PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

‘नागरिक एप’ सार्वजनिक : कागजात बोकेर सरकारी कार्यालय धाउनुपर्ने बाध्यताको अन्त्य



‘नागरिक एप’ सार्वजनिक : कागजात बोकेर सरकारी कार्यालय धाउनुपर्ने बाध्यताको अन्त्य

काठमाडौं : सरकारले नागरिकका सम्पूर्ण व्यक्तिगत कागजात (सरकारी निकायले जारी गर्ने) वा सूचनालाई एउटै प्लेटफर्मबाट उपलब्ध गराएर सार्वजनिक सेवा उपलब्ध गराउने उद्देश्यले 'नागरिक एप' सार्वजनिक गरेको छ।

सरकारी निकायहरुले विभिन्न सेवाहरुलाई डिजिटलाइज गर्दै लगेपछि सेवापिच्छे फरकफरक मोबाइल एप सञ्चालन गर्नुपर्ने झन्झटलाई ध्यानमा राख्दै उक्त एप सञ्चालनमा ल्याएको हो। शुक्रबार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गर्दै नागरिक एप सार्वजनिक गरिएको हो।

सरकारले सम्भव भएसम्मका सबै सार्वजनिक सेवाहरु नागरिक एपमार्फत् लिन पाउने गरी एप विकास गरिएको बताएको छ। सुशासन, विकास र समृद्धिका लागि सरकारले डिजिटल नेपाल अभियानकै एक अंकको रुपमा नागरिक एप सार्वजनिक गरिएको जनाइएको छ।

आव २०७५/०७६ को नीति तथा कार्यक्रमले नागरिक एपको परिकल्पना गरेको थियो। राजस्व, यातायात, ट्राफिक, लोकसेवा जस्ता सेवाहरुका लागि झन्झटसँगै लामो समय र दु:ख व्यहोर्नु पर्ने अवस्थालाई मध्यनजर गर्दै कार्यालय नगइ विद्युतीय माध्यमबाटै काम हुने दिशामा नागरिक एपले महत्वपूर्ण भूमिका खेल्ने विश्वास सरकारको छ। नागरिक एपको प्रयोगले समयको बचत, झन्झट हट्ने, खर्च जोगिने र पारदर्शिता बढ्ने दाबी सरकारको छ।

नागरिक एप जोकोहीले सहजै चलाउन सक्ने गरि विकास गरिएको सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले जनाएको छ। गृह मन्त्रालयसँग दुई करोड १५ लाख नागरिकको नागरिकताको विवरण छ। ‌औठा छाप र डिजिटल फोटोसहित निर्वाचन आयोगसँग एक करोड ५५ लाख मतदाताको विवरण छ।

करिब ६५ लाखभन्दा बढी नागरिकको पासपोर्टको विवरण राहदानी विभागसँग छ। यी तीन वटै निकायसँग रहेका नागरिकहरुका सबै विवरणलाई नागरिक एपसँग ‘सिंक’ गरिएको मन्त्रालयले जनाएको छ। सरकारले वितरण गरिरहेको राष्ट्रिय परिचय पत्रको विवरण पनि नागरिक एपको पहुँचमा पुर्‍याउने सरकारको तयारी छ।

कुनै पनि सरकारी सेवा सुविधा लिँदा हरेक पटक कागजात बुझाउनु पर्ने झन्झट अन्त्य गर्ने नागरिक एपले स्वचालित रुपमा विवरण लिने र प्रमाणीकरण एवम् पुष्टी गर्ने मन्त्रालयले जनाएको छ। एप सञ्चालन पछि नागरिकहरुले नागरिकता, राहदानी, कम्पनी दर्ता, शैक्षिक प्रमाणपत्र जस्ता कागजातहरु सधैं साथमा बोकेर हिँड्नु पर्ने अवस्थाको अन्त्य हुने सरकारी दाबी छ। उदाहरणका लागि नागरिकता नम्बर राखेकै भरमा एपबाट स्थायी लेखा नम्बर (प्यान) प्राप्त गर्ने प्रक्रिया सुरु गर्न सकिने बताइएको छ।

आफ्नो नाममा रहेको मोबाइल नम्बरबाट एपसँगै यसमा रहेका सुविधाहरु प्रयोग गर्न सकिने बताइएको छ। मोबाइल नम्बर कसको नाममा दर्ता छ भन्ने पनि स्वचालित रुपमा पत्ता लगाउन सकिने सुविधा छ। त्यसैगरी, नागरिकता नम्बरबाट पनि एपले सम्बन्धित निकायको प्रणालीमा पहुँच पुर्‍याउने बताइएको छ। उदाहरणका लागि कुनै सरकारी कार्यालयले दिने सेवाका लागि सेवाग्राहीको प्यान नम्बर चाहिएमा प्यान नम्बर इन्ट्री गरेपछि एपले नै आन्तरिक राजस्व विभागको प्रणालीबाट सोझै विवरण पत्ता लगाउन सक्ने मन्त्रालयले जनाएको छ।

संघीयदेखि स्थानीय सरकारका सेवामा नागरिक एप उपयोगी हुने बताइएको छ। स्थानीय सरकारले प्रदान गर्ने ६४ प्रकारका सेवामध्ये ४० वटा सेवाहरु नागरिक एपमा उपलब्ध रहेको मन्त्रालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell