PahiloPost

Apr 17, 2024 | ५ बैशाख २०८१

कमल पोखरीको १ इन्च जमिन पनि मिचिएको छैन, त्यहाँ पहिला नै कंक्रिटका संरचना थिए : मेयर शाक्य



कमल पोखरीको १ इन्च जमिन पनि मिचिएको छैन, त्यहाँ पहिला नै कंक्रिटका संरचना थिए : मेयर शाक्य

काठमाडौँ : काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले कमल पोखरी पुनर्निर्माणका सन्दर्भमा छिट्टै पत्रकार सम्मेलन गरेर यथार्थ जानकारी दिने बताएका छन्।

आज काठमाडौँ महानगरपालिका नगरसभाको आठौँ अधिवेशनलाई सम्बोधन गर्दै उनले भने ‘हामीले तयार पारेको ड्रोइङ–डिजाइन, हामीले गर्न खोजेको कामलगायतका बारेमा त्यहाँको सबै बस्तुस्थितिबारे छिटै पत्रकार सम्मेलन गरेर जानकारी गराउँछौं। काम गर्ने सिलसिलामा ठेकेदार कम्पनीले गलत गरेको रहेछ भने पनि हामी त्यसको सत्यतथ्य जानकारी दिन तयार छौँ।’

उनले कमल पोखरीको ड्रोइङ डिजाइन सो क्षेत्रका तत्कालीन संघीय सांसद गगन थापा, प्रदेश सांसद, सो क्षेत्रका पुराना विज्ञ, जेष्ठ नागरिक, स्थानीय संघ–संस्था सबैसँग पटक–पटक छलफल गरेर सबैको सहमतिमै पुनर्निर्माणको काम अघि बढाएको पनि जानकारी दिए। 

‘वास्तुविदहरुसँग पनि हामीले पटक–पटक छलफल गरेर उनीहरुकै सुझाव अनुसार नै काम अघि बढाएका हौँ,’ उनले भने, ‘पुनर्निर्माणको काम अहिलेसम्म सकिसक्नु पर्ने हो। हामीले ठेकेदार कम्पनीलाई पनि पटक–पटक ताकेता दिएर समयमा काम सम्पन्न गर्न निर्देशन दिएका थियौँ। तर, अहिले विभिन्न खाले आरोप लगाएर अवरोध गर्ने काम भएको छ। यसमा हाम्रो पनि ध्यानाकर्षण भएको छ।’

पुरातत्व विभागले निर्माण कार्य रोक्नु भनेर आदेश दिए पनि महानगरपालिकाले पालना नगरेको भन्दै समाचार आइरहेको भन्दै त्यसप्रति पनि ध्यानाकर्षण भएको उनले बताए।

‘पुरातत्वले हामीलाई काम रोक्नु भनेर आदेश नदिएको जानकारी गराउन चाहन्छु। पुरातत्वले त्यहाँको बारेमा आएको समाचारका सन्दर्भमा सामान्य ध्यानाकर्षण चाँहि गराएको हो।,’ शाक्यले भने, ‘तर, त्यहि कुरा पनि एउटा सरकारी निकायले अर्को सरकारी निकायसँग समन्वय नै नगरी सञ्चारमाध्ययममा प्रचार गर्ने कुरा गलत छ। पुरातत्वले पत्र हामीलाई पठाएर हामीसँग समन्वय गर्ने हो। हामीलाई भन्दा पहिला सञ्चारमाध्ययमलाई जानकारी गराएर असहजता पैदा गर्ने कुरा गलत छ। त्यसैले हामी त्यो बारेमा पनि ध्यानाकर्षण गराउँदैछौँ।’

सांसद थापाले पनि मेयरलाई पत्र पठाएको भन्दै सञ्चारमाध्यममा अनावश्यक प्रचार गरेको आरोप लगाए। 

‘मैले उनले पठाएको पत्र अहिलेसम्म प्राप्त गरेको छैन। मलाई पठाएको भनेको पत्र बारेको समाचार पढेर र सुनेर मात्रै थाहा पाएँ,’ उनले भने, ‘ पुरातत्वले काम रोक्नु भन्दाभन्दै रातारात पोखरीमा डोजर चलाएको भनेर पनि समाचार आएका छन्। मैले ठेकेदारहरुसँग त्यो विषयमा जानकारी लिएको छु। उहाँहरुले प्रचार गरे जस्तो होइन रहेछ।’

अहिले विभिन्न सञ्चारमाध्यममा कमल पोखरी मिचियो, त्यहाँ कंक्रिटको प्रयोग गरेर सम्पदा मास्ने काम भयो भन्ने जस्ता समाचार आइरहेको भन्दै सञ्चारमाध्ययममा आए जस्तो कमल पोखरीको जमिन १ इन्च पनि नमिचिएको उनले दाबी गरे।

‘कमल पोखरी पुनर्निर्माणका क्रममा त्यस आसपासका भौतिक संरचना हटाउनेलगायतका कार्य गर्दा त्यहाँको क्षेत्रफल अझ बढेको छ,’ शाक्यले भने, ‘पुनर्निर्माणकै क्रममा करिब पाँच रोपनी क्षेत्रफलमा रहेको महानगरीय प्रहरी वृत्त कमल पोखरीलाई अन्यन्त्र सार्दा कमल पोखरी आसपासको क्षेत्र स्वतः बढेको छ। हामीले कमल पोखरी मासेर अन्य संरचना बनाउन खोजेका होइनौँ। कमल पोखरीमा पोखरी नै बनाउन खोजेका हौँ।’

उनले सम्पदा मासेर कंक्रिट प्रयोग भयो भनेर प्रचारप्रति पनि ध्यानाकर्षण भएको बताए। 

‘त्यहाँ त्यस्तो प्रचार गरे जस्तो छैन।  हामीले त्यहाँ चार कुनामा मौलिकता झल्किने गरी सम्पदाको पनि संरक्षण गर्दै कला र संस्कृतिलाई जोड्ने गरी चार वटा मण्डप बनाउन खोजेका छौँ। त्यहाँ पनि महानगरपालिकाले सम्पदा मास्यो भनेर प्रचार गरिएको छ,’ उनले भने ‘उनीहरुले भने जस्तो कंक्रिट नै कंक्रिट नभई मौलिकतालाई जोगाउँदै निर्माण गर्न लागेका हौँ। त्यहाँ पनि केही कमजोरी भएको रहेछ भने हामी छलफल गरेर समाधान गर्न तयार छौँ।’

 उनले सुरुमै सबै डिजाइन गगन थापालाई देखाएको स्मरण गरे। ‘त्यतिबेला पनि उनले आफू निर्वाचित भएको क्षेत्रमा रहेको पोखरीलाई व्यवस्थित बनाउन महानगरपालिकाले ल्याएको योजना सफल बनाउन लागि पर्ने प्रतिबद्धता व्यक्त गरेका थिए,’ उनले भने, ‘उनीहरुले त अझ त्यहाँ सभा गर्न मिल्ने गरी मञ्च नै बनाउनु पर्ने प्रस्ताव गरेका थिए। मैले नै त्यसो नगरौँ भनेपछि उनीहरु पछि हटेका हुन्।’

पहिला पनि त्यहाँ सांसद थापालगायतको पहलमा विभिन्न चरणमा ढुंगा छाप्ने, सिँडी बनाउनेलगायतका काम भएको भन्दै त्यहाँ महानगरपालिकाले  काम गर्नु भन्दा अघि नै कंक्रिट संरचना निर्माण भएको शाक्यले बताए।

‘लामो समयदेखि ढलपोखरीका रुपमा रहेको सो पोखरी पुनर्निर्माणसँगै त्यहाँका स्थानीय औधी खुशी भएका छन्,’ उनले भने, ‘स्थानीयको अहिले पनि अवरोध छैन। उनीहरु बहिरका मान्छे आएर चाहिने भन्दा बढी प्रचार गरी अवरोध गर्ने काम भएकोमा बरु असन्तुष्ट बनेका छन्। हामी अहिले पनि काम गर्ने सन्दर्भमा केही कमजोरी भएको रहेछ भने छलफल गरेर अघि बढ्न तयार छौँ। अहिले एकतर्फी रुपमा समाचार आउँदा त्यसले भ्रम पैदा भएको छ।’

महानगर उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले पनि आफु काम रोक्नुर्पछ भन्ने पक्षमा नरहेको भन्दै समाधानको उपाय खोजी अघि बढ्नु पर्नेमा जोड दिइन्।

‘पोखरी बनाउनुपर्छ भन्नेमा मेरो कुनै असहमति छैन,’ उनले भनिन्, ‘म प्राविधिक मान्छे होइन। त्यसैले त्यहाँका बारेमा विभिन्न खाले समाचार आएपछि र त्यहाँ आन्दोलन गर्ने साथीहरुले भेट्ने भनेपछि मैले भेट गरेको हो। उनीहरुले भेटेर विज्ञप्ति दिएका छन्।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell