PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

जसरी पनि हामीलाई संसद चाहिन्छ : काँग्रेस सहमहामन्त्री महत



जसरी पनि हामीलाई संसद चाहिन्छ : काँग्रेस सहमहामन्त्री महत

काठमाडौं : नेपाली काँग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले आफूहरुलाई जसरी पनि संसद चाहिएको बताएका छन्। प्रतिनिधि सभा विघटनको विरोधमा आज नेपाली काँग्रेस ललितपुर महानगर समितिले आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै महतले यस्तो बताएका हुन्।

काँग्रेसलाई अदालतले जुनसुकै निर्णय गरे पनि स्विकार्य भएको उल्लेख गर्दै सहमहामन्त्री महतले भने, 'जे निर्णय गर्छ अदालतले त्यसमा हामी मान्न तयार छौं। जसरी पनि हामीलाई सांसद चाहियो। चुनाव गरेर होस् या सांसद पुनर्स्थापना गरेर।'

प्रतिनिधि सभा विघटन गरी सरकारले चुनाव घोषणा गरेको अवस्थामा समयमै चुनाव नभए काँग्रेसले सडकमा चर्को आन्दोलन गरी ओलीलाई सरकारबाट हटाउने चेतावनीसमेत उनले दिए।

महतले भने, 'वैशाखमा निर्वाचन भएन भने आन्दोलनको आँधीबेहेरी आउँछ, अनि ओली सरकार रहँदैन।'

संसद विघटनको ६ महिनाभित्र चुनाव हुनैपर्ने उल्लेख गर्दै सत्ता लम्ब्याउन खोजे त्यसको विरुद्धमा काँग्रेस तयारी अवस्थामा बस्नुपर्ने उनको भनाई थियो।

'६ महिनामा निर्वाचनमा हुनुपर्छ। भएन, अन्योलतातर्फ लग्यो भने। चुनाव वेवास्ता गरेर सत्ता लम्ब्याउनतिर लाग्यो भने त्यसको विरुद्धमा आन्दोलनको तयारीमा नेपाली काँग्रेस लाग्नुपर्छ,' महतले भने।

काँग्रेसले आफ्नो राम्रो कामको प्रचार गर्न नसकेको फाइदा उठाएर कम्युनिस्टहरुले जनतालाई झुक्याएको उनको भनाई थियो। यसका लागि काँग्रेसले ठाउँठाउँमा अब पार्टीको राम्रो कामको प्रचार गर्नुपर्ने आग्रह उनले गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell