PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

जनकपुरधामका १५६ पोखरी गायब : संरक्षण अभावले मासिँदै बाँकी पोखरी पनि



सुमित मिश्र

जनकपुरधामका १५६ पोखरी गायब : संरक्षण अभावले मासिँदै बाँकी पोखरी पनि

जनकपुरधाम : मैथिलीमा एउटा भनाइ छ, ‘पग-पग पोखरी, माछ, मखान, सरस बोल मुस्की मुख पान, विद्या, वैभव, शान्ति प्रतीक, सरस क्षेत्र मिथिलाञ्चल।

अर्थात, पाइला-पाइलामा पोखरी, माछा, मखान, मीठो मुस्कान, विद्या, वैभव, शान्तिको प्रतीक र सरस क्षेत्र मिथिलाञ्चल।

यो पंक्तिले मिथिलाञ्चलको सम्पूर्ण वर्णन गर्दछ। प्राचीन मिथिलाको राजधानी एवं प्रदेश २ को अस्थायी राजधानी जनकपुरधामको पहिचान यहाँका पोखरीहरुले गराउँदै आएका छन्। जनकपुरधामका पोखरीहरुको विषयमा मिथिला महात्ममा समेत उल्लेख रहेको पाइन्छ।

लोप हुँदै पोखरीहरु

जनकपुर नेपालमै सबैभन्दा बढी पोखरीहरु भएको शहर हो। विगतमा यहाँ २ सय ८ पोखरी थिए। एक एक गर्दै १ सय ५६ पोखरी हराए। अहिले ५२ वटामात्र अस्तित्वमा छन्। ती पोखरी भएका ठाउँमा कतै सरकारी कार्यालय बनेका छन्। केहीमा घर ठड्याइएको छ। कसैले होटेल तथा पसल चलाउँदै आइरहेका छन्।

जनक सरोवर, अमृत कुण्ड, गोपाल सर, पयस्विनी सर, बल्देव सर, धोवियाही पोखरी,  पापमोचनी सर लगायतका कयौँ पोखरीहरुको अस्तित्व मेटिइकेको छ। त्यसका अतिरिक्त जनकपुरधाममा कुन कुन पोखरीहरु थिए त्यसको तथ्यांक पनि गुठी संस्थान जनकपुरधामसँग छैन। कुन ताल कहाँ थिए प्रश्न गर्दा गुठी संस्थान जनकपुरधामका कर्मचारीहरु गुठी संस्थानमा त्यसको तथ्यांक नै नरहेका कारण जवाफ दिन सकेनन्।

बाँकी रहेका अधिकांश पोखरीका जमिन पनि सन्त-महन्थ र गुठी संस्थानका प्रमुख मिलेर बिक्री गरेका छन्। केही लोप भइसके, बाँकी रहेका पोखरी पनि केही समयमा हराउने खतरा रहेको छ। राजनीतिक संरक्षणमा पोखरीको जग्गा अतिक्रमण भइरहेको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ८ का आनन्द झा गुनासो गर्छन्।

उनले जनकपुरका पोखरीहरुलाई निजी आम्दानीको श्रोत यहाँका नेता, कर्मचारी तथा सन्त महन्थले बनाएको आरोप लगाए। २०६७ सालको गुठी संस्थानको तथ्यांकअनुसार ५२ वटा पोखरीहरु अस्तित्वमा रहेका छन्।

पोखरीको जग्गा अतिक्रमण गर्नमा नेता, मन्त्री, सांसद, हाकिम, नापी, माललोत, सन्त-महन्त र भूमाफिया सबैको संलग्नता छ। तर, सबैको मिलेमतोका कारण कोही कसैसँग बोल्न सक्ने अवस्थामा छैनन्। ऐतिहासिक धार्मिक महत्व बोकेका जनकपुरधामका पोखरी पर्यटकका लागि आकर्षणको केन्द्र बन्ने स्थानीय, प्रदेश र केन्द्र तीनै सरकारको बुझाइ छ। तर, सरकार, स्थानीय नागरिक कसैले पनि चासो नदिँदा पोखरीको शहर जनकपुरधाम पोखरीविहीन बन्ने बाटोमा छ।

सौन्दर्यीकरणको नाममा मासिदै पोखरी

मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत भइरहेको पोखरी सौन्दर्यीकरणबाट पोखरी नै मासिँदै गएको पाइएको छ।  जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ८ मा निजी व्यक्तिलाई फाइदा पुर्‍याउने गरी ऐतिहासिक कपालमोचनी पोखरीको डिल पुर्ने काम गरिएको छ।

कपालमोचनी पोखरीमा घाट निर्माण गर्ने भन्दै निजी व्यक्तिलाई फाइदा पुग्नेगरी पोखरीमै बाटो बनाइएको छ। पछिल्लो एक वर्षदेखि कपालमोचनी सर पोखरीको डिलमै सीतादेवी यादवको नाउँमा खरिद गरिएको जग्गाका साथै त्यहाँ बाटोका लागि कटाइएको नक्सासमेत विवादित हुन पुगेको थियो।

विवाद समाधान हुन नपाउँदै मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत सो सौन्दर्यीकरणको नाउँमा पोखरीलाई नै पुरेर कुनै एक व्यक्तिको निजी जग्गाको बाटो खुलाउनकै लागि त्यहाँ काम अगाडि बढाइएको तेली कुट्टीको सञ्चालक समितिका अध्यक्ष जगदीश साह बताउँछन्। प्रदेश सरकारले निजी व्यक्तिको मतियार बनेर सार्वजनिक सम्पत्ति पोखरी पुरेर अतिक्रमणलाई बढवा दिएको वैश्य कल्याण महासंघका अमरनाथ गुप्ताले आरोप लगाए।

अतिक्रमित जग्गा खाली गराइने!

जनकपुरधाम उपमहानरपालिकाको अतिक्रमणको चपेटमा परेपछि बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्ले विसं २०७१ सालमा अतिक्रमण गरिएका जग्गाहरु खाली गराउने अभियान चलाएको थियो। बृहत्तरका तत्कालिन प्रमुख रामकुमार शर्माले सो अभियानको नेतृत्व गरेका थिए। त्यति खेर कयौँ घर, होटेल तथा पसलहरु भत्किए। तर, केही महिना नबित्दै अतिक्रमित जग्गा खाली गराउने बृहत्तरको सो अभियानसमेत रोकियो। अभियान किन र कसको दबाबमा रोकियो कोही बोल्न चाहँदैनन्।

यता जनकपुरधाम उपमहानगरपालिकाले भने अतिक्रमण गरिएका जग्गाहरु खाली गराउने रणनीति बनाएको छ। जनकपुरधाम उपमहानगरपालिकाकी उपप्रमुख रीता मिश्रले पोखरीको जग्गा नगरपालिकाको गहना रहेकोले छिट्टै नै खाली गराउने अभियान चलाइने जानकारी दिइन्।

स्थानीय जागरुक हुँदै

जनकपुरधामका पोखरीहरु अतिक्रमित र दुर्गन्धित हुँदै गएपछि स्थानीयवासी स्वयं पोखरीको सरसफाई तथा सौन्दर्यीकरणका लागि अगाडि आइरहेका छन्। ७ वर्ष अगाडि प्रदेश २ का प्रदेशसभा सदस्य रामअशिष यादवको अगुवाईमा गंगासागर पोखरीको सरसफाई गरी पूजनीय स्थलमा परिणत गरियो। त्यहाँ प्रत्येक दिन साँझ गंगा आरती हुने गर्छ।

यता जानकी मन्दिर नजिकै रहेको अरगज्जा सर पोखरीको सरसफाईसमेत स्थानीयवासीकै पहलमा गरिएको छ। यसका अतिरिक्त अन्य पोखरीहरुको सरसफाईका लागि समेत स्थानीयवासी अग्रसर हुँदै गइरहेका छन्। तर, उपमहानगरपालिका आफैँले गुठीको जग्गा अतिक्रमण गरी वडा कार्यालय बनाएको छ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ६ स्थित गुठी संस्थानको अधिनमा रहेको चरण पादुका सरको डिलमा उपमहानगरपालिकाले पोखरीको जग्गा अतिक्रमण गरी वडा कार्यालयको भवन निर्माण गरेका छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell