PahiloPost

Dec 26, 2024 | ११ पुष २०८१

गाउँमा घट्दै गुन्द्री बुन्ने चलन : 'नेपाली वैज्ञानिकले गुन्द्री बुन्ने मेसिन बनाए त हुन्थ्यो नि!'



गाउँमा घट्दै गुन्द्री बुन्ने चलन : 'नेपाली वैज्ञानिकले गुन्द्री बुन्ने मेसिन बनाए त हुन्थ्यो नि!'

  • फूलमान तामाङ-

नवलपुर : केही वर्ष अघिसम्म पुस माघ महिनामा इन्द्रावती गाउँपालिकाका अधिकांश घरको आँगन वा बारीमा गुन्द्रीका तान तन्किएका हुन्थे। ती तानमा हतासोले 'झ्याकझ्याक' गर्दै गुन्द्री कसिरहेका भेटिन्थे कोही न कोही।

हिजोआज भने गुन्द्री बुन्ने चलन फाट्टफूट्टमात्र भेटिन्छन्। बाबियोको डोरीको तानमा पराल मिलाएर हालेपछि केही दिनमै तयार हुने गुन्द्री अहिले कमैमात्रमा पाइन्छ। अचेल बाबियोको ठाउँमा प्लास्टिकका डोरी प्रयोग हुन थालेका छन्।

प्लास्टिककै डोरी प्रयोग गरी गुन्द्री बुन्दै थिइन् वडा ४ स्थित होखोरकी पातली तामाङ। उमेरले ७३ वर्ष पुगिन्। तैपनि उनी गुन्द्री बुन्न सक्रिय छिन्। गुन्द्री गुणिलो हुने भएकोले आफूलाई नभई नहुने बताउँदै थिइन् उनी। 'गुन्द्रीले धेरै न्यानो बनाउँछ। पहिले हामी सुत्ने यही ओछ्याएर हो,' उनी भन्छिन्, 'अहिले पनि यो नओछ्याई निन्द्रै लाग्दैन।'

चिसोबाट बच्न गुन्द्री अतिउपयोगी हुने बताउँछिन् उनी। त्यसो त पाहुनलाई स्वागत गर्दा ओछ्याउने गाउँले कार्पेट भनेकै गुन्द्री नै हुन्थ्यो। विवाह ब्रतबन्ध होस् या घेवामा, केवादेखि घेवासम्मको कार्जेमा गुन्द्री नै कार्पेटका रुपमा प्रयोग गरिन्थ्यो। चिसोबाट बच्न गुन्द्री अतिउपयोगी हुने बताउँछिन् उनी।

'अस्ति तीन चार दिन गुन्द्री नओछ्यार डास्न तान्नमात्रै ओछ्याएर सुतेको बेस्सरी जाडो भो। चिसो पसेर पेट गडबड भो,' उनले भनिन्।

यता चोहोटोलकी ५३ वर्षीया डोल्मा तामाङ पनि गुन्द्री बुन्दै भेटिइन्। खेर जाने परालबाट गुन्द्री बुन्नु धेरै राम्रो भएको बताउँछिन् उनी। तर बुन्न समय लाग्ने भएकोले युवापुस्ताले यसलाई छाड्दै गएको उनको भनाई छ। कुनै वैज्ञानिक वा डिजाइनरले गुन्द्री बन्ने मेसिन बनाइदिए धेरै राम्रो हुने उनको भनाई थियो।

भन्छिन्, 'गाउँले कार्पेट हो यो। धेरै नेपाली वैज्ञानिक भयो भनेको सुनें। गुन्द्री बुन्ने मेसिन कसैले बनाए कि? गुन्द्री बनाउनु मेसिन बने त खेर गएको पराल काम लाग्थ्यो।'

गाइबस्तुलाई खुवाएरै खेर जाने परालको सदुपयोग अचेल भने हुन छाडेको छ। हिजोआज गाइबस्तु पाल्ने चलन पनि हट्दै जाँदा पराल खेर जाने अवस्था झनै बढेको छ।

०७२ सालको भूकम्पअघि ढुंगा र माटोले बनेको घर हुन्थ्यो। टिपीकल नेपाली घरहरुमा पाहुनालाई स्वागत गर्दा पनि गुन्द्री नै ओछ्याइन्थ्यो। भूकम्पपछि सिमेन्टेड घर बन्न थालेको छ। अहिले यसको उत्पादन घटेसँगै बजारबाट प्लास्टिकका म्याट किन्ने चलन बढेको छ।

डोल्माले भने झैं गुन्द्री बुन्ने मेसिन बने प्लास्टिकका कार्पेटको ठाउँमा पहिले झैं गुन्द्रीले ठाउँ पाउथ्यो कि!



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell