PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

९ गते उपत्यका अस्तव्यस्त पार्न झलनाथ खनालको आह्वान, ‘समृद्ध नेपाल, सुखी नेपाली नारा मेरो पालाको’



९ गते उपत्यका अस्तव्यस्त पार्न झलनाथ खनालको आह्वान, ‘समृद्ध नेपाल, सुखी नेपाली नारा मेरो पालाको’

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका नेता पूर्व प्रधानमन्त्री झलनाथ खनालले आउँदो ९ गते सरकारी कदमविरुद्ध सबै जना काठमाडौं आउन आह्वान गरेका छन्। ९ गते ‘काठमाडौं जाऔं’ अभियान रहेको उल्लेख गर्दै प्रज्ञा भवनमा अखिलले आयोजना गरेको उपत्यकास्तरीय भेलालाई सम्बोधनका क्रममा खनालले यस्तो बताएका हुन्।

प्रतिनिधि सभा विघटनविरुद्ध तीव्र आन्दोलनको आवश्यकता परेको उल्लेख गर्दै नेता खनालले ९ गते काठमाडौं उपत्यका अस्तव्यस्त बनाउनसमेत विद्यार्थीलाई आग्रह गरे। भने, ‘९ गते उपत्यकाका सडकमा मानिसहरु निकालेर अस्तव्यस्त बनाउनु पर्छ।’ उनले दुई लाख जनता काठमाडौंमा उतार्न विद्यार्थीलाई आह्वानसमेत गरे।

खनालले आफू अध्यक्ष रहेको बेला ‘सुखी नेपाली, समृद्ध नेपाल’को नारा बनेको दावी गरे। ओलीले यसलाई आफ्नै जस्तो गरी प्रचार गरेको उल्लेख गर्दै यो नारालाई दुरुपयोग गरिएको खनालले दावी गरे।

ओलीले क्याबिनेटमा मनपरी गरेर सरकरको नीति र कार्यक्रमसमेत घोषणापत्रअनुसार नआएको आरोप खनालको थियो।

‘क्याबिनेटमा ओलीले एक्लौटी गरे, योजना आयोगमा आफ्ना गुटका मानिस राखेर बनाए। नीति र कार्यक्रम पर्टीको घोषणापत्र अनुसार आएन। बजेटमा पनि मनपरी बाँडफाड गरियो,’ खनालले भने।

ओली प्रधानमन्त्री भएपछि दक्षिणपन्थी भड्काउमा लागेको आरोप लगाउँदै उनले ओली गुट नेकपाको चोइटामात्र भएको दावी गरे।

‘केपी ओली आदरका साथ सम्मान गर्नुपर्ने व्यक्ति रहेनन्। संविधान लोकतन्त्रका विरुद्ध उभिए। राणा शासनको हुकुम जस्तै हो केपी ओलीले हिँडेको बाटो, ज्ञानेन्द्रको बाटो र मण्डलेको बाटो हो। उनको गुट नेकपाबाट चोइटिएको पार्टी हो,’ उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell