PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

कमल पोखरीमा रानीपोखरीको इतिहास दोहोरियो, दोहन रोक्न मेयरलाई भन्छु : उपप्रमुख हरिप्रभा



कमल पोखरीमा रानीपोखरीको इतिहास दोहोरियो, दोहन रोक्न मेयरलाई भन्छु : उपप्रमुख हरिप्रभा

काठमाडौं : काठमाडौं महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले कमल पोखरी पुनर्निर्माण गर्ने क्रममा रानीपोखरीको इतिहास दोहोरिएको बताएकी छिन्।

कमल पोखरी संरक्षणको माग गर्दै पत्र बुझाउन पुगेका अभियन्ताहरुसँग कुरा गर्दै श्रेष्ठले रानीपोखरीमा कंक्रिटको प्रयोग गरिए झैं अहिले कमल पोखरीमा पनि त्यही अवस्था सिर्जना भएको बताएकी हुन्। उनले कमल पोखरीको वातावरणीय मौलिकता बचाएर निर्माण हुनपर्नेमा जोड दिइन्।

रानीपोखरीमा महानगर प्रुमख विद्यासुन्दर शाक्यले कफी शप सहित पार्क बनाउने योजना ल्याएका थिए। पोखरीमा कंक्रिटकै मन्दिर र अन्य संरचना निर्माण गरिएको थियो। त्यसको विरोध गर्दै उपप्रुमख श्रेष्ठले रानीपोखरीमा ताला लगाएकी थिइन्। विवाद बढ्दै जाँदा रानीपोखरी पुनर्निर्माणको काम राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई दिइएको थियो। सबै सरोकारवालसँगको छलफलपछि रानीपोखरी मौलिक शैलीमा निर्माण गरिएको थियो।

'रानीपोखरीको दोहन हामीले नै रोकेका हौं। महानगरबाटै बनाउने इच्छा थियो। तर त्यसो हुन सकेन। अहिले कमल पोखरीको कुरा उठेको छ। पोखरीको ऐतिहासिक पक्षको जगेर्णा गर्दै निर्माण गर्न बजेट छुट्याइएको हो। तर कसरी निर्माण गर्ने भन्ने बारेमा छलफल हुन सकेको थिएन' उनले भनिन्।

मेयर शाक्यले नै कमल पोखरीको योजना बारेमा जानकार भएको र आफूलाई त्यसबारेमा जानकारी नभएको उनले बताइन्।

'बजेट बारेमा छलफल हुन्छ। कसरी बनाउने भन्ने विषयमा मलाई केही जानकारी हुँदैन। उहाँहरु आफैमात्र बसेर छलफल गर्नुहुन्छ। म उपप्रमुख भएँ। मलाई केही जानकारी आउँदैन' उनले भनिन्।

उपप्रमुख श्रेष्ठले कमल पोखरीको गुरुयोजनाको छलफल गर्न आफूलाई नबोलाएको समेत बताइन्।

उनले सोमबार कमलपोखरीमा डोजर चलाएको थाहा पाएपछि आफूले त्यसलाई रोक्न पहल गरेको समेत बताइन्।  

महानगरपालिकाले कमल पोखरी सुकाएर हाल चारै तिर कंक्रिटको संरचना र बीचमा कंक्रिटको कमल ठड्याउने तयार गरिरहेको छ। स्थानीय र अभियन्ताहरुले भने कमल पोखरीको प्राकृति अवस्था नै मासिने गरी हुँदै गरेको निर्माण कार्यको विरोध गरिरहेका छन्।

पुरातत्व विभागले समेत कमल पोखरीको ऐतिहासिक, सांस्कृति र पर्यावरणीय वातावरणमा असर नपर्ने गरी पुनर्निर्माणको काम गर्न सोमबार पत्र महानगरलाई पत्र पठाएको थियो। पत्र पठाएकै दिन राति कमलपोखरीमा माटो निकाल्न डोजर चलाइएको थियो। स्थानीय र अभियन्ताले अवरोध गरेपछि डोजर फिर्ता गएको थियो। पुरातत्वले समेत पोखरी संरक्षण गर्न भनेको अवस्थामा रातारात माटो निकाले पोखरीको दोहन गरिएको भन्दै अभियन्ताहरुले आज महानगर कार्यालय बागदरबारमा धर्ना दिए।

करिब १ घण्टा धर्ना पछि महानगर प्रमुख विद्यासुन्दर शाक्यलाई कमल पोखरी संरक्षण गर्न पत्र बुझाउने तयारी अभियन्ताहरुको थियो। तर शाक्य अनुपस्थित भएकाले उनको सचिवालयमा पत्र दर्ता गरिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell