काठमाडौ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल समूहका नेता घनश्याम भुसालले आफ्नै पार्टीका प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आन्दोलनमा उभिनु दुर्भाग्य भएको बताएका छन।
राजधानीमा आयोजना भइरहेको विरोध सभालाई सम्बोधन गर्दै भुसालले ओली गलत भएकैले सडक संघर्षमा उत्रनु परेको बताए। उनले ओलीलाई गल्ती सच्याउन समय भएको भन्दै भने, ' कमरेड तपाई गलत हुनुहुन्छ। समय हुँदै पछि हटनुस्। ब्युझिनुस् नत्र इतिहासको कठघरामा उभिनुहुनेछ।'
उनले ओलीलाई पार्टी अध्यक्ष निर्वाचित गर्नु नै दुर्घटना भएको बताए। नाकाबन्दीबाट ओलीले अवसर पाएको तर त्यसको सदुपयोग भने गर्न नसकेको उनको टिप्पणी थियो।
भुसालले ओली मह्त्वकांक्षी भएको भन्दै जनतासँग गरेको वाचा पूरा गर्न नसकेपछि संसद विघटन गरिएको बताए।
'संविधान पानीमा भिजाएर निर्वाचन हुँदैन। ओलीको जालझेल पूरा हुन हामी दिँदैनौं' भुसालले सम्बोधन गर्दै भने।
ओलीसँग अब दुईटामात्रै शक्ति रहेको भुसालले बताए। 'साइबर स्याल' र सेटिङ मात्रै ओलीको साथमा रहेको उनले बताए।
नेकपा अब भारदारहरुको पार्टी नहुने भनेदै भुसालले सदस्य र अध्यक्षको अधिकार बराबर भएको पार्टी निर्माण गर्ने समेत बताए।
'अब अर्को ओली नजन्मियोस् भन्ने हामी ग्यारेन्टी गर्नेछौं। ओलीलाई घुँडा टेकाएर मात्रै आन्दोलाबाट बिदा लिनेछौं' उनले भने।