्रयोग गर्ने तयारी गरेको थियो। तर अभियन्ताहरुको विरोधपछि रानीपोखरी मौलिक स्वरुपमा निर्माण गरिएको थियो। हाल कमल पोखरीमा पनि रानीपोखरीकै नियती दोहोरिएको अभियन्ताहरु बताउँछन्।

कमलपोखरीको पुनर्निमाणमा ढिलाई भएको तथा यसको महत्वलाई नै मास्नेगरी ढुंगा, कंक्रिटको प्रयोग गरी निमाण गरिएको कारण विरोधमा उत्रिनु परेको स्थानीयले बताएका छन्। पहिले देखाइएको डिजाइनभन्दा फरक किसिमले निर्माण कार्य भइरहेको र सम्पदा माथि नै अतिक्रमण गरिएको स्थानीयको भनाई छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell