PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

इन्द्रावती पुगेर गुरुराजले भने, 'तानाशाही ओलीले ब्रम्हलुट मच्चाए' : सय जना कांग्रेस प्रवेश



इन्द्रावती पुगेर गुरुराजले भने, 'तानाशाही ओलीले ब्रम्हलुट मच्चाए' : सय जना कांग्रेस प्रवेश

  • फूलमान तामाङ-

नवलपुर : सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिकाको नवलपुरमा प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध शक्ति प्रदर्शन भएको छ। केन्द्रीय सदस्य गुरुराज घिमिरेको प्रमुख आतिथ्यमा आयोजित विरोध कार्यक्रमको र्‍याली जिरोकिलोबाट शुरु भएर नवलपुर बजार पुगेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य घिमिरेले प्रधानमन्त्री ओली तानाशाह भएको आरोप लगाए। उनले वर्तमान सरकारले ब्रम्हलुट मच्चाएर देश नै खान खोजेको आरोपसमेत लगाए। 'सरकारले ब्रम्ह लुट मच्चाए। अनेकथरी चिज लुटेर देशलाई खाए। ओली तनाशाह नेता हुन्,' घिमिरेले भने, 'प्रम ओलीले जनताको अपमान गर्न खोजेका छन्। यदि त्यसो गर्न खोजे कांग्रेस सडकमा उत्रन्छ।'

संविधान मास्ने र खाने अधिकार ओलीलाई नभएको उनले टिप्पणी गरे। त्यसैगरी उनले राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो पदको ख्याल नगरेको आरोप लगाए। 'राष्ट्रपतिले अभिभावकत्वको जिम्मेवारी निभाएन। संविधान च्यात्न पाईन्न। संविधान माथि मनपरी गर्न पाइन्न।'

यता जिल्ला सभापति विकास लामाले काँग्रेस संविधान रक्षाका लागि सडकमा उत्रेको उल्लेख गर्दै नेकपामा प्रतिनिधि सभा विघटन प्रकरणले रडाको मच्चाएको बताए। 'नेकपाहरुले झगडा गरेर संविधानको हत्या गर्‍यो। अहिले दुवै पक्षका नेताबीच घोचपेच छ। नेकपा भाताभुङ्गो भैसक्यो तहशनहस भैसक्यो।'

कम्युनिस्ट सरकार खरानी भइसकेको उल्लेख गर्दै अझै आफै सरकार बनाउँछु भन्नु लाजमर्दो कुरा भएको उनको तर्क थियो।

कार्यक्रममा यस क्षेत्रका प्रदेशसभा उम्मेदवार विकास तामाङले नेकपाले जनताको मतलाई लत्याएर दु:ख दिएको बताए। उनले आफ्नो प्रत्यासी युवराज दुलाललाई लक्षित गर्दै आफ्नो प्रदेशसभामा आफ्नो पार्टीबाट निर्वाचित जनप्रतिनिधिले गरेको व्यवहारको भर्त्सनासमेत गरे।

इन्द्रावती गाउँपालिका अध्यक्ष वंशलाल तामाङले नेकपा सरकारको उपहार महङ्गी र भ्रष्टाचार भएको दाबी गरे। 'समृद्ध देश बनाउँछु भन्थे तर नेकपाका नेताहरु चाहि समृद्ध भए,' उनको भनाई थियो। ओलीले नाटक मन्चन गरी संसद विघटन गरेको र यो कानुन सम्मत नभएको तामाङको भनाई थियो। अध्यक्ष तामाङले थपे, 'यो लोकतान्त्र मास्ने काम हो। यसका विरुद्ध कांग्रेसले खबरदारी गरिरहन्छ।'

यता युवा सजगता अभियानका अध्यक्ष क्षेत्रबहादुर तामाङले  नेकपाको व्यक्तिगत स्वार्थको कारण जनताले दु:ख पाएकोले युवाहरु सजग हुँदै प्रतिवादमा उत्रनु पर्ने बताए।

इन्द्रावती कांग्रेसका सभापति फुर्पा तामाङको सभापतित्वमा भएको विरोधसभामा इन्द्रावती २ का वडासभापती मानबहादुर भारतीले स्वागत गरेका थिए।

नेकपा र राप्रपाका कार्यकर्ता काँग्रेस प्रवेश

कार्यक्रममा राष्ट्रिय युवा संघ नेपाल जिल्ला सदस्य अर्जुन रोक्कासहित सय बढी कार्यकर्ता नेकपा तथा राप्रपा परित्याग गरी कांग्रेस प्रवेश गरे।

नवप्रवेशीलाई केन्द्रीय सदस्य घिमिरे र जिल्ला सभापति लामाले स्वागत गरेका थिए। आफ्नो पार्टीले दुईतिहाइ पाउँदा पनि काम गर्न नसकेको बरु आफुलाई पेल्ने गरेकोले पार्टी परिवर्तन गरेको रोक्काले गुनासो गरे। कांग्रेस जस्तो गौरवशाली पार्टीमा आवद्ध हुन पाउँदा मनै फुरुङ्ग भएको उनको भनाइ थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell