PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

ब्याक स्टेजको एउटा कथा : 'घुम्ने मेचमाथि हुन्छ अन्धै मान्छे'



स्वेच्छा राउत

ब्याक स्टेजको एउटा कथा : 'घुम्ने मेचमाथि हुन्छ अन्धै मान्छे'

वक्ताहरुको भौतिक उपस्थिति र दर्शकको अभौतिक सहभागिताका बिच धेरैखाले विषयले ठाउँ पायो सराङकोटमा भएको नेपाल लिटरेचर फेस्टिभलमा। सबै विषय महत्वपूर्ण भए पनि केही विषयहरु मेरा लागि थप रोचक बनिरहेका थिए। औपचारिक सेसनमात्र होइन, त्यसभन्दा बाहिरका घटनाक्रमले मलाई खिचिरहेको थियो। त्यही क्रममा मलाई सौगात वाग्लेको सक्रियताले खिचिरहेको थियो।

'युवाको नजरमा नेपाल' शीर्षकको छलफलका वक्ता थिए सौगात। उनले राखेका विचारहरू समाचारको शीर्षकमात्र बनेन सामाजिक सञ्जालमा उनको तारिफ गर्नेहरू उत्तिकै देखिए। जति उनको अन स्क्रिन सफलता थियो, उनको अफ स्क्रिन सक्रियता उत्तिकै तारिफ योग्य।

फेस्टिभल सुरु हुनु एकदिन अघि। रातो ज्याकेट, कालो चश्मा र छेउमा बिसाएको कालै झोला नजिकै सौगात एक्लै देखिए। जताबाट मानिसको बोली आउँथ्यो, उनी त्यतै मोडिन्थे।

उनी एक्लै देखेपछि म त्यतै पुगेँ र परिचय दिएँ।

'तपाईंको पनि सेसन छ है?,' अप्रत्यासित रुपमा उनी बोले, 'अघिल्लो वर्षको पनि सुनेको थिएँ मैले।'

त्यसपछि शुभकामना दिन पनि भ्याइहाले।

सौगात पनि वक्ताको सूचीमा थिए। मलाई थाहा थियो, उनी आँखा देख्दैनन्। केही बेर कुराकानीमै मैले थाहा पाइसकेको थिएँ - उनी आफ्ना कुरा सरल रुपमा अभिव्यक्त गर्न माहिर छन्।

कुराकानीकै क्रममा उनी फरक क्षेत्र र पृष्ठभूमिका मानिसहरुसँग भेट्ने मुडमा रहेको चाल पाउन कठिन भएन। तर कोसँग कस्तो हिसाबले उनले डिल गर्लान्?

साहित्यकार अमर न्यौपानेसँगको भेट – दुईबिच परिचय भयो। त्यसपछि सौगातले 'पानीको घाम'को तारिफ गरे। ‘करोडौं कस्तुरी’को पनि। ‘सेतो धर्ती’ चाहिँ पढ्न नपाएको सुनाए।

न्यौपानेले सौगात नजिकै कान पुर्‍याएर उनको कुरा सुने। धन्यवाद व्यक्त गरे। न्यौपाने हिँडिसकेपछि सौगातले त्यहाँ रहेका हामीसँग भने, 'आजभोलि मानिससँग समय निकै कम छ। सधैं हतारमा हुन्छौं। त्यसैले आफ्नो कुरा राखिहाल्नु पर्छ। के थाहा पछि अवसर जुर्छ कि जुर्दैन।'

उनी बोलिसक्दा सँगै खाना खाइरहेका हामीले एक अर्कालाई हेर्‍यौं। मुस्कुरायौं। र, सहमतिको मुन्टो हल्लायौं।

फेस्टिभलको पहिलो दिनको अन्त्यतिर, सौगातले खोजेका दोस्रो मानिस भेटिए। पत्रकार वसन्त बस्नेत। सौगातले उनको लेखन र कार्यशैलीको तारिफ गरे। बस्नेतले पत्रकारितामा समेटेका समाजको फरक आयाम र पात्रको छनौटका कारण आफू प्रभावित भएको सुनाए। अन्तत: आफूजस्तै दृष्टिविहीनहरूको आवाज आम मानिससम्म पुर्‍याइदिने माध्यम बन्न आग्रह गरे।

उनको भेटको सूचीमा तेस्रो नाम थियो व्यवसायी चन्द्र ढकालको। मेरो मनमा प्रश्न उठेको थियो – के कुरा गर्न खोजेका होलान् व्यवसायीसँग?

ढकालसँगको त्यही भेट र संवादबाट मिल्यो एउटा फरक कथा। जसमा सौगात आफैँ प्रमुख पात्र हुन्।

+++

'तपाईँहरू कोर्पोरेट सोसल रेस्पोन्सिबिलिटीको कुरा गर्नुहुन्छ। त्यसैका लागि खर्च पनि गर्नुहुन्छ। तर, हामीप्रतिको जिम्मेवारीवोध खोइ त?'

यो फेस्टिभलको प्रायोजक रहेको ग्लोबल आइएमइका अध्यक्ष ढकालसँग सोझै प्रश्न गर्ने उनको हिम्मत तारिफयोग्य थियो। उनी के भन्न खोजिरहेका छन् त? चासो थप चुलियो।

सौगात बोल्न थाले। ढकालले धैर्यताका साथ उनको कुरा सुनिरहे। सँगै थिए 'आइएमई पे'का प्रमुख कार्यकारी अधिकृत विकास नाहाटा।

यो संवाद सेसनको छलफल थिएन त्यसैले म नजिकिएँ। छुटेका कतिपय सेसन त पछि युट्युवमा पनि हेर्न मिल्थ्यो। तर, यो संवाद रेकर्ड हुनेवाला थिएन।

'किन तपाईंहरूको एटीएम बुथ अपाङ्गता मैत्री छैनन्?,' प्रश्नसँगै सुझावसमेत दिन भ्याए उनले, 'कम्तिमा काठमाडौंका केही एटीएम बुथमा स्क्रिन रिडर वा टकिङ सफ्टवेयर राखिदिनुस्।'

व्यवसायिक क्षेत्रका नेता समेत रहेका ढकाललाई उनले सम्झाइरहेका थिए।

'त्यसो भयो भने आँखा नदेख्नेहरूले पनि एटीएम सेवा पाउँछन्। दृष्टिविहीन समुदायले तपाईंहरूको बैंकमा खाता खोल्छ,' यतिखेर भने सौगातले 'बिजनेस क्लु' समेत दिन भ्याइसकेका थिए।

२१ वर्षीय सौगात निर्धक्क आफ्नो कुरा राखिरहेका थिए।

'एटिएममा टकिङ सफ्टवेयर वा स्क्रिन रिडर आँखा देख्नेले पनि त प्रयोग गर्न सक्छन्। सबै सेवाग्राहीका लागि राखिदिनुस्,' उनले ढकालतिर फर्किएर भने।

उनको कुरालाई ध्यान दिएर सुनिरहेका चन्द्र ढकाल सहमतिमा टाउको हल्लाइरहेका थिए। अनि बोल्न पनि भ्याए - 'हामी केही गर्छौं।'

यो संवादमा चासो राखेर सुनिरहेका विकास नाहाटाले त झन् समय सीमा नै तोकिदिए - 'हामी २०२१ भित्रै केही गर्छौं।'

सौगातको कुरा सुनियो, केही हुने आशा पनि जाग्यो उनमा।

+++

अपाङ्गता मैत्री संरचनाको अभाव बैंक वा एटिएम बुथमा मात्र होइन, सबैतिर छ। व्यवस्थापन त परको कुरो। आँखा नदेख्ने भएकै कारण उनले जे अप्ठ्यारा भोगे, त्यो अरुले भोग्न नपरोस् भन्ने अभियान नै छेडिसकेका रहेछन् उनले।

पढाई र व्यस्त दैनिकीबिच जे जति समय निस्किन्छ उनी आफ्नो अभियानमा जुट्छन्।

'अझै पनि अप्ठ्यारो सहिरहने र चुनौती नस्वीकार्ने हो भने दृष्टिविहीनहरू गीत गाउन वा अगरबत्ती बेच्नकै लागि मात्र योग्य हुन् भन्ने बुझाइ स्थापित हुन्छ। म त्यो चाहन्न,' उनले भने। हामी बसिरहेको ठाउँबाट उठ्दै गर्दा उनले यसो भन्न पनि भ्याए -'सुरुवात गर्नु र सन्देश बन्नु आवश्यक छ।'

अपाङ्गलाई लिएर समाजमा स्थापित विभेदको खाडलमा उनी पटकपटक धकेलिएका रहेछन्। केही समय अघिसम्म त उनी पनि अरुहरु जस्तै मौन रहन्थे। सहनुको विकल्प देखेका रहेनछन्। त्यस्ता प्रवृत्तीसँग चुपचाप जुँध्दै जाँदा सौगातले बुझे – नबोल्नुको अर्थ विभेदलाई प्रोत्साहित गर्नु हो। अर्थात्, मौनं स्वीकृति: लक्षणम्।

+++

कक्षा १२ को परीक्षाको पहिलो दिन, अङ्ग्रेजी विषय। परीक्षामा दृष्टिविहीन विद्यार्थीलाई लेख्न सहयोगी राख्न दिइन्छ। सौगतले कक्षा ११ का साथीलाई प्रश्नको उत्तर भन्ने र ती सहयोगीले उनका शब्दहरु कपीमा उतार्न थाले।

एक घण्टा बितिसक्दा परीक्षा राम्रै भइरहेको थियो। करिव ४० अङ्कको प्रश्नको उत्तर लेखिसकेका थिए। एकाएक सौगात र उनका सहयोगी कक्षाबाट निकालिए। नियम विपरीत परीक्षा दिइरहेको आरोप लाग्यो उनीहरुमाथि।

आफूभन्दा एक तह तलको विद्यार्थी सहयोगी हुनुपर्नेमा एक कक्षामात्र तल हुनुलाई गलत ठहर्‍याइयो। जबकि सहयोगी राख्नुअघि उनले अनुमति लिएकै थिए।

'सहयोगी खोज्नु नै पहिलो चुनौती हो। बल्लबल्ल कोही तयार भयो। अनुमति पनि दिइयो। तर परीक्षा दिँदादिँदै निकालियो। सोच्नुस् त कुन मानसिक स्थितिबाट गुज्रनु पर्‍यो होला?,' उनले सुनाए, 'निक्कै अमानवीय व्यवहार भोग्नुपर्‍यो। मानसिक तनाव दिइयो।'

त्यही तनावकै बिच उनी पढ्ने कलेजबाट अर्का सहयोगी पठाइयो। परीक्षा पूरा गरे। अंग्रेजीको त्यो परीक्षामा ए प्लस पनि ल्याए। तर, त्यहाँ जे भयो त्यो घटनाको छाप भने गडेर रह्यो। अहिले हरेक तहको परीक्षाबारे सूचना सार्वजनिक हुँदा झलस्स हुने गर्छन् - 'मजस्तै दृष्टिविहीन साथीहरू के गर्लान्?'

लकडाउन सकिएलगत्तै कक्षा १२ को परीक्षा घोषणा भयो। उनलाई फेरि तनाव भयो। कारण – लकडाउनको समयमा कक्षाहरू अनलाइनमार्फत् सञ्चालन भए। ती कक्षा आँखा नदेख्नेहरूका लागि पूर्ण थिएन। उनीहरूका लागि त अडियो बुक समेत उपलब्ध भएन। कसरी देलान् परीक्षा? कोरोनाको त्रासको यस्तो अवस्थामा लेख्न सहयोगी कहाँबाट पाउनु?

यिनै जिज्ञासा सम्बोधन गर्न सौगातले सुरु गरे ‘स्क्राइबर’ अभियान। अर्थात्, दृष्टिविहीन विद्यार्थीका लागि लेखन सहयोगी खोजिदिने। 'सर्वोदय' नाम दिइएको अभियानमा जोडिइन् अर्की दृष्टिविहीन साथी रोजिना पोखरेल र आँखा देख्ने ५ जना। अभियानका नाममा नयाँ संस्था थप्ने पक्षमा थिएनन् उनीहरू। त्यसैले भइरहेकै संस्थाहरूलाई आफूहरूको योजना सुनाए। सहयोगको प्रस्ताव राखे।

कमन एक्सन फर सोसल ट्रान्सफरमेसन नामक संस्थाले सहजै स्वीकार्‍यो उनीहरूलाई सहयोग गर्न। लेखन सहयोगीका रुपमा आउनेलाई खाजा उपलब्ध गराउने भयो फुड मारियोले। सहयोगीलाई ल्याउने/पुर्‍याउने विषयमा सहमति जनाए टुटलका संस्थापक शिक्षित भट्टले। अभियान सुरु गर्दा उनीहरूसँग पैसा थिएन। त्यसैले मास्क, स्यानिटाइजरर फेससिल्डका लागि ब्राइट स्टार सोसाइटीको सहयोग लिए।

मुख्य विषय, सहयोगी कहाँ खोज्ने त?

उनीहरूले दुई वटा तरिका अपनाएका रहेछन्। पहिलो – चिनजानमा रहेकाहरूलाई सहयोगको आग्रह। दोस्रो – सामाजिक सञ्जालमार्फत् सहयोगका लागि आह्वान। सशक्त माध्यम बन्यो पुरुष प्रयोगकर्ताहरूको फेसबुक समूह मेन्स रुम रिलोडेड जहाँ करिब ४५ हजार सदस्य छन्। उनीहरूले समूहमार्फत् लेखन सहयोगी चाहिएको बारे जानकारी दिए। त्यहाँ थुप्रै स्वयमसेवी अघि सरे।

महामारीका बिच परीक्षा हुँदै थियो। संक्रमण नियन्त्रणका लागि आवश्‍यक सुरक्षा सामाग्री तयार थिए। सहयोगी पनि जम्मा भए। सहयोगी चाहिनेहरूका लागि भर्नका लागि गुगल फर्म सार्वजनिक गरे। देशभरबाट ३० देखि ४० जनाको आवेदन अपेक्षित थियो। तर, त्यसो भएन। कक्षा १२ को परीक्षामा ६ जनाले सेवा लिए। कक्षा ११ का ४ जना र स्नातक तहका १ जना परीक्षार्थीलाई लेखन सहयोगी उपलब्‍ध गरायो यो समूहले। यो संख्या उनीहरुको अपेक्षाभन्दा कम हो।

'नयाँ प्रयास भएकाले हुनसक्छ धेरैको आवेदन आएन। प्रायले नजिकका सहयोगीलाई नै विश्वास गर्छन्। वा दृष्टिविहीन साथीहरू इन्टरनेट र सामाजिक सञ्जालको पहुँचमा नहुनुले पनि यस अभियानबारे धेरैले थाहा पाएनन्,' उनले कारण खुलाए। सोचे अनुरुप नभएको कुरा सुनाउँदै गर्दा पनि उनी निराश भने भएका थिएनन्। किनकि प्रयास गर्नु उनको प्राथमिकताको विषय बनिसकेको थियो।

पाएको सेवामा अपनत्व महसुस होस् भन्ने उद्देश्यले पैसा हुनेसँग एक हजारदेखि पन्ध्र सय रुपैयाँसम्म लिए। खर्च र आमदानीको हिसाब किताब पारदर्शी राखे।

'दृष्टिविहीन साथीहरूलाई पेशागत् हिसाबमा अघि बढ्न प्रेरित गर्न चाहन्छौं। रुची र क्षमता अनुरुप फक्रने ठाउँ पाउन कति आवश्यक छ भन्ने बुझेका छौं। अवसरहरूको अभाव पनि बुझेका छौं। त्यसैले यस कार्यक्रम सुरु गर्‍यौं,' उनले यसरी प्रष्ट्याइरहँदा मलाई भने थप उत्सुकता पैदा गराइरहेको थियो।

+++

सौगात जन्मिएदेखि नै निकै अस्वभाविक रुन्थे। जन्मदै देखिएको निमोनिया त ठीक भयो तर उनको चिच्याहट कम भएन। रुनुको कारण, गाउँ नवलपरासी आसपासका अस्पतालहरूले पत्ता लगाउन सकेनन्। जन्मिएको तीन महिनापछि त्रिपुरेश्वर आँखा अस्पतालले उनको आँखामा दृश्य धुमिल भएको पुष्टि गरिदियो।

'सायद अन्धकारदेखि डराउँथेँ होला। त्यसैले रुने रहेछु,' उनले अनुमानमात्र गरे, 'बिस्तारै अध्यारोको बानी पर्दै गयो। म धुमिल दृश्यहरूमै अभ्यस्त हुँदै गएँ।' उनको यहाँसम्मको यात्रा अब मेरालागि फिल्मी बन्दै थियो।

उनको अवस्थालाई लिएर समाजले कठै भन्यो। तर, आमा सरस्वती अर्याल र बुबा युवराज वाग्लेले आफ्नो छोरालाई कहिल्यै कमजोर आँकेनन्। सामान्य बालबालिका सरह स्कूल भर्ना गराइ दिए। साइकल सिक्न प्रेरित गरे। कलमले कोरेका अक्षर सहजै नदेख्ने छोरालाई साइनपेनले लेख्ने मोटामोटा अक्षरहरूसँग परिचित गराए। सौगातले कालोपाटीमा चकले लेखेको समेत सम्झिए।

तर, बिस्तारै उनले उज्यालोको भेउ पाउन छाड्दै गए। आफ्ना बाटोहरूको बानी थियो त्यसैले अन्दाजमै भए पनि साइकल हाँक्न, खेलकुद गर्न छाडेनन्। आँखा नदेखेकै कारण शिशु कक्षामै ४ वर्ष बिताए तर 'पढ्दिन' भनेनन्। पढ्नका लागि सबैभन्दा धेरै प्रेरित गर्थे हजुरबुबाले।

कहिलेकाहीँ रेडियो सँगसँगै गीत गाउँदा गाली गर्दै भन्थे – गीत गाउने होइन केटा, पढ।

उनी ७ वर्षको हुँदा हो, भैरहवाको रणअम्विका आँखा अस्पतालले उनलाई उपचारका लागि पोखरा रेफर गरेको। उनकी आमाले पोखरा लिएर गइन्। पोखरामा आँखाको जाँचसँगै भेटिन् पढ्ने/पढाउने वातावरण। त्यहाँको अमरसिंह नमूना उच्च माध्यमिक विद्यालयमा अपाङ्गता भएका थुप्रै बालबालिका पढ्दा रहेछन्। त्यही सौगातलाई भर्ना गरिदिइन्।

अमरसिंहमा १ वर्ष ब्रेल सिके सौगातले। त्यसपछि सीधै कक्षा ३ मा भर्ना भए। उनको स्वभाव निकै चकचके भए पनि पढाईलाई सधैं अगाडि राखे। आँखाले नदेख्नुलाई बहाना बनाएनन्।

नतिजा - कक्षा ६ देखि १० सम्म कहिले पहिलो भए कहिले दोस्रो भइरहे। एसइइमा त सामुदायिक विद्यालयतर्फ ३.८ जिपिएसहित कास्की जिल्लाभरमै दोस्रो भए। आफ्नो विद्यालयको चाहिँ पहिलो।

कक्षा ९ र १० मा अकाउन्ट लिएर पढेकाले उनले प्लस टूमा व्यवस्थापन रोजे। पढ्नका लागि काठमाडौं आए। नोबेल एकेडेमीले उनलाई पूर्ण छात्रवृत्ती दियो। त्यहाँ त पढाई नै उनको सबैकुरा बन्यो। किनकि स्कूलजस्तो अपाङ्गमैत्री थिएन कलेज। त्यहाँका साथीहरूले कहिल्यै आफूलाई नजिक राखेको महसुस गरेनन्।

'शिक्षकहरूको त पूर्ण साथ र सहयोग रह्‍यो। तर, सधैं कक्षाको अघिल्लो बेन्चमा एक्लै बस्नुपर्थ्यो। त्यसरी धुमधुम्ती बस्नुपर्दा आफू भिन्न छु भन्ने वोध हुन्थ्यो। कतिपटक आफैसँग सोध्थेँ – 'म मोटो छु र एउटा सिङ्गै बेन्च मेरा लागि खाली गर्न? वा, मैले आँखा नदेख्नु मेरो दोष हो?'

उनी भित्रको सिक्ने भोकले भने सधैं यस्ता विषयलाई नजरअन्दाज गर्‍यो। विद्यालय छँदा कम्प्युटर विज्ञान पढ्न निकै मन गरेका थिए। शिक्षकहरूले ‘सक्दैनस्’ भनेरै टारे। प्लस टूमा अर्थशास्त्र सँगै कम्प्युटर पनि लिएर पढे। ३.५४ जीपीए ल्याए। यतिन्जेल उनको लक्ष्य बनिसकेको थियो – राष्ट्र बैंकमा जागिर खाने।

अहिले उनी नेशनल कलेजमा पढ्छन् - डेभलपमेन्ट फाइनान्स। त्यहाँ उनलाई कलेजले ५० प्रतिशत छात्रवृत्ती दिएको छ। बाँकी ५० प्रतिशत गैर सरकारी संस्था क्यानोपी नेपालले। होस्टल खर्चका निम्ति शुरुमा अमेरिकामा रहँदै आएका उनका अग्रज जयराम लामिछानेले सहयोऊ गरेका थिए। हाल क्यानोपी नेपालसहित एक अस्ट्रियाली नागरिकको सहयोग छ।

दृष्टिविहीन भएकै कारण छात्रवृत्ती पाएको वा दिएको भन्ने पक्षमा भने रहेनछन् उनी।

‘यदि कसैले मैले आँखा नदेखेकै कारण छात्रवृत्ती वा अवसर दिन्छ भने त्यो मलाई स्वीकार्य छैन,' उनले कारण खुलाए, 'किनकि म योग्य छैन भने त्यो दयाकै निम्ति पाएर के काम?'

उनी चित्त नबुझेको कुरा चाहिँ केही चर्को आवाजमा बोल्दा रहेछन्, 'दयाको पात्र त बन्नु नै छैन।'

अपाङ्गता भएका सबैलाई एउटै बक्साभित्र राखेर हेर्ने प्रवृत्ति उनलाई मन पर्दैन। नदेखे पनि आफ्नो सुन्ने र बुझ्ने दायरा फराकिलो बनाउने हुटहुटी छ उनमा। त्यसैले कम्प्युटर कोर्सका लागि उनी बेपर्वाह हिसाबले केरला पुगेका रहेछन्। त्यतिमात्र होइन, टिकटबिना नै दिल्लीदेखि गोरखपुर यात्रा गरेका रहेछन्।

‘म हरेक दिन नयाँ केही सिक्न कोसिस गर्छु। सिकाउन सक्ने मानिसहरूको संगत गर्छु। अध्ययन गर्छु अनि घुम्छु। इच्छाशक्तिका अगाडि अन्य समस्या गौण लाग्छन्,' उनले सुनाए।

+++

कहिले काहिँ साथीहरू सौगातलाई सोध्छन् – तिमीले पनि सपना देख्छौ? आजभोलि उनलाई यस्ता प्रश्नले दुखाउन छाडेको रहेछ।

पीडा दिन त काठमाडौंको सडकदेखि आफू पढ्ने कलेजको भौतिक संरचना छन्। ती विल्कुल अपाङ्ग मैत्री छैनन्। फुटपाथमा राखिने साइनबोर्ड, मनलाग्दी पार्क गरिएका मोटरसाइकल र गाडी। अनि तर्साउन पर्याप्त छन् सडकमा छाडिएका चौपाया।

त्यसैले सपना देख्छस्? भन्नेहरूसँग प्रतिप्रश्न गर्छन् – तपाईं आँखा खुल्लै राखेर सपना देख्नुहुन्छ? अनि, म सधैं आँखा बन्द भएकोले सपना नदेखुँला त?

उनलाई थाहा छ, बुझाउन बाँकी यस्ता धेरै विषय छन्। बुझ्न चाहने चाहिँ निकै कम। उनलाई यो पनि थाहा छ हतारमा केही हुन्न। त्यसैले नम्र भएर प्रतिवाद गर्छन्।

सौगातले बुझ्ने र बुझाउने ठाउँ फराकिलो बनाएका रहेछन्, आँखा नदेख्नेहरू बिच सीमित नरहेर।

‘आँखा नदेख्ने समुदायसँग साट्नका लागि कुराहरू हुन्छन्। आँखा देख्ने समुदायबाट सिक्नका लागि फरक कुरा,’ उनले सुनाए।

मसँग गफिँदै गरेका उनी यतिखेर खाजा खाइरहेका थिए। हातमा बोकेको काँटा र चम्चा देखाउँदै भने, 'यो चलाउन देख्नेहरूले सिकाएका हुन्।'

आँखा देख्ने समुदायबाट दया भावभन्दा बढी सिकाइ अपेक्षा गर्छन् उनी। त्यसैले जुत्ताको तुना फुस्किएको देख्दा ‘लगाइदिउँ?’ भन्नेहरूभन्दा ‘फुस्किएछ’ भनिदिनेहरूसँग नजिकिन चाहन्छन्।

+++

ग्लोबल बैंकका अध्यक्ष ढकालसँगको माथिको संवादमा नजिक रहेर सुनेकाले बैंकसँगको प्रसंग मलाई रुचीको विषय थियो। त्यसैले उनलाई सोध्न छोड्ने कुरै थिएन।

बैंकिङ सपना देखेका सौगात। पढाईको विषय पनि उही। अनि हरेक पटक घरबाट पैसा पठाउँदा धाउनुपर्ने चाहिँ मनी ट्रान्सफर। अनलाइन/मोबाइल बैंकिङदेखि एटीएमको सहजता बुझेका उनी एटीएम कार्डको माग गर्दै बैंकसम्म धाए। तर, बैंकले सुरक्षा चुनौती देखाउँदै एटीएम कार्ड दिएन।

‘उहाँहरूको कुरा एक हिसाबले ठीक हो। किनकि भएका एटीएम बुथबाट सहजै पैसा झिक्न सक्दिँन। त्यहाँ ब्रेल लिपी छैन। बोल्ने मेसिन छैन। अनि मेरो प्रश्न पनि यहीँनेर हो,’ उनको आवाज केही चर्को सुनियो, 'सही नै गर्न नजान्ने मेरा आफन्तले चाहिँ एटीएम चलाउन पाउने। सुरक्षा चुनौतीको प्रश्न नउठ्ने। अनि म म्यानेजमेन्ट/फाइनेन्स पढेको मान्छेलाई चाहिँ आँखा नदेख्ने भएकै कारण नदिने?'

मैले देखेँ उनले एटीएम कार्ड त बोक्दा रहेछन्। आखिर कसरी?

उनी फेरि बैंक धाए। यसपटक आँखा देख्नेजस्तो गरेर। उनलाई एटीएम कार्ड पाउन कुनै कठिनाइ भएन। तर, उनी यस्ता दृश्य फेर्न चाहन्छन् - बैंकको सुविधा लिन यस्तो अभिनय कसैले गर्न नपरोस्।

हाल उनीसँग दुईवटा बैंकको एटीएम कार्ड छ। नियमित मोबाइल बैंकिङ गर्छन्। ‘यति नगरुन्जेल त बैंकमा खाता हुनु र नहुनुको के औचित्य?, ’ उपलब्धीको यो सानो किस्सा हाँस्दै सुनाए उनले।

+++

सन् २०१९ मा भएको सौन्दर्य प्रतियोगिता मिस्टर ब्लाइन्ड रकर्सको विजेता हुन् सौगात। ५० जना प्रतिस्पर्धीलाई पछि पारेपछि केही अन्तर्वार्ता दिने मौका जुर्‍यो। त्यसपछि बल्ल आफूले बोल्ने ठाउँ र सुन्ने मान्छे पाएजस्तो महसुस गरे उनले।

त्यसयता दृष्टिविहीन एवं अन्य अपाङ्गता भएकाहरूका लागि बोल्दै, लेख्दै आएका छन्।

उनी कान कम सुन्ने समुदायका लागि ‘क्याप्सनिङ’को पनि काम गर्छन्। कसैले बोलेको कुरालाई आशय नमर्ने गरी लेखिदिन्छन्। त्यो काम गर्दै जाँदा बुझेका हुन्, फरक अपाङ्गता भएकाहरूको फरक चुनौती र अप्ठ्यारा।

तर, समस्या समाधानको खोजीभन्दा फरक बुझेका छन् चलिरहेका अभियान र आन्दोलनहरू। जहाँ आँखा नदेख्नेहरू बिच नै मतभेद छ ‘अन्धो’ भन्ने कि ‘दृष्टिविहीन?’ उनी भने आफूले नदेख्ने सत्यलाई शब्दावलीमा अल्झाउन चाहँदैनन्।

‘किनकि घुम्ने मेचमाथि दृष्टिविहीन मान्छे हुँदैन अन्धो मान्छे नै हुन्छ। यस्ता कुरा बदल्न सकिन्न। तर, समाज र समाजको हामीप्रतिको बुझाइ त बदल्न सकिन्छ नि। त्यसका लागि लडौं न,‘ उनको बोलीमा आत्मविश्वास भरिएको सुनियो।

सौगात विभेदको खाडल पुर्न चाहन्छन् जुन निकै ठूलो र गहिरो छ। त्यहाँ भर्नुपर्नेछ सचेतना र सम्मान।

त्यसैका लागि अठोटका साथ काम गरिरहेका उनलाई कुनै दिन देख्न सकिएला कुनै बैंकको कुर्सी सम्हालिरहेको अवस्थामा? अथवा केही वर्षभित्र एटीएम बुथबाट सेतो छडी बोकेका कोही खुशीखुशी निस्किइरहेको दृष्य। सौगात वाग्ले र चन्द्र ढकालबिच भएको त्यो रोचक संवादको औचित्य त्यतिखेर पक्कै पुष्टि हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell